हिमाल आरोहणमा पर्दापछाडिका नाइकेहरु

हिमाल चढाउने आरोहीका गुनासा

छेटु शेर्पा
काठमाडौँः हिमाल आरोहण गर्नेको चर्चा विश्वभर हुने गर्छ तर आरोहीलाई आरोहण गराउने पथप्रर्दशकको चर्चा भने सुनिदैन । यसरी पर्दा पछिका साहसिक आरोहीहरुको चर्चा नसुन्दा दक्ष गाइडहरु ओझेलमा पर्ने गरेका छन ।

सञ्चार माध्यमले पनि आरोहीकै चर्चा गर्ने गर्छ तर आरोहण गराउनेको चर्चा हुदैन । आरोहीले नै सम्मान र मानपदवी पाउने गर्दछन् ।

तर यी साहसिक पथप्रर्दशक विना कुनै पनि हिमाल अरोहणको सम्भावना कल्पना पनि गर्न सकिदैन । बाटो बनाउने, डोरी टाँग्नेदेखि आरोहीलाई बोक्ने, ठेल्ने, तान्नेसम्मको काम सबै उनीहरुकै हो । हिड्न नसकेका आरोहीलाई बोकेर तल झार्ने, रेस्क्यू गर्ने जस्ता काम पनि पथ प्रर्दशककै हो ।

कीर्तिमानीलाई बोकेर चुचुरो पुर्‍याएको उदाहारण पनि प्रशस्तै छन् । यसले पनि पथप्रर्दशकको भूमिका कति हुन्छ भन्ने पुष्टि गर्दछ । १५ लाखको जीवन विमा र चार लाखको उपचार विमाकै भरमा गाइडहरु हिमालमा काम गर्दै आएका छन् ।

पथ प्रर्दशकलाई हिमाल चढाउने आरोही भनेर चिनिने गरिन्छ । आरोहणको मूल खम्बाका रुपमा रहेका पथप्रदर्शकलाई राज्य सम्बन्धित निकायले चिन्न सकेको छैन् । चिनेपनि काम अनुसारको सम्मान दिन सकेको छैन् ।

‘पर्वतारोहण क्षेत्रको खम्बानै हामी हौ तर राज्यले दिदै आएको आरोहण प्रमाणपत्र समेत बन्द गरेर झन् अपमान गरेको छ’–नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघका महासचिव अन्तराष्ट्रिय पथप्रर्दशक फूर्वा नाम्गेलले दुखेसो पोख्दै भने ।

राज्यले सम्मान र कदर गरेन धेरै साथीहरुले पेशा छाडेर विदेशिन थालेको पनि उनले बताए । अहिले अन्तराष्ट्रिय पथ प्रर्दशक ४५ जना र राष्ट्रिय पथ प्रर्दशक १७ जना छन् । नेपाल हिमाल भएका विश्वका २३ राष्ट्रको पर्वतारोहण पथ प्रर्दशकको सामुहिक संगठन ‘अन्र्तराष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघ’को सदस्य समेत बनेको छ ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघले विश्वभरका पर्वतारोहण सम्बन्धी नियम र कानुनलाई पालना गरेर आरोहण गराउने गरेका छन् ।

पर्वतारोहणलाई व्यवस्थित बनाउदै जानुपर्नेमा राज्यको भूमिका नै उदासिन रहेको बताउँछन् अन्तराष्ट्रिय पथप्रर्दशक छिरिङ पाण्डे भोटे । राज्यका तर्फबाट थप सेवा सुबिधाको व्यवस्था नगर्ने हो भने अवको १० बर्ष सम्ममा गाइडहरु भेटिन छाड्ने उनले बताए ।

हिमालै हिमालको देश भनेर चिनिने नेपालमा पर्वतारोहण क्षेत्रमा दक्ष पथप्रर्दशकको संख्या न्युन छ । सन् १९५३ देखि तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरे देखिनै पर्वतारोणको इतिहास शुरु भएको पाइन्छ ।

संसारका हिमाल आरोहण गराउने पथ प्रर्दशक

पछिल्लो समय प्रबिधिको विकाससँगै पथ प्रर्दशकले पनि समयअनुसार तालिम पाएका छन् । तालिम प्राप्त पथ प्रर्दशकको संख्या न्युन भए पनि परम्परागत रुपमा काम गर्दै आएका पथ प्रर्दशकको संख्या भने उल्लेख्य छ ।

सरकारले पनि एक आरोहीले कम्तीमा एक गाइड लिनु पर्ने प्रावधान तोकेको छ । तालिम प्राप्त र परम्परागत रुपमा काम गर्दै आएका पथ प्रर्दशकहरुमा भिन्तता हुने संघका कार्यवहाक अध्यक्ष सुनार बहादुर गुरुङ बताउँछन् । आरोही समान भएकाले जुन गाइडबाट आरोहण गरे पनि उदेश्य पुरा हुने तर सुरक्षाको हिसावले केही भिन्नता हुने उनले बताए ।

तालिम प्राप्त पथ प्रर्दशक संघमा आवद्ध गाइडहरुसँग प्रयोगात्मक ज्ञान, सुरक्षा बारे ज्ञान, सामाग्री प्रयोग र समयअनुसार उत्पादन भएको नयाँ नयाँ सामाग्रीको प्रयोगको ज्ञान, जीपीएस प्रयोग र हाइअल्टीच्युडको बारे अध्ययन गरेको हुनाले आरोहण थप सहज हुने संघको भनाई छ । एउटा हिमालको मात्र नभएर विश्वभरको हिमाल बारे अध्ययन हुने भएकाले सुरक्षित आरोहणको क्षमता बढी हुने गर्दछ ।

