ज्वाइ ल्याउने सन्ताल समुदाय

झापा: छोरालाई बुहारी भित्राउने प्रचलन हामी सबैको हो , तर पुर्वी तराईमा बसोवास गर्ने सन्ताल समुदायमा भने छोरीले ज्वाइ भित्राउने चलन छ ।

पाँच बर्ष अघि झापा गाउँपालिका-एककी २० वर्षकी सुमी हेम्रुमसँग मागी विवाह गरेका खयरवारी झापाका २५ वर्षका लाल वेस्रा ससुरालीमै घरजम गरेर बसेका छन् । हेम्रुमसँग बैवाहिक सम्बन्ध गाँसे पछि बेस्राले आफ्नो घर त्यागेका हुन् ।

झापा गाउँपालिका– एककी सुमी हेम्रुम र उनका घरज्वाइ श्रीमान लाल बेस्रा

बेस्रा दम्पती सन्ताल समुदायको नौलो पात्र होइन, सन्ताल जातिको घरज्वाइ राख्ने परम्परा नै परापुर्वदेखि कायम छ । हामी छोरी अर्काको घरमा पठाउँदैनौ ज्वाइ ल्याएर घरजम गर्ने गछौ, झापा सरणामतीका ३० वर्षका मुन्सी बासकीले भने । अन्य जातिले छोरी अन्माएर कुटुम्वालाई दिइन्छ तर यो समुदायमा फरक प्रचलन रहेको झापाका कांग्रेश नेता टंक विश्वकर्माले बताए ।

पुर्वी नेपालको तराई भुभागमा बस्ने करिव पाँच हजार सन्ताल परिवारमै छोरीले ज्वाइ ल्याउने प्रचलन कायम रहेको उनको भनाई छ । झापा सुरुङगा आसपासका वनक्षेत्रमा बसोवास गर्ने सन्ताल समुदायका करिव ४० परिवारमा अधिकांशमा घरज्वाइ राखिएको छ । लाल बेस्राका आमा रानी वासकीले २६ बर्ष अघि बुवा हणमा वासकीलाई विवाह गरी घरज्वाइ राखेको बेस्राले बताए ।

सरणामती– ६ झापामा बस्दै आएका बुवा हाल आमाले घरज्वाइ बनाए पछि झापाको भाकोडुव्वामा बस्दै आएका छन् । सन्ताल समुदायको अन्य जातिको भन्दा छुट्टै विवाह संस्कार रहेको स्थानीय बताउछन् । छोराले बुहारी माग्ने भन्दा पनि ज्वाइलाई मनाउनु मुस्कील हुने गर्छ ।

यता लाल बेस्रालाई घर ज्वाइ बनाएकी २० वषकी सुमी हेम्रुम जस्तै उनकी आमा मञ्जलीले पनि बुवा देवन मिश्रलाई घर ज्वाइनै बनाएको सुमीले बताइन । रानी सामुदायिक वन क्षेत्रमा सन्ताल परिवारले टहरा बनाएर बस्दै आएका छन् । वन क्षेत्रमा पाँच बर्ष अघि ५/७ परिवार मात्र थिए तर ज्वाइ भित्राउने गर्नाले ४० बढी परिवार भएकाले सामुदायिक वन अतिक्रमण बढेको समुहका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

छोरीको संख्या बढ्दा वन क्षेत्रमा टहरा बडेकाले नजिकै नयाँबस्ती निर्माण गरी व्यवस्थापन गरेको कार्कीले बताए । आफ्नो थाकथलो यकिन नभएका सन्ताल जातिको आफ्नै नाममा जग्गा जमिन छैन । उनीहरु ऐलेनी खुल्ला जग्गामा टहरा बनाइ सुकुम्वासीको रुपमा बसोवास गर्दै आएका छन् ।

मनिषा वासकी आफ्नो जमिन नभए झापा सुरुङगा क्षेत्रमा बसोवास गर्दे आएको बताइन । उनले सरणामतीका ३० वर्षका मुन्सी बासकीलाई विवाह गरी भित्राए पछि छुट्टै परिवारका रुपमा टहरा बनाएर बस्न थालेको बताइन ।

छोरी हुर्किए पछि ज्वाइलाई घरमै ल्याउने प्रचलन नहट्दा टहराको संख्या पनि बढ्दै गएको स्वीकार गरेका छन् । केही परिवार सिमा भारत क्षेत्रबाट काम शिलशिलामा आए पनि हाल नेपाली भूमिका सन्तालको संख्या थप वढ्दै गएको सेक्टर वन सुरुङगा झापाका सहायक वन अधिकृत ओमनाथ भटराईले बताए ।

झापा गाउँपालिका अन्र्तगत रहेका सन्ताललाई नयाँबस्ती निर्माण गरी व्यवस्थापन गरे पनि अन्य क्षेत्रमा भने व्यवस्थापन नहुदाँ वन क्षेत्रको अतिक्रमण बढेको उनले बताए ।

    Comment Here!