पुस २७ देखि ‘पोखरा महोत्सव’ हुने

पोखराः आगामी पुस २७ देखि ‘पोखरा महोत्सव’ हुने भएको छ । ११ दिनसम्म सञ्चालन हुने महोत्सव माघ आठ गतेसम्म जारी रहने आयोजक युनाइटेड क्लब पोखराले जानकारी दिएको छ ।

‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ नाराका साथ सञ्चालन हुने महोत्सवमा स्थानीय कला, संस्कृती भेषभुषाका साथै पोखराको पर्यटन प्रबद्र्धन, शैक्षिक उन्नती, खेलकुदको विकास गर्ने खालका प्रदर्शनी गरिने आयोजक संस्थाका महासचिव तथा प्रचार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा दुई सय २० स्टल रहनेछन् । जसमा विभिन्न जात जातिका कला संस्कृति, औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री, सूचना प्रविधिको प्रदर्शनी, हस्तकलाका सामानको प्रदर्शनी, विभिन्न व्यवसाय सञ्चालन गरेर बसेका संस्थाको जानकारी तथा उनीहरुले उपलब्ध गराउने सेवाको प्रचारका साथै नेपाली कला झल्कने झाँकी तथा कृषि उत्पादको प्रचार गरिने पनि श्रेष्ठले बताए ।

साढे दुई लाख दर्शक आउने अपेक्षा

महोत्सव अवधिभर साढे दुई लाख भन्दा बढी दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ । महोत्सवमा सहभागिता जनाउने सबैलाई टिकटको व्यवस्था गरिएको छ । साधारण टिकटको मूल्य ८० रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीका लागि ६० रुपैयाँ तोकिएको छ । त्यस्तै अपाङ्गता भएका, बृद्धबृद्धा, एकल महिला तथा सुरक्षा निकायका व्यक्तिलाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

महोत्सवमा सहभागी हुने दर्शकको सुरक्षाका लागि उचित व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । शौचालयको राम्रो व्यवस्था गर्नुका साथै प्राथमिक स्वास्थ्य सेवा र एम्बुलेन्सको व्यवस्था गरिएको छ । आगलागी, भूकम्प, चट्याङ हुरिबतास जस्ता प्राकृतिक प्रकोप भएमा वा हुलदंगाबाट भएको क्षतिको बिमा पनि गरिएको आयोजकले जनाएको छ ।

पार्किङका लागि उचित प्रबन्ध गरेको क्लबले इन्टरनेट प्रयोगकर्ताका लागि वाईफाईको पनि व्यवस्था गरेको छ ।

सवा करोड आम्दानी गर्ने लक्ष्य

११ दिने महोत्सवबाट एक करोड १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरी काम अघि बढाइएको आयोजक क्लबका अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए । महोत्सवको अनुमानित खर्च ७९ लाख हुने र क्लबले ३५ लाख रुपैया बचत गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवलाई व्यवस्थित बनाउन अध्यक्ष गुरुङकै संयोजकत्वमा मूल आयोजक समिति तथा अन्य विभिन्न कामका लागि विभिन्न ४१ उपसमितिहरु पनि निर्माण गरिएको महोत्सवका प्रचारप्रसार संयोजक राजु श्रेष्ठले बताए ।

महोत्सवको आम्दानी सार्वजनिक काममा खर्चिने

विगत आठ वर्षदेखि पोखरा महोत्सव गर्दै आएको यो क्लबले आयोजना गर्न गर्न लागेको यो महोत्सव आठौं हो । महोत्सवबाट भएको आम्दानीले सामाजिक विकासका क्षेत्रमा काम गर्ने क्लबको योजना छ ।

विगतदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुदको विकास र पर्यटन प्रबद्र्धनका क्षेत्रका काम गर्दै आएको क्लबले अबका दिनमा यिनै कामलाई निरन्तरता दिँदै पर्यटन प्रबद्र्धनका लागि चिडियाखाना निर्माण, सेती नदी संरक्षण, सौर्यबत्ती जडानलगायतका कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने योजना बनाएको छ ।

    Comment Here!