सिन्धुलीगढी विजय महोत्सवको तयारी पूरा

काठमाडौंः गोरखाली सेनाले सिन्धुलीगढीमा ब्रिटिस सेनालाई पराजित गरेको दिनको सम्झनामा मनाइनले सिन्धुलीगढी विजय महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

सिन्धुलीगढीमा प्रत्येक वर्ष कात्तिक २४ गते विजयोत्सव दिवसका रुपमा मनाइन्छ । गढीयुद्धमा विजय हासिल गरेको यो साल दुई सय ५० वर्ष पुग्दैछ ।

सिन्धुली जिल्लाको विकास र पर्यटकीय प्रबद्र्धनका क्षेत्रमा काम गरिरहेको सिन्धुली अभियानले कमलामाई नगरपालिकासँगको सहकार्यमा यसपालीको विजयी महोत्सव मनाउने तयारी गरेको छ ।

विजयउत्सवको अवसरमा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म साइकल यात्रा गर्ने अभियानले जनाएको छ । विजयोत्सवलाई भव्य बनाउन ‘राइड टु सिन्धुलीगढी’ नाममा साइकल यात्रा र त्यही दिन साँझ सिन्धुलीमाढीमा विजयोत्सव सांगीतिक समारोह गर्न लागेको अभियानको भनाई छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिका रुपमा उपस्थित गराउने अभियानले जनाएको छ । कार्यक्रमको दिन हुने साइकल यात्राको नेतृत्व विश्व साइकलयात्री पुष्कर शाहले गर्ने छन् ।

    Comment Here!