पदयात्राको लागि गतिलो गन्तव्य : देवचुली डाँडा

नवलपरासी । पूर्वी नवलपरासीमा रहेको सबैभन्दा अग्लो देवचुली डाँडा पदयात्राका लागि गतिलो गन्तव्य बनेको छ ।

पछिल्लो समय देवचुली डाँडामा आन्तरिक तथा बाह्य पर्यटक पदयात्राका लागि आउन थालेका छन् । देवचुली नगरपालिका–६ र बुलिङ्गटार गाउँपालिका–४ मा पर्ने सो क्षेत्रमा रहेका तीनकन्या माइको मन्दिर, गोलपोखरी शान्ति उद्यान र यहाँको मगर संस्कृतिले पदयात्रीलाई आकर्षित गर्न थालेको बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारी बताउँछन् ।

नवलपुरको थारू संस्कृति तथा मध्यवर्ती जङ्गलमा बाघ, हात्ती, गैँडालगायत वन्यजन्तु हेर्नसमेत पर्यटक आउन थालेका छन् । नवलपरासीमा पनि पदयात्राका लागि उपयुक्त ठाउँ छ भन्ने चिनाउन सफल भएको एकीकृत पर्यटन विकास मञ्चका हरिभक्त कँडेलले बताए ।

देवचुली पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका लागि समितिले एक हजार ९ सय ३६ मिटर अग्लो डाँडामा २३ फिट अग्लो भ्यूटावरको निर्माण भ्यूटावर निर्माण गरेको छ ।

देवचुली क्षेत्रको धार्मिक तथा ऐतिहासिक पुरातात्विक महत्वका बारेमा प्रचार–प्रसार गरी सिङ्गो पर्यटन क्षेत्रको विकास गर्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने देवचुली डाँडा पर्यटकीय क्षेत्र पूर्वाधार विकास समितिका अध्यक्ष पदमराज गिरीले बताए ।

पूर्वी नवलपरासीको एक मात्र पदयात्राका लागि उपयुक्त ठाउँ देवचुली डाँडालाई चिनाउन देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिकाले संयुक्त योजना बनाउनु आवश्यक छ । “सम्वद्र्धन र प्रवद्र्धनका लागि मिलेर काम गरिरहेका छौँ,” बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशीकिरण बास्ताकोटीले भने ।

देवचुलीबाट विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँ पदयात्राका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्या अत्यधिक छ । पर्याप्त प्रचार–प्रसार गर्न सके देवचुली डाँडा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ ।

    Comment Here!