गाइडको बहादुरी काम

सन् २०१६ मा भारतीय आरोही चेतन साउ लाई सगरमाथाको आठ हजार सात सय मिटरको वालकोनीदेखि पायोनियर एडभेन्चरका प्रमुख गाइड लाक्पा शेर्पाले उद्धार गरेका थिए । गाइडले गरेका यस्ता उदाहारणहरु प्रसस्तै छन ।

तर यि साहसिक कामको सम्मान भने न राज्य पक्षबाट त न आरोहीबाटनै पाउन सकेका छन् । ६० वर्षका पाकिस्तानी आरोही अव्दुल जाभार भाट्टीलाई गत जेठ ७ गते सगरमाथा चुचुरो पुर्‍याएर फर्कने क्रममा आरोही गाइड दावा साङगे शेर्पाले झण्डै ज्यान गुमाउनु पर्‍यो ।

उनको दुवै हातका औला गुमेका छन् । सगरमाथाको आरोहण पछि बिरामी भएर फसेको यि आरोही र गाइड दावालाई वालकोनी शेर्पा खाङग्री आउटडोर कम्पनीका आरोही गाइड आङछिरिङ लामा, निमाग्याजेन र जाङबु शेर्पाले वालकोनी देखि सात हजार नौ सय मिटरको साउथकोलसम्म रेस्क्यू गरेर बचाएका थिए ।

आरोहण मात्र नभएर रेस्क्यूका लागि ज्यानै दिएर जस्तो सुकै पहल गर्न पनि उनीहरु पछि पर्दैनन । तर, ज्यानकै बाजी थापेर काम गर्ने तिनै गाइडको सम्मान र चर्चा नुहँदा उनीहरुले दुखेसो पोख्ने गरेका छन् ।

यसै बर्ष सगरमाथा आरोहणका लागि पर्वातरोही सञ्चालक संघले बाटो नबनाए पछि वेलायती सेनाको टोलीसँगै क्याम्प दुईदेखि माथि बाटो बनाउन पायोनियर एडभेन्चर प्रालिका गाइड लाक्पा शेर्पाले नेतृत्व गरेर आरोहण सफल बनाएका थिए । उनको योग्दानले यस बर्षको आरोहण सफल भएको एजेन्सीहरुनै बताउछन् । तर लाक्पाको नाम बेलायती सेनाको आरोहणदलले कहीँ पनि उल्लेख नगरेको भन्दै उनले दुखेसा पोखे ।

सुरक्षा र रेस्क्यूको जिम्मा पनि गाइडमै भर पर्ने भएकाले आरोहीको जीवन पनि पुर्णरुपमा गाइडमै भर पर्दछ । अन्तराष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक नरेन शाही आरोहण सफल गर्नु नै ठुलो कुरा नभएर सुरक्षाको बिषयमा बढी ध्यान दिनु पर्नै बताउँछन् । हिमाल त्यही हो त्यही रहन्छ अर्को पटक आरोहण गर्दा पनि केही बित्दैन ।

तर चुचुरो पुग्ने लक्ष्य राख्दा मौसमको ख्याल नगर्ने, सुरक्षाको ख्याल नगर्ने, सबै सुरक्षित महसुस नभए पनि चुचुरो पुग्ने लक्ष्य राख्दा दुर्घटना समेत बढ्ने गरेको शाहीले बताए ।

केही आरोही गाइडको भनाई नमानी घमण्ड गर्दा मृत्यु रोज्न पुग्ने गरेको गाइडहरुको अनुभव छ । आरोहीकै कारणले गाइडको पनि मृत्यु हुने गरेको छ ।

चुचुरो पुर्‍याए बापतको टिप्स पाउने आशाले पनि चुचुरो पुग्ने कोशिस गर्ने गर्छन, यसका लागि तालिम प्राप्त गाइडहरुले भूमिका महत्वपुर्ण र जिम्मेवार हुनेगर्छ ।

मौसम, स्वास्थ्य स्थिति र प्राबिधिक बिषयलाई बढी ख्याल गर्नुपर्ने भएकाले राष्ट्रिय र अन्तराष्ट्रिय गाइडको भूमिका जिम्मेवार बन्ने शाहीको भनाई छ । चुचुरो पुग्ने भन्दा पनि सुरक्षालाई महत्व दिए पर्वतारोही क्षेत्र थप परिस्कृत, सुरक्षित बन्दै जाने र नेपालमा पर्वातारोहण क्षेत्रबाट बिश्वव्यापी रुपमा सकारात्मक सन्देश जाने उनले बताए ।

नेपालमा हाल पर्वतारोही पथप्रर्दशक तालिम प्राप्त भन्दा पनि परम्परागत गाइड बढी भएको केही आरोहणका क्रममा दुर्घटना बढ्ने गरेको अन्तराष्ट्रिय गाइडहरु बताउछन् ।

सगरमाथा आरोही संघका महासचिव लाक्पा रंडु शेर्पाले गाइडहरुको सम्मानका लागि राज्यले बिषेश कार्यक्रम नै ल्याउनु पर्ने माग गरे । दुई बर्ष यतादेखि हाइअल्टीच्युड वर्कर, शेर्पा सहयोग जस्ता नाममा दिदै आएको आरोहणको प्रमाणपत्रसमेत बन्द गरेको भन्दै तत्काल व्यवस्था गर्न उनले माग गरे ।

यसरी आरोहणलाई सफल र व्यवस्थित बनाउनेको भूमिका पर्वतारोहण क्षेत्रमै महत्वपुर्ण भए पनि उचित सम्मान र सहयोग नभएको आरोप गाइडहरुको छ । पर्वतारोहण क्षेत्रलाई व्यवस्थित गर्न राज्यले पर्वतारोहण पथ प्रर्दशकलाई व्यवस्थित गर्नु जरुरी छ ।

    Comment Here!