पूर्वी नेपालको पर्यटन प्रबर्द्धनमा सुन्दरी

कार्तिक । धरानमा जन्मेहुर्केका रुबी हुक्पाचोङ लिम्बू र सिमरन श्रेष्ठ दुई अलग सांस्कृतिक आधारमा बाँचेका नयाँ पुस्ताका प्रतिनिधि हुन् । तर मिस पूर्वाञ्चल सौन्दर्य प्रतियोगितामा सहभागी भएर रुबीले मिस ट्यालेन्ट, मिस इन्टेलेक्चुअल र मिस हेल्दी टाइटलसहित मिस पूर्वाञ्चल र सिमरनले मिस फोटोजेनिक र मिस पर्सनालिटी टाइटलसहित फर्स्ट रनरअप भएपछि अचेल एकसाथ पूर्वको पर्यटन प्रवर्द्धनमा व्यस्त भएका छन् ।

धरानको एउटा कफी क्याफेमा सँगै भेटिएका रुबी र सिमरनले पूर्वको पर्यटनलाई प्रवद्र्धन गर्न सके धेरै पर्यटक तान्न सकिन्ने र आन्तरिक आयमा वृद्धि भई स्थानीय समुदायको आर्थिक स्तर उकासिने गहकिलो तर्क राखे । उनीहरू दसैंतिहार सकिएलगत्तै आफ्नो योजनाअनुसार सामाजिक सञ्जाल, विभिन्न कार्यक्रममार्फत ध्यानाकर्षण गर्ने तयारीमा छन् ।

पूर्वको पर्यटन प्रवद्र्धनमा लागेका मिस पूर्वाञ्चल रुबी हुक्पाचोङ लिम्बू (दायाँ) र फस्र्ट रनरअप सिमरन श्रेष्ठ ।

धरान-११ भवानी चोकमा आमाबाबुसँग बस्दै आएकी रुबी पर्वको ऐतिहासिक, धार्मिक, शैक्षिक, सांस्कृतिक पर्यटीय महत्त्वका क्षेत्रको पहिचान गर्दै स्थानीय सरकारको ध्यानाकर्षण गर्ने तयारीमा रहेको बताइन् । उनले भनिन्, ‘पूर्वमा पर्यटक लोभ्याउने पर्यटकीय स्थलहरू धेरै छन् । हामी भाग्यमानी हौं, प्रकृतिले सुन्दर रमणीय स्थलहरू दिएको छ । तर चासो र चिन्ताको कमीले हामी पछि परेका छौं ।’

मिस पूर्वाञ्चल भएपछि पर्यटकीय स्थल भेडेटारको ‘ब्रान्ड एम्बासडर’ समेत बनेकी रुबीले भेडेटारको पर्यटनलाई आधार बनाउँदै पूर्वकै पर्यटकीय स्थलको प्रवद्र्धन गर्न साथी सिमरनसँग मिलेर जमेर लागेको बताइन् । माइक्रो बायोलजीमा स्नातक तेस्रो वर्ष अध्ययनरत २० वर्षीया रुबीले सूक्ष्म जीवशास्त्रको अनुसन्धान गर्ने प्राध्यापक भएर आफ्नो पहिचान बनाउने उद्देश्य बनाएकी छन् । यद्यपि, पछिल्लो समयमा फेसन, मोडलिङ र सौन्दर्य प्रतियोगताले सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाइदिएकाले पर्यटनले ध्यानाकर्षण गरेको उनले बताइन् ।

धरान-९ गौतमपथमा बस्दै आएकी १७ वर्षीया सिमरन ट्राभलिङमा रुचि भएकाले पूर्वका पर्यटन प्रवर्द्धनमा लागेको बताइन् । म्यानेजमेन्टमा प्लस टु अध्ययनरत उनले भनिन्, ‘मिस पूर्वाञ्चलमा सहभागी भएपछि पूर्वका पर्यटन क्षेत्रबारे धेरै जानकारी भयो ।’ भविष्यमा आफ्नो पढाइ पूरा गरेर कुनै पनि व्यावसायिक संस्थाको प्रमुख कार्यकारी अधिकृत बन्ने लक्ष्य राखेकी सिमरनले फेसन मोडलिङ र सौन्दर्य प्रतियोगितालाई आफ्नो ‘ट्यालेन्टसिप’ देखाउने माध्यम मात्र बनाएको बताइन् ।

रुबी र सिमरनको तर्क छ, ‘नेपाल आउने अधिकांश पर्यटकले पोखरा, चितवन, सगरमाथादेखि मनाङ–मुस्ताङसम्म धेरैचोटि घुमिसकेका छन् । अब पालो पूर्वका पर्यटकीय स्थलहरूको हो ।’ पूर्वमा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, ‘भर्जिन ट्रयाक’ धरानदेखि भेडेटार हुँदै वसन्तपुर-तीनजुरे मिल्के र जलजले, गुफापोखरी, नुनढाकी, दोभानदेखि इलाम, श्रीअन्तु, माइपोखरीसम्मको प्रवद्र्धन गर्न बाँकी रहेको उनीहरूले सुनाए ।

दुवैले समाज सेवालाई आफ्नो मुख्य हबी बनाएका छन् । समाजको हित हुने गरी पर्यटनसम्बन्धी जानकारी बटुल्ने र आन्तरिक र बाह्य पर्यटन भित्र्याउने उपायबारे अग्रजसँग छलफल अन्तरक्रियामा व्यस्त भएको उनीहरूले बताए ।

साभार : कान्तिपुर दैनिक

    Comment Here!