पर्यटकलाई आकर्षण गर्न ओखलढुंगामा बन्दैछ सिद्धिचरण सङ्ग्रहालय

ओखलढुंगा । पर्यटन प्रबद्र्धन र कवि सिद्धिचरण श्रेष्ठको सम्मानका लागि ओखलढुंगामा सिद्धिचरण पार्क बन्ने भएको छ । कवि श्रेष्ठले लेखेको ‘मेरो प्यारो ओखलढुंगा’ कविताले समग्र जिल्लाको विशेषता उजागर गरेको छ ।

सिद्धिचरण संग्रहालय निर्माणाधीनस्थलमा रहेको युगकवि श्रेष्ठको शालिक

कवि श्रेष्ठले भनेजस्तै सुन्दर ओखलढुंगामा पर्यटन प्रबद्र्धन गरी आर्थिक समृद्धि हासिल गर्न सकिने लक्ष्यका साथ उनैको सम्झनामा संग्रहालय निर्माण थालिएको हो । पाँच वर्षे योजनासहित निर्माण सुरु भएको संग्रहालयको पहिलो तला निर्मा निर्माण भइसकेको छ ।

पञ्चवर्षीय योजनाअनुसार निर्माण कार्य शुरु भएको उक्त सङ्ग्रहालयको पहिलो तला निर्माण पूरा भइसकेको सङ्ग्रहालय निर्माण समितिका सचिव धु्रवकुमार राजभण्डारीले जानकारी दिए । उनले भने–‘सिद्धिचरणले ओखलढुंगालाई चिनाउन दिएको योगदानको उच्च मूल्यांकन गर्दै संग्रहालय बनाउन थालिएको हो ।

जहाँ उहाँले प्रयोग गरेका सामग्रीलाई सजाएर राखिनेछ । संग्रहित सामग्री सिद्धिचरणका बारेमा बुझ्न खोज्ने तथा ओखलढुंगा घुम्न आउने पर्यटकका लागि आकर्षण बन्नेछन् ।’ राजभण्डारीका अनुसार युगकवि श्रेष्ठ जन्मिएको ठाउँमा सालिक निर्माण गरिने छ ।

तीन करोड खर्च लाग्ने अनुमान गरिएको संग्रहालय निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा पर्यटन बोर्डले २० लाख रुपैयाँ प्रदान गरेको र नयाँ आर्थिक वर्षमा पनि २० लाख रुपैयाँ नै विनियोजन गरेको सचिव राजभण्डारीले बताए ।

उनले भने–‘सिद्धिचरण सङ्ग्रहालय र सिद्धिचरण पार्क निर्माणका पुरातत्व विभागको प्राविधिक टोली आएर अध्ययन गरी थप निर्माण छिट्टै नै ठेक्कामार्फत अघि बढाइने तयारी थालिएको छ । आर्थिक संकलनका लागि समिति लागि परेको छ । योजना अनुसार काम सम्पन्न गराउन हामी लाग्नेछौं ।’

स्रष्टा पार्क पनि बन्दै

युगकवि श्रेष्ठको सङ्ग्रहालय अगाडि ४ स्रष्टाको सम्मानमा ‘स्रष्टा पार्क’ निर्माण गरिएको गरिँदैछ । पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ । पार्कमा युगकवि श्रेष्ठ, रुम्जाटारमा जन्मिएकी नेपालकी पहिलो गायिका मेलवादेवी, चर्चित लोकगायक पाण्डव सुनुवार र नेपालको राष्ट्रिय गानका लेखक व्याकुल माइला (प्रदीपकुमार राई)को प्रतिमा राखिने छ ।

प्रतिमा तयारी अवस्थामा छ । पहिले चार स्रष्टाको प्रतिमा राखिने र पछि गायक रामेश श्रेष्ठको पनि प्रतिमा बनाइने पार्क निर्माण समितिका अध्यक्ष धु्रवकुमार राजभण्डारी जानकारी दिए ।

स्रष्टा पार्क निर्माणका लागि तत्कालीन क्षेत्र नं १ का सांसद तथा हाल प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारले दुई आर्थिक वर्ष गरी ५५ लाख रुपैयाँ संसद कोषको रकम प्रदान गरेका थिए ।

ओखलढुंगालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न अहिले स्थानीयबासी लागि परेका छन् । अहिलेको सिद्धिचरण नगरपालिका वडा नं. ५ को ढुंगालाई पहिचानका रुपमा विकास गरी ओखलढुंगालाई चिनाउने नगरपालिकाको योजना छ । महाभारतकालमा भीम मल्लले ओखलजस्तो गहिरो खोपिल्टो परेको ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुंगा रहन गएको भन्ने भनाइ छ ।

जाति, भाषा, धर्म, संस्कृति एवं मिश्रित समाजको विशेषता बोकेको ओखलढुंगा सांस्कृतिक रूपमा सम्पन्न छ । यहाँ क्षेत्री, ब्राह्मण, राई, सुनुवार, तामाङ, शेर्पा, नेवार, गुरुङ, विश्वकर्मा, परियार लगायतका जाति मिलेर बसेका छन् ।

प्रमुख धार्मिक क्षेत्रहरू चम्पादेवीको मन्दिर, कालिकादेवीको मन्दिर, तीनकन्या देवीको मन्दिर, सिंहदेवीको मन्दिर, नर्मदेश्वर महादेवको मन्दिर, महादेवको मन्दिर र कुन्तादेवीको मन्दिर, सरस्वतीस्थान छन् ।

त्यस्तै, ओखलढुंगा बजारमा रहेको रघुविरेश्वर महादेवमन्दिर, सरस्वतीस्थान, कालिकादेवी, जाल्पादेवी, भीमसेनस्थान, वटुकभैरव, गणेश मन्दिर थाक्ले र मानेभञ्ज्याङको सिमानामा रहेको किरातेश्वर झाँक्री गुफा आदि यस जिल्लाका प्रमुख धार्मिक क्षेत्र हुन् ।

ओखलढुंगाको प्रमुख पर्यटकीयस्थल पोकलीमा रहेको पोकली झरना, थामडाँडा र लगलगेडाँडा (दृश्यावलोकनका लागि), सिद्धिचरण नगरपालिकामा पर्ने ऐतिहासिक ओखल आकारको ढुंगा (ओखलढुंगा), युगकवि श्रेष्ठको जन्मस्थल (सिध्दिचरण पार्क), रुम्जाटार (राडीपाखी, भेडापालन, गुरुङ संस्कृति र विमानस्थलका लागि प्रसिद्ध) आदि यहाँका प्रमुख पर्यटकीयस्थल हुन् ।

त्यस्तै देम्बाडाँडा पनि पर्यटनको ठूलो सम्भावना बोकेको स्थल हो । पोकलीबाट देम्बा हुँदै सोलुखुम्बुको पिके डाँडा जाने पदमार्ग छ । पर्यटक उक्त मार्ग भएर सगरमाथासम्म जाने गरेका छन् । पूर्वको पशुपतिनाथ भनेर चिनिने प्रसिद्ध खोटाङको हलेसी महादेव दर्शन गर्न आउनेका लागि पनि ओखलढुंगा उत्कृष्ट विश्रामस्थल बन्न सक्छ । रासस

    Comment Here!