सगरमाथाको फोहोर काठमाडौं ल्याएर व्यवस्थापन गरिँदै

कमल राना

काठमाडौं । सगरमाथा क्षेत्रमा संकलित फोहोरलाई हवाईजहाजमार्फत काठमाडौं ल्याइएको छ । सगरमाथा प्रदुषण नियन्त्रण कमिटी र तारा एयरसँगको सहकार्यमा काठमाडौं ल्याइएको संकलित फोहोरको व्यवस्थापन ब्लू वेष्ट टु भ्यालु प्रालिले गरेको छ । सगरमाथा क्षेत्रको फोहोर संकलनमा सगरमाथा प्रदुषण नियन्त्रण कमिटीले अग्रसरता लिँदै अाएको छ ।

हिमाल आरोहीले प्रयोगपछि फालेका सामानका कारण प्रदुषित बन्दै गएको सगरमाथा क्षेत्रलाई स्वच्छ, सफा बनाउने उद्देश्यले फोहोर संकलन गरी व्यवस्थापनका लागि पहल थालिएको हो । नकुहिने तथा पुर्नप्रयोग गर्न सकिने फोहोरका रुपमा रहेका टिनका बट्टा, सिसा, प्लाष्टिक, फलाम र कागजका सामान संकलन गरी व्यवस्थापनका लागि काठमाडौं ल्याइएको हो ।

सगरमाथा क्षेत्रमा संकलन गरिएका फोहोरलाई बेस क्याम्पदेखि लुक्ला विमानस्थलसम्म हेलिकोप्टरबाट ल्याइन्छ । त्यहाँबाट तारा एयरको विमानमार्फत काठमाडौं ल्याई फोहोर व्यवस्थापनको कार्य थालेको ब्लू वेष्ट भ्यालुका कम्पनी म्यानेजर आशिष खनालले जानकारी दिनुभयो ।

‘यसअघि सगरमाथा क्षेत्रमा संकलित फोहोर लुक्लाबाट गाडीमार्फत काठमाडौं ल्याएर महानगरपालिकाको डम्पिङ साइडमा फाल्ने गरिएको थियो । उहाँले भन्नुभयो, ‘अबदेखि भने त्यसरी काठमाडौं ल्याइएको सगरमाथा क्षेत्रको फोहोर ब्लू वेष्टमार्फत पुर्नप्रयोगका उद्योगहरुमा पठाएर व्यवस्थापन गरिने छ ।’

सगरमाथा क्षेत्रको फोहोर तारा एयरको जहाजमार्फत पहिलो पटक काठमाडौं ल्याइएको हो । आगामी दिनमा पनि संकलित फोहोरलाई तारा एयरकै जहाजमार्फत काठमाडौं ल्याइने खनालले जानकारी दिनुभयो । काठमाडौंबाट यात्रु बोकेर गएको तारा एयरको जहाजले फर्कने क्रममा यात्रु नभएको अवस्थामा फोहोर बोकेर आउने छ । वातावरणीय सुरक्षाका लागि थालिएको यो पहलका क्रममा तारा एयरले पहिलो पटक ५ टन फोहोर ल्याएको थियो ।

जहाजमार्फत पहिलो पटक काठमाडौं ल्याइएको फोहोरलाई छुट्याएर पुर्नप्रयोगका लागि विभिन्न उद्योगहरुमा पठाइएको ब्लु वेष्टले जनाएको छ ।

सगरमाथामा किन बढ्दै छ फोहोर ?

जलवायु परिवर्तनको असरबाट गुज्रिरहेको नेपालका हिमाली क्षेत्र पछिल्लो समय प्रदुषित पनि बन्दै गएको छ ।
हिमाल आरोहीहरुले प्रयोग गरेका सामान त्यतिकै छाडिदिँदा नेपालका हिमाल प्रदुषित बन्न थालेका हुन् । हिमाल आरोहणमा आरोहीहरुको संख्या वृद्धि भएपनि फोहोर व्यवस्थापनमा ध्यान नजाँदा हिमालका उच्च क्षेत्रसमेत प्रदुषित बन्दै गएका छन् ।

आरोहीहरुले हिमाल आरोहणका लागि लगेका सामान प्रयोगपछि फिर्ता नल्याइ त्यतिकै फालिदिँदा सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढ्दै गएको हो । यस विषयलाई लिएर सरोकारवालाहरु चिन्तित बन्न थालेका छन् । हिमाली क्षेत्रको फोहोर व्यवस्थापन जोखिमपूर्ण भएकाले सम्बन्धित निकायले समेत ध्यान दिन सकेको छैन ।

पर्यटकको आगमन र आरोहणका हिसाबले सबै भन्दा बढी आरोहण हुने हिमाल सर्वोच्च शिखर सगरमाथा हो ।
सगरमाथाप्रतिको अकर्षण सबै भन्दा बढी विदेशी पर्यटक तथा आरोहीमा देखिन्छ । तर तिनै आरोही तथा सम्बन्धित निकायले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा सगरमाथा क्षेत्र प्रदुषित बन्दै गएको छ ।

    Comment Here!