धरानमा पर्यटन प्रबद्र्धन समिति गठन

धरानः धरान उपमहानगरपालिकाले ‘धरान पर्यटन प्रबद्धन समिति गठन गरेको छ । समग्र पर्यटनको माध्यमबाट आर्थिक समृद्धि खोज्ने नगरप्रमुख तारा सुब्बाको संयोजकत्वमा समिति गठन भएको नवगठित समितिका सदस्यसचिव सुनिल नेपालले जानकारी दिए ।

समितिको काम, कतव्यका बारेमा नेपालले भने-‘उपमहानगरपालिकाको सहयोगमा धरानलाई कसरी पर्यटकीय सहरका रुपमा विकास गर्ने भन्ने एकमात्र उद्देश्यले यो समिति गठन भएको हो । त्यसको लागि आवश्यक पूर्वाधारसहित विकास सम्बन्धि गतिविधिहरुमा समन्वय गर्ने तथा नेतृत्व प्रदान गर्ने लगायतका कामहरु समितिले गर्नेछ ।’

धरान उपमहानगरपालिकामा पर्यटनको विकास र प्रबद्र्धन गर्ने कार्यलाई व्यवस्थित, प्रभावकारी र उपलब्धी मूलक बनाउन, धरान उपमहानगरपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम २५ बमोजिम नगरप्रमुखको संयोजकत्वमा धरान पर्यटन प्रबद्र्धन समिति गठन गरिएको उपमहानगर पालिकाले जनाएको छ ।

समितिमा मनोनित पर्यटन क्षेत्रका जानकार कृष्ण शाहले आफू पनि समितिको सदस्यमा मनोनित भएको जानकारी दिँदै भने–‘उपमहानगरले सदस्यमा मनोनयन गर्दै हामीबाट धरानबासी जनताको समृद्धिको चाहानालाई बुझेर धरानमा पर्यटनको विकास र प्रबद्र्धन गर्न सहयोग मागेको छ उपमहानगरको यो पहललाई स्वागत गर्दै धरानलाई व्यवस्थित पर्यटकीय नगरी बनाउन लागि पर्नेछौं ।’

धरान उपमहानगरले पर्यटन प्रबद्र्धनका लागि चालेको यो कदम स्वागत योग्य रहेको बताउँदै पर्यटन व्यवसायी रबीन गौतमले अब अन्य पर्यटकीय गन्तव्यका जिल्लाहरुले पनि सिक्नुपर्ने बताए । उनले भने -‘धरानका पर्यटन व्यवसायी पनि तुलनात्मक रुपमा सक्रियछन् । स्थानीय सरकारको रुपमा रहेको उपमहानगरपालिकाले पनि पर्यटनको एजेन्डालाई प्राथमिकताका साथ उठाएको छ । यो समितिले यसअघि नै धरानमा तय भएका नौ गन्तव्य थिए । तिनीहरुलाई व्यवस्थित बनाएर काम गर्नुपर्छ । त्यसरी समितिले काम गर्न थाले एक वर्षमै धरान घुम्न आउने मानिसको संख्या तीन गुणाले बढ्नेछ ।’

नगरप्रमुख सुब्बा संयोजक रहेको समितिमा प्राध्यापक किशोर थुलुङ सहसंयोजक मनोनित भएका छन् । त्यस्तै सदस्यहरुमा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना, धरान उपमहानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराई, वडा नम्बर १६ का वडा सदस्य लक्ष्मी लकान्द्री चयन भएका छन् । उपमहानगरले होटल एसोसिएसन धरान र ट्राभल एसोसिएसन धरानका प्रमुखलाई पदेन सदस्य बनाएको छ ।

त्यस्तै समितिका अन्य सदस्यहरुमा पर्यटन क्षेत्रका जानकार कृष्ण शाह, एलिना मगर, दीर्घकुमारी मगर, लेखमणी जिमि र कृष्ण व्लाेन छन् । समितिको सदस्यसचिवमा सुनिल नेपाल मनोनित भएकाछन् ।

    Comment Here!