करबाकेलीमा सामुदायिक होटल सञ्चालनमा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सामुदायिक होटल सञ्चालन गरिएको छ ।

करबाकेली बाबा संरक्षण समितिले भ्रमणमा आउने पर्यटक तथा भक्तजनका लागि सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको होटल सञ्चालक समितिका सचिव रवी गर्बुजा पुनले बताए । नौवटा कोठा रहेको उक्त होटलमा एक दिनमा २० पाहुना बास बस्न सक्ने क्षमता छ ।

होटल निर्माणका लागि करिब ४५ लाख लगानी भएको उनले जानकारी दिए । होटलमा आवास, विभिन्न खानाका परिकार, निःशुल्क इन्टरनेट र नुहाउनका लागि तातोपानीको समेत व्यवस्था छ । यसअघि करबाकेलीको दर्शन र अवलोकनका लागि आउने पर्यटक स्थानीयवासिन्दाका घरमा बास बस्ने गरेका थिए ।

होटल सञ्चालन भएपछि पर्यटक र भक्तजनको आगमन बढ्ने अपेक्षा गरिएको छ । होटलको आम्दानी करबाकेलीको संरक्षण र प्रवद्र्धनमा लगानी गर्ने योजना छ । पुन थरका मगर समुदायको कूलदेवता करबाकेली बाबाको अवसान भएको स्थान मानिने करबाकेलीमा स्थानीय बासिन्दाले करोडौं रकम लगानी गरेर पूर्वाधार तयार पारेका हुन् ।

स्थानीय प्रविधि र सीपको प्रयोगबाट निर्माण गरिएको मौलिक शैलीको करबाकेलीमा बहुमूल्य धातुका जलप लगाइएको करबाकेली, बिमला, फिमला, रामचन र कुलचनका मूर्ति राखिएका छन् । समुद्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट धौलागिरि, नीलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमशृङ्खलाका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ ।

करबाकेलीमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । त्यहाँ पुन समुदायको दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री संकलन गरेर सङ्ग्रहालय स्थापना गरिने भएको छ । यसअघि करबाकेलीमा पूजास्थल, पदमार्ग, सडक र पाँच सयजना अटाउने क्षमताको सभाहल निर्माण गरिएको थियो ।

विसं २०६५ मा करबाकेली अनुसन्धान समिति गठन गरी २०६७ सालदेखि शुरु भएको पूर्वाधार निर्माण कार्यले निरन्तरता पाइरहेको छ । सदरमुकाम बेनीदेखि राहुपारे–महभिर, बैसरी, पर्वतको बाँसखर्क, लेकफाँट र म्याग्दीको हिस्तान भएर करबाकेली पुग्न सकिन्छ । करबाकेली हुँदै मोहरेडाँडा, फूलबारी, घोडेपानी, पुनहिल लगायतका पर्यटकीयस्थललाई जोड्ने पदमार्ग सञ्चालनको तयारी भएको सचिव गर्बुजाले बताए ।

करबाकेलीमा हरेक वर्षको मंसिर र वैशाखमा पुन समुदायले पूजाआजा गर्छन् । करबाकेलीमा पूजाआजाका लागि म्याग्दीका साथै पोखरा, काठमाडौँ, चितवन, बुटवललगायत देशका विभिन्न ठाउँमा बसोबास गर्ने पुन समुदाय आउने गर्छन् ।

    Comment Here!