तिलागुफाले पर्यटकीय विमानस्थल निर्माण गर्न पहल थाल्ने


मान्म (कालीकोट) । कालीकोटको तिलागुफा नगरपालिकाले पर्यटकीय विमानस्थल निर्माणका लागि पहल थाल्ने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा पर्यटकीय विमानस्थल निर्माणका लागि पहल गरिने भएको हो ।

नगरपालिकाभित्र पर्यटकीय क्षेत्र रुडुबन्चु पाटन, पुगमालिका लगायतका पर्यटकीय क्षेत्र भएकाले पर्यटकीय विमानस्थल निर्माण गर्ने जनाइएको हो । नगरपालिकाको मालिका काँध भटारी पर्यटकीय विमानस्थल निर्माणका लागि नगरपालिकाले पहल थालेको नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए ।

‘नीति तथा कार्यक्रममा हामीले सङ्घ र प्रदेश सरकारसँग अनुरोध गरिनेछ भनेका छौँ’, उनले भने, ‘पर्यटन प्रवद्र्धन गर्नका लागि पनि विमानस्थलको आवश्यकता रहेको छ ।’ रुडुवन्चु फुलबारी पाटनसम्म पर्यटकीय पदमार्ग निर्माण गरी नगरपालिकाको सिङ्गो आर्थिक समृद्धिसँग जोडिने र नगरपालिकाको फोइमा विमानस्थल बनाउने लक्ष्य राखिएको नगर प्रमुख उपाध्यायले बताए ।

‘पर्यटन गुरुयोजनाका लागि पनि पर्यटकीय विमानस्थल आवश्यकता रहेको छ’, उनले भने, ‘पुगमालिका, रुडुबन्चु पाटन तिला नदी र्‍याफ्टिङ गर्नका लागि पर्यटकीय विमानस्थलको आवश्यकता हो ।’ तिलागुफा–१ नाग्मगाडदेखि वडा नं ७ को बालीघाटसम्म र्‍याफ्टिङ प्रविधिमार्फत पर्यटन प्रवद्र्धन गर्न सम्भाव्यता अध्ययन गरिने र वडा नं ७ को बालीघाटमा बोटिङ सेवा सञ्जालनका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार निर्माणको कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने योजना बनाइएको नगर प्रमुख उपाध्यायले जानकारी दिए ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल खर्च रु ७० करोड १४ लाख १९ हजार २१० विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ४७ करोड ८७ लाख ६४ हजार अर्थात् ६८ दशमलव २६ प्रतिशत र पुँजीगततर्फ रु २२ करोड २६ लाख ५५ हजार ७१० अर्थात् ३१ दशमलव ७४ प्रतिशत रहेको छ ।