सिन्डिकेटकै कारण पर्यटक बस चलाउन गाह्रो भो

टुरिष्ट बस एसोसिएसनले नेपालका दुई आकर्षक पर्यटकीय गन्तव्य पोखरा र चितवनको सौराहामा दैनिक यातायात सेवा सञ्चालन गरिरहेको छ । नेपालका सम्पूर्ण पर्यटकीय गन्तव्यमा यातायात सेवा विस्तार गर्ने लक्ष्य राखेपनि व्यवसायिक सिन्डिकेटका कारण काम गर्न कठिनाई भएको एसोसिएसनका नवनिर्वाचित अध्यक्ष प्रलाद लोहनीले बताए ।

प्रलाद लोहनी/अध्यक्ष, टुरिष्ट बस एसोसिएसन

उनले भने सयभन्दा बढी गाडी भएपनि दैनिक दुईटा सञ्चालन गर्न समस्या भइरहेको छ । अब चाँडै नै लुम्बिनी र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बस सञ्चालन गर्ने योजना रहेको बताउँदै अध्यक्ष लोहनीले त्यसका लागि पर्यटनकै क्षेत्रमा काम गरिरहेका होटल एसोसिएन, ट्राभल एसोसिएसनलगायतसँग छलफल अघि बढाइरहेको बताए ।

नवनिर्वाचित अध्यक्ष लोहनीसँग एसोसिएसनको काम, भावी योजनाका विषयमा गरिएको कुराकानी ।

टुरिष्ट बस एसोसिएसन भनेको केहो ? यसले के गरिरहेको छ ?

– नेपाल घुम्ने आन्तरिक पर्यटकलाई लक्षित गरेर नेपालका पर्यटकीय गन्तव्य जानेहरुलाई सहज रुपमा आवतजावतका लागि यातायात सेवा प्रदान गर्ने संस्था हो । हामीले अहिले काठमाडौंबाट चितवनको सौराहा र पोखरा घुम्न जाने पर्यटकलाई लक्षित गरी सेवा सञ्चालन गरिरहेका छौं । नेपालका अन्य गन्तव्यमा पनि सेवाविस्तार गर्ने लक्ष्यसहित हाम्रो एसोसिएसनले काम गरिरहेको छ ।

अहिले दुई क्षेत्रमा दैनिक ३० वटा गाडीबाट सेवाप्रदान गरिरहेका छौं । हामीले सुरक्षित, सभ्य र शिष्ट सेवाप्रदान गरी पर्यटकलाई यातायात सेवाप्रदान गरिरहेका छौं ।

० अन्य व्यवसायीले सञ्चालन गरेका यातायात र टुरिष्ट बस एसोसिएनले सञ्चालन गरेका बसको सेवामा फरक के छ ?

– हामीले घुम्न जाने पर्यटकलाई लक्षित गरी सेवा सञ्चालन गरिरहेका छौं । सकेसम्म कम बजेटमा काठमाडौंबाट चितवन र पोखरा घुम्न जानेलाई कसरी गन्तव्यमा पुर्‍याएर ल्याउन सकिन्छ भन्ने हिमाबले काम गरिरहेका छौं । विशेषगरी ‘बजेट टुरिष्ट’ (निश्चित रकम खर्च गरेर घुम्न जाने पर्यटक) तथा बाह्य पर्यटकलाई यो सेवा दिलाइरहेका छौं ।

अन्य यातायातका साधन र हामी बीचको फरक भनेको उनीहरुले कडा प्रतिस्पर्धाका साथ काम गरिरहेका छन् । हामी भने नेपालको एक उद्योग पर्यटन हो भन्ने सन्देश दिन र पर्यटकीय गाडी चढेर हिँडेमा सुरक्षित रुपमा गन्तव्य पुग्न सकिन्छ भन्ने सन्देश दिँदै सेवा सञ्चालन गरिरहेका छौं ।

हामीले सञ्चालन गर्ने बसमा तालिम प्राप्त चालक हुन्छन् । उनीहरुलाई व्यक्तिगत आचारणसहितका कुरा सिकाएर गाडीमा सवार यात्रुलाई सभ्य र शिष्ट तरिकाले कुराकानी गर्नुका साथै गुणस्तरीय सेवादिने काम गरिरहेका छौं । तुलनात्मक रुपमा हेर्दा अन्य यातायातका सवारी भन्दा हामी फरक, सुरक्षित र आकर्षक यातायात हौ भन्ने हामीलाई लागेको छ ।

० यात्रुले फरक अनुभूति गर्ने विषयचाँही के हो ?

– हाम्रो लक्ष्य नै सुरक्षित यातायात हो । लामो दूरीका सवारीमा नियमित रुपमा हामी चालक परिवर्तन गछौं । गाडीको कन्डिसन चुस्तदुरुस्त हुने गर्दछ । नेपालको बाटोको अवस्था तपाईं हामीलाई थाहा भएकै हो । यहाँ धेरै सवारी दुर्घटना हुने गर्दछन् । तर, अहिलेसम्म हामीले सञ्चालन गरेका सवारी दुर्घटनामा परेका छैनन् । यो पनि एउटा राम्रो उदाहरण हुनसक्छ ।

अर्को कुरा हामीले सञ्चालन गरेका ठूला बसमा ३५ सीटको क्षमता हुन्छ । हामी सीट क्षमता भन्दा एकजना पनि बढि यात्रु राख्दैनौं । हामी विशुद्ध सेवामा समर्पित भएकाले यात्रुहरुले हाम्रो सवारीमा यात्रा गर्दा आनन्द र सुरक्षित महसुस गर्नुहुनेछ ।

० टुरिष्ट बस अन्यको तुलनामा महँगो र भनेको समयमा उपलब्ध नहुने भन्ने गुनासो छ नि ? यसलाई एसोसिएसनले कसरी लिएको छ ?

– हामीले अहिले काठमाडौं–चितवन र काठमाडौं–पोखराको सेवा सामान्य गाडीको जस्तै उपलब्ध गराएका छौं । काठमाडौं पोखरा हामीले प्रतिव्यक्ति सात सय रुपैयाँको दरले लगिरहेका छौं । जुनत्यति धेरै महँगो हैन । तर, तपाईंले भनेजस्तो जनमानसमा टुरिष्ट गाडी भनेको विदेशी बोक्ने गाडी हो महँगा हुन्छन् भन्ने चाँही भेटेका छौं । हामीले लक्षित गरेका पर्यटक भनेको अघि पनि भनेको थिए । बजेट टुरिष्ट नै हुन् ।

उनीहरुले आफ्नै गाडी वा रिर्जभको गाडी लिएर गयो भने त्यही यात्रा महँगो हुन्छ तर, हामी कहाँ जाँदा त्यो यात्रा सस्तो हुनपुग्छ । हाम्रो सेवा सबैले सहज रुपमा