डाक्टर बन्न छोडेर हिमाल खोज्दै हिँडे आङछिरिङ

मेरा बुबाले मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो, तर मनले मान्दै मानेन । डाक्टर पढ्न भारत पनि पुगेको थिएँ । हिमालको काखमा बसेको मान्छे परें । भारतको गर्मी सहनै सकिनँ, फर्केर आएँ । मलाई मेरै हिमालसँगको माया थियो, चिसो मौसम नै प्रिय थियो । पर्यटकको सेवा नै मेरो पुर्खाले सिकाएको कर्म थियो । मलाई डाक्टर बन्नु थिएन । शेर्पाको छोरो हिमाल नै चढ्छ, चढाउँछ । यो भनाइ हो, आङछिरिङ शेर्पाको ।

उहाँलाई पूर्वमा कञ्चनजंघादेखि पश्चिममा अपि सैपालसम्मको सबै हिमालको नाम कण्ठस्थ छ । कुन हिमालको के विशेषता छ, कुन हिमाल आरोहणका लागि सहज छ, कुन छैन, सबै मुखाग्र बताउन सक्ने अद्भूत क्षमता पनि छ उहाँसँग । उहाँ भन्ने गर्नुहुन्छ – ‘मलाई फोटो देखाउनुस् र सोध्नुस् म सहजै भनिदिन्छु फोटोको हिमाल कुन हो ? कति उचाइको हो ?’

ठमेलमा शेर्पाको पर्यटनसम्बन्धी काम गर्ने कार्यालय छ । असारको दोस्रो साता राससकर्मीसँग शेर्पा आफ्नो विगत कोट्याउँदै हुनुहुन्थ्यो । जीवनका सुखद र दुःखद पाटा सुनाउँदा शेर्पा कहिले उत्साहित हुनुहुन्थ्यो भने कहिले सम्झनाको तरेलीमा हराउनुहुन्थ्यो ।

खुम्जुङ गाउँ सगरमाथाको काखैमा छ । जन्मेदेखि देखेको विश्वको सर्वोच्च चुली । सयौं स्वदेशी तथा विदेशी नागरिकले आरोहण पनि गरे । उहाँकै संयोजनमा एक हजार भन्दा बढी त सगरमाथाको चुचुरोमै पुगिसके ।

समुद्री सतहदेखि करिब तीन हजार ७९० मिटर उचाइमा रहेको खुम्जुङ गाउँमा ‘ओम मणि पद्यमे हुँ’ को बुद्धवचन गुन्जिइरहन्छ । खुम्जुङबाट शेर्पाहरू एक दिनमा सजिलै हिँडेरै सगरमाथाको आधार शिविर पुग्छन् ।

सन् १९५३ मा तेञ्जिङ शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि हिमाल आरोहणको ढोका खुल्यो । त्यसयता हिमाली पर्यटन अर्थतन्त्रको दरिलो माध्यम पनि बन्यो ।

बुबा कुनछुम्बी शेर्पा र आमा कलि शेर्पाका तीन दिदीबहिनी र तीन दाजुभाइका जेठो छोरा आङछिरिङ । जेठो भएपछि व्यावहारिक जिम्मेवारी पनि बढी नै हुने भयो । तेञ्जिङ नोर्गे शेपा खुम्जुङ निवासी नै हुनुहुन्थ्यो । कुनछुम्बीको असाध्यै मिल्ने साथी । उहाँ हिलारीको पनि उस्तै मिल्ने साथी हुनुहुन्थ्यो । ‘उहाँहरूको प्रेरणाबाटै पर्यटन क्षेत्रमा लाग्ने मौका मिल्यो,’ सुदूर विगतको स्मरण गर्दै शेर्पाले भन्नुभयो ।

सन् १९६१ मा हिलारीले खोलेको सगरमाथाकै सर एडमण्ड हिलारी खुम्जुङ स्कूलमा सबैभन्दा पहिले भर्ना हुने र त्यहाँबाट पहिलो पटक कक्षा पाँच उत्तीर्ण हुने विद्यार्थी पनि आफू नै भएको शेर्पा बताउनुहुन्छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको जनजागृति माविबाट प्रवेशिका उत्तीर्ण गर्नुभएका उहाँले त्यसपछि आनन्दकुटी साइन्स कलेजबाट आइएस्सी गर्नुभयो ।

हिमाल चढ्ने काम साहसी भएपनि निकै जोखिमपूर्ण थियो । उहाँका बाबुआमा छोरो हिमाल चढोस् भन्ने फिटिक्कै चाहनुहुन्नथ्यो । ‘जेठा तँ त डाक्टर वा पाइलट बन्नुपर्छ’ भन्ने बुबाको इच्छा पूरा गर्न सन् १९७४ मा भारतको दरभंगा मेडिकल कलेजमा मेडिसिन पढ्न जानुभयो उहाँ ।

उच्च हिमाली क्षेत्रमा बस्ने मान्छे न्यून उचाइमा जाँदा समस्या भयो । निकै बिरामी पर्नुभयो । रोगी डाक्टर हुनुभन्दा स्वस्थ मान्छे बनेर बस्नु राम्रो हुन्छ भन्ने त्यहाँका प्रोफेसरको सुझाव मानेर उहाँ स्वदेश फर्कनुभयो । फर्केर आएपछि उहाँ भिनाजु दावा नोर्बु शेपाको साथले पर्यटन व्यवसायमा जोडिनुभयो । ‘नयाँ मान्छे भेटिने, मिठो खान र लाउन पाइने भएकाले मलाई त्यसैले पो तान्यो कि ?,’ शेर्पाले भन्नुभयो ।

२३ दिन हिँडेर काठमाडौँ यात्रा

सन् १९६३ मा २३ दिन हिँडेर पहिलो पटक काठमाडौँ आइपुगेको स्मरण उहाँ सुनाउनुहुन्छ । दैनिक ९ देखि १० घण्टा हिँड्नुपर्ने । अमेरिकन एभरेष्ट एक्सिपिडिशन टीमसँग आउनुभएको थियो । बुबा इक्विपमेन्ट इन्चार्ज र काका आङछिरिङ टीमको प्रमुख हुनुहुन्थ्यो । सो टोलीमा ९०९ जना शेर्पा भरिया थिए भने १९ जना आरोही ।

‘भरियाहरू ठोसे खोलामा पछारिए, भारी बगायो, बाबु र काका असाध्यै हतास देखिनुहुन्थ्यो, कारण के थियो, मलाई पनि थाहा थिएन, भोलिपल्ट भारी खोज्दै जाँदा चार किलोमिटर तल फेला पर्‍यो,’ उहाँ सुनाउनुहुन्छ – ‘हराएका पाँच भारीमध्ये दुई भारी पैसाको थियो । त्यतिखेर ठूला नोट थिएनन् । सिक्का थियो । एक पैसा, पाँच पैसा र एक रुपैयाँका नोट मात्र पाइन्थे । पैसा बोक्न नै भरिया लैजानु पर्ने वाध्यता थियो । पैसा फेला परेपछि बुबा र काका धेरै खुशी हुनुभयो ।’

यो स्मरण धेरै पछि मात्रै बुबाको मुखबाट उहाँले सुन्नुभयो । पढ्न लेख्न जान्ने भएकाले आङछिरिङको जिम्मा बुबालाई सघाउने थियो । ‘कुन भारी कहाँ के अवस्थामा छन् लेखाजोखा गरेर बुबालाई सघाउँथें,’ उहाँले भन्नुभयो – ‘त्यतिखेर शेर्पा भरियाले दैनिक रु ३ ज्याला पाउँथे । अहिले दैनिक करिब रु एक हजार ८०० देखि दुई हजारसम्म पाउँछन् ।’

जलवायु बढायो इम्जा तालको सतह

हेर्दाहेर्दै इम्जा तालको सतह बढ्यो । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा तापक्रम बढायो । हिमनदीहरू फैलँदै गयो, पग्लदै गयो । भावी सन्ततिलाई हिमाल र हिमनदी देखाउन नपाइएला भन्ने ठूलो चिन्ता छ शेर्पालाई ।

सन् १९६६ मा जापानी टोली ल्होत्से स्याड हिमाल चढ्न आएको थियो । उक्त टीमका एक डाक्टर खुम्जुङ आएपछि पथप्रदर्शकको जिम्मा पाउनुभयो उहाँले ।

उहाँले भन्नुभयो – ‘त्यतिखेर इम्जा ताल सानो पोखरीजस्तो थियो । त्यही हिमनदीमाथि नै हामीले क्याम्प बनाएका थियौं । तर सन् २०१४ मा जापानको कियो विश्वविद्यालयको एक समूहले पुनः इम्जा तालको अध्ययन गर्‍यो । सो अध्ययनले तालको लम्बाइ तीन किलोमिटर र चौडाइ १४२ मिटर गहिरो भएको निष्कर्ष निकाल्यो । यो जलवायु परिवर्तनले हिमालमा पारेको असरको प्रत्यक्ष प्रमाण हो ।’

सन् १९९६ मा नेपालका हिमनदीहरू तीन हजार आसपास थिए । इसिमोडकाअनुसार अहिले हिमनदीहरू बिलाएर दुई हजार ३१५ वटामा खुम्चिएका छन् । त्यसमध्ये १०० वटा हिमताल फुट्ने जोखिममा रहेको बताइन्छ । त्यसमा इम्जा हिमताल पनि पर्छ ।

त्यस्ता ताल फुटेमा २०७२ सालको भूकम्पले पुर्‍याएको क्षति भन्दा ठूलो क्षति नेपालमा हुने विज्ञहरू बताउँछन् । तालको दीर्घकालीन र अल्पकालीन रूपमा समयमै व्यवस्थापन गर्न जरुरी भएको ठान्नुहुने उहाँलाई नेपालका हिमाललाई कसले जोगाइदिन्छ होला भन्ने चिन्ताले सताइरहन्छ ।

पहिलो कमाइ

जिन्दगीको पहिलो कमाइको राम्रैसँग सम्झना छ उहाँलाई । ‘पहिलो पटक ‘ल्होत्से स्याड’को आधार शिविरसम्म गएर रु १२५ कमाएँ, त्यो मेरो पहिलो कमाइ थियो’ उहाँले भन्नुभयो – ‘मेरो ज्याला रु ७० मात्रै भएपनि पाहुनाले बक्सिस दिएका थिए ।’

पहिलो कमाइ कसलाई दिनुभयो त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो – ‘कसलाई दिनु नि ! आमालाई दिएँ ।’ आमाले रु १० पकेट खर्च भनेर दिनुभयो । त्यतिबेला जापानी लिभाइस पाइन्टको राम्रै फेसन चलेको र जापानीहरूले ल्याइदिने गरेको स्मरण पनि उहाँले सुनाउनुभयो ।

गाउँघरका सबै शेर्पा दाजुभाइ आरोहणमा निस्कन्थे । अंग्रेजी जानेको मान्छेको माग बढी हुन्थ्यो । उहाँलाई विदेशीसँगै गएर हिमाल अध्ययन गर्ने राम्रै मौका मिल्यो । त्यसले उहाँलाई विज्ञकै रूपमा स्थापित गरिदियो । प्रत्यक्ष रूपमै हिमालको अध्ययन गर्न पाएको मौकाले नेपालका पूर्वदेखि पश्चिमसम्मका सबै हिमाल तस्वीर हेरेरै चिन्न र र वर्णन गर्नसक्ने हुनुभयो उहाँ । उहाँ भन्नुहुन्छ – ‘धेरै त होइन नेपालका ९० प्रतिशत हिमालको जानकारी दिनसक्छु भन्ने लाग्छ मलाई ।’

५० प्रतिशत हिउँ पग्लियो

विश्व तापमान र जलवायु परिवर्तनको असर सबैभन्दा बढी उच्च हिमाली क्षेत्रमा देखिएको छ । ‘मेरै अनुभवले पनि के भन्छ भने धेरैजसो हिमालमा हिउँ पर्नै छाडे, परेपनि लामो समय अडिँदैन, कसलाई दोष दिने ? सरकार र सरोकारवाला सचेत हुनुपर्छ,’ शेर्पाको आग्रह छ ।

सन् २०१६ मा इसिमोडले गरेको एक अध्ययनअनुसार सन् २०३० सम्ममा विश्वव्यापी रूपमै २ डिग्री तापक्रम बढ्ने देखिएको छ । त्यसले हिमालको हिउँ पगाल्ने निश्चित प्रायः छ । छिमेकी देशको तीव्र औद्योगिकीकरणले गर्दा धुँवाको प्रत्यक्ष असर उच्च हिमाल भेगमा पर्ने गरेको छ ।

कुल ६ हजार ५०० मिटरमुनिका २७ वटा हिमाल नेपाल पर्वतारोहण संघले व्यवस्थापन गर्छ । उसले हिमाल आरोहणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने, पदमार्ग विस्तार गर्ने लगायतका काम गर्छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले संघले व्यवस्थापन गर्र्दै आएको हिमाल मन्त्रालय मातहत ल्याउने प्रयास गर्नुभयो । तर सर्वोच्च अदालतको फैसला संघकै पक्षमा आयो । त्यो घटना आफ्नो जीवनको सबैभन्दा अविस्मरणीय रहेको उहाँ बताउनुहुन्छ । आफ्नो निधारमा कलंकको टीका लाग्ने भयो भन्ने चिन्ताले राज्यलाई नै चुनौती दिन पुग्नुभयो उहाँ र अन्ततः अदालतको फैसला संघकै पक्षमा आयो । आरोहणका लागि अहिले ४०३ वटा हिमाल खुला छन् ।

भूगर्भविद् डा हर्क गुरुङका अनुसार तीन हजार ३१० वटा हिमाल पाँच हजार ५०० मिटर माथिका छन् । सन् २०१४ मा सरकारले पाँच हजार ८०० मिटरमुनिकालाई ‘पिक’मा गणना गरेको छैन ।

पछिल्लो पटक सरकारले गठन गरेको पिक प्रोफाइल उपसमितिले पाँच हजार ५०० मिटर अग्ला एक हजार ७९२ वटा हिमाल आरोहण गर्न लायक भएको प्रतिवेदन दिएको छ । त्यसमध्ये ४०३ वटा खुल्ला छन् ।

नेपालमै छन् आठ हजारमाथिका १४ हिमाल

हिमालका जानकार आङछिरिङको अर्को दावी छ – आठ हजार मिटरमाथिका १४ वटा हिमाल नेपालमै पर्छन् । तर विश्व पर्वतारोहण समुदायले यो दावीलाई स्वीकार गरिसकेको छैन ।

चौधवटा हिमालमध्ये कञ्चनजंघा यलुङखा वेस्ट बाहेक बाँकी सबै १३ वटा हिमालको आरोहण भइसकेको शेर्पा दावी गर्नुहुन्छ । उहाँकाअनुसार ती १४ चुचुरामा कञ्चनजंघा साउथ (८,४७६), कञ्चनजंघा सेन्टर (८,४७३), कञ्चनजंघा मुख्य (८,५८६) कञ्जनजंघा यलुङखा (८,५०५), यलुङखा वेस्ट (८,०७७), मकालु (८,४८५), ल्होत्से स्याड (८,३८८), ल्होत्से मिडल (८,४१०), ल्होत्से मुख्य (८,५१६), सगरमाथा (८,८४८), चोयु (८,१८८), मनास्लु (८,१६३), अन्नपूर्ण (८,०९१) र धौलागिरी (८,१६७) रहेका छन् ।

विश्व पर्वतारोहण महासंघको प्राविधिक समूहले थप अध्ययन गरी स्वीकृति दिएपछि मात्र यो तथ्यले विश्वव्यापी मान्यता पाउँछ ।

‘छिमेकी मुलुक चीनले विश्वका सबैभन्दा अग्ला आठ वटा हिमाल हामीसँग छन् भनेर प्रचार गर्छ, हामीले पनि १४ वटा छन् भनेर प्रचार गर्न सके विश्वभरका पर्यटकलाई थप आकर्षण गर्न सकिन्छ,’ शेर्पाले भन्नुभयो । उहाँका अनुसार सगरमाथाको टुप्पोमा बस्नलायक मनमोहक स्थान छ जुन नेपालको हो । यहाँ आरोही खुशीले उफ्रन्छन् र तस्वीर खिच्छन् ।

सन् १९८२ मा एसियन ट्रेक नामक कम्पनी स्थापना गरेयता अहिलेसम्म एक हजारभन्दा बढीलाई सगरमाथा आरोहण नै गराइसकेको तथ्याँक छ शेर्पासँग । यस वर्षको वसन्त ऋतुमा मात्रै ७६ जनाले सगरमाथा आरोहण गरे । सन् १९७५ मा शेर्पाकै संयोजनमा पहिलो पटक ब्रिटिस आरोहण दललाई पठाइएको थियो । सन् १९८३ मा आफ्नै कम्पनीबाट सगरमाथामा अन्तर्राष्ट्रिय संयुक्त आरोहण समूह पठाउन थालेको शेर्पा बताउनुहुन्छ ।

उहाँका अनुसार सगरमाथा आरोहणका लागि चीनतर्फको बाटो धेरै लामो पर्छ । नेपालबाट चाहिँ बाटो छोटो भएपनि हिमनदीको मार्ग निकै गाह्रो छ । चीनतर्फबाट कम्तीमा दुई महिना लाग्छ आधार शिविरदेखि चुचुरोसम्म पुग्न । नेपालतर्फ ठाडो बाटो हिँड्नुपर्छ भने चीनतर्फबाट घुम्तीको यात्रा गर्नुपर्छ । चीनतर्फ आधार शिविरसम्मै सडक सञ्जाल पुगेको छ ।

दुर्घटनामा परेर मृत्यु भयो भने शेर्पा समुदायको काजक्रिया महंगो हुन्छ । ‘अहिले एक आरोही तलमाथि भए बीमा बापत रु १५ लाख पाउँछ तर, काजक्रिया गर्दा ७ लाख बढी खर्चनु पर्छ,’ शेर्पा समुदायको मृत्यु संस्कारको यथार्थ सुनाउँदै उहाँले भन्नुभयो ।

आरोहण शारीरिक दृष्टिले अत्यन्तै कठिन पेशा भएकाले उमेर अनुसार शेर्पाको महत्व हुन्छ । धेरै विदेशी आरोहीले कम उमेरका पथप्रदर्शक खोज्छन् । आरोहीले ४०/४५ वर्षमै अवकाश लिनुपर्छ । आफूहरूले सरकारसामु शेर्पा समुदायको सामाजिक सुरक्षाको माग धेरै पहिलेदेखि राख्दैआएको तर हालसम्म पूरा नभएको उहाँ बताउनुहुन्छ ।

शेर्पा समुदायले दुःख गरेर आरोहीलाई हिमाल आरोहण गराउँछन् तर उनीहरूको नाम कहिल्यै बाहिर आउँदैन । यो प्रवृत्तिप्रति उहाँको गुनासो छ । सन् १०१४ मा सगरमाथा आधार शिविरमा हिमपहिरो गएर १३ जनाको मृत्यु भयो । यो दुखान्त घटना सम्झँदै उहाँले भन्नुभयो – ‘नौ दिनमा नौलो, बीस दिनमा बिस्र्यो भने जस्तै भयो ।’

उहाँ विश्व पर्वतारोहण महासंघको मानार्थ सदस्य हुनुहुन्छ । एसियन पर्वतारोहण महासंघको निवर्तमान अध्यक्ष, नेपाल पर्वतारोहण महासंघको निवर्तमान अध्यक्ष, जलवायु परिवर्तन हिमाली समुदायको अध्यक्षलगायत दर्जनौं संस्थासँग उहाँ आवद्ध हुनुहुन्छ ।

उहाँले हिमालयन चेन रिसोर्ट होटल सगरमाथा क्षेत्रमा निर्माण गरिरहनुभएको छ । त्यस मातहत १३ वटा होटल निर्माण हुनेछन् । फाक्दिन, खुम्जुङ, गोक्यो र लबुचेमा निर्माण भइसकेको छ । नौ वटा होटलका लागि विश्व बैंकको सहयोग प्राप्त भएको छ । ललितपुरको लाकुरी भञ्ज्याङमा तारे होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

एकसय भन्दा बढी देशको भ्रमण गर्नुभएका शेर्पाले बेल्जियम सरकारको विदेशी नागरिकलाई दिने ठूलो सम्मान पनि प्राप्त गर्नुभएको छ ।

पर्यटनमा परेको वातावरणीय प्रभावलाई सुधार गर्न केही गर्न पाए हुन्छ भन्ने सोच राख्नुहुन्छ उहाँ । नेपालको पर्वतारोहणलाई बाहिरी विश्वसामु चिनाउने व्यक्तिको नाम लिँदा उहाँ आङरिता शेर्पा (हिमचितुवा), स्व आक्पा शेर्पा र दावा नोर्गु शेपाको नाम स्मरण गर्नुहुन्छ र स्व डा हर्क गुरुङ र ब्रिटिस नागरिक माइक चेनीलाई उहाँ आफ्नो प्रेरणाका स्रोत मान्नुहुन्छ । रासस

    Comment Here!