पुस १३ देखि पोखरामा सडक महोत्सव हुँदै

पोखरा । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नाराका साथ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले आगामी पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव गर्ने भएको छ ।

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा महोत्सव आयोजना गरिनेछ । अँग्रेजी नयाँ वर्षलाई धुमधामसँग मनाउने उद्देश्यका साथ आयोजना गरिने सो महोत्सवमा विभिन्न खानाका परिकार र विविध सांस्कृतिक कार्यक्रम गरिने संस्थाका अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए ।

फाइल तस्विर

पाँच दिनसम्म सञ्चालन हुने सो महोत्सवमा होटल तथा रेस्टुरेन्टले महोत्सव अवधिभर खाना सडकमै बनाउने र सडकबाटै पर्यटकलाई सेवा दिने बताइएको छ ।

महोत्सवमा श्रीलंका, कोरिया र जापानी टोलीले आ-आफ्नो देशको सांस्कृतिक प्रदर्शनी गर्ने छन् । महोत्सवमा राष्ट्रिय लोक दोहोरी, बाल उद्यान, खाना महोत्सव, पञ्चेबाजा, नेवारी, लाखे, गुरुङ, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो, कर्मचारी तथा वेटर दौडलगायतका कार्यक्रम गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

    Comment Here!