बगर बनेको सौराहा पुरानै लयमा

चितवन । राप्ती नदीको बाढीले बगर बनाएको सौराहाका पब तथा रेस्टुरेस्टहरू पुरानै स्वरूपमा फर्किएका छन् । साँझको समयमा सूर्यास्त हेर्दै रमाउन पर्यटक जमघट हुने सौराहाको राप्ती किनार गएको साउन २८ गतेको बाढीले बगर बनाएको थियो ।

तीन महिनाको अथक प्रयासपछि सौराहालाई पुरानै लयमा फर्काइएको बताउँदै रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (क्षेत्रीय रेवान) का अध्यक्ष गोकर्ण गिरीले भने–‘बगरमा परिणत भएको सुन्दर पर्यटकीय नगरी सौराहा अब पुरानै लयमा फर्किएको छ । अहिले नदी पब तथा रेष्टुरेष्टहरू सबै नयाँ जस्तै बनेका छन् । अब सौराहा आउने जो कोहीलाई सहजता महशुस हुन्छ ।’

पर्यटक बस्ने र रमाउने किनार सजिएको छ । राप्तीको ड्यामबाट हेर्दा आकर्षक बनेको छ भने तस्वीर र सेल्फीमा पर्यटक रमाउने गरेका छन् । बगर बनेका झण्डै एक दर्जन रेस्टुरेन्टमा करोडौँको लगानी गरिएको रेवान सौराहाले जनाएको छ ।

गत साउन २८ गते राति आएको बाढीले समग्र सौराहालाई नै प्रभावित बनाएको थियो । त्यसमध्ये कतिपय होटलले एक सातादेखि नै सेवा शुरु गरेका थिए तर राप्ती किनार भने बगर बनेकाले पुरानै स्वरूपमा ल्याउन समय लागेको हो ।

पर्यटकका लागि सबै सेवा शुरु भइसकेको जानकारी दिँदै सौराहाबीच रेस्टुरेन्टका सञ्चालक बलराम दाहालले भने–‘रेस्टुरेन्ट पुरानै स्वरूपमा ल्याउन झण्डै ५३ लाख रुपैयाँ खर्चनुपर्‍यो । अनि किनारका पर्यटकीय क्षेत्रको पुनः निर्माणका लागि झण्डै तीन करोड खर्च भयो ।’

सौराहामा बढी पर्यटकीय चहलपहल हुने राप्ती किनार हो । साँझको समयमा पर्यटकले राप्ती किनारको मज्जा लिने र रमाइलो गर्ने, सूर्यास्तको मज्जा लिँदै चिसो हावामा रमाउँने गर्दछन् । मीठा परिकारसहित जमघटमा रमाउनु सौराहाको विशेषता हो ।

नदीपारि चितवन निकुञ्ज भएकाले बेलाबेलामा जंगली जनावर पानी खान राप्ती आउँदा सहजै देख्न सकिन्छ । गैँडा, चित्तल, गोही दैनिक देखिन्छ । राप्ती किनार सौराहाको गहनाका रूपमा रहेको पर्यटन व्यवसायी जीतु तामाङले बताए । पर्यटक आउने भएकाले व्यवसायीले पनि किनारलाई सजिसजाउ र झकिझकाउ बनाएर आकर्षक पार्ने गरेका छन् ।

बाढीले सौराहा बिच रेस्टुरेन्ट, राप्ती बिच रेस्टुरेन्ट, सन्सेट भ्यू रेस्टुरेन्ट, राप्ती रेस्टुरेन्ट, सेन्ट्रल बिच, टपटेन रेस्टुरेन्ट, टिफिन हाउस रेस्टुरेण्ट र रिभर बिच रेस्टुरेण्टलाई बगरमा परिणत गरेको थियो ।

बाढीले होटलमा करिब १५ करोड रुपैयाँको क्षति भएको क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनाल जानकारी दिए । रेस्टुरेन्ट व्यवसायको मात्रै पाँच करोड ४१ लाखको क्षति भएको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गिरीले बताए । सौराहामा करिब ६० रेस्टुरेन्ट र एक सय १० होटल सञ्चालनमा छन् ।

दैनिक दुर्इ हजार आठ सय पर्यटक बस्न सक्ने क्षमता सौराहामा छ ।

    Comment Here!