ताप्लेजुङका ७४ जना आरोही सम्मानित

काठमाडौं– ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई शुक्रबार सम्मान गरिएको छ ।

ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सम्मान कार्यक्रममा सगरमाथा शिखर आरोहण गर्ने ३१ र कञ्चनजंघा आरोहण गर्ने ४३ जना गरी ७४ आरोहीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ताप्लेजुङको पर्यटन विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताउँदै त्यहाँको पर्यटन विकासका लागि पाथिभरा र सुकेटार विमानस्थलको विकास गर्नुपर्ने बताए ।

निकट भविश्यमा नै मन्त्रालयले छ वटा साना विमान ल्याउने तयारी गरेको जानकारी दिँदै मन्त्री अधिकारीले सोही अनुरुपको पूर्वाधार विकासका लागि मन्त्रालय अध्ययनरत् रहेको बताए ।

प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले प्राकृतिकरूपमा भरिपूर्ण ताप्लेजुङ विकासको दृष्टिकोणले निकैपछि परेको उल्लेख गर्दै ताप्लेजुङको विकासका लागि त्यहाँको पर्यटन क्षेत्रको विकास र विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले पर्यटन क्षेत्रको विकासका लागि समयसापेक्ष नीति बनाउनुपर्ने बताए । कार्यक्रममा हिमाल आरोहण गर्नका लागि तालीम सञ्चालन गरी सहयोग गर्ने ३२ संस्थालाई पनि सम्मान गरिएको थियो ।

    Comment Here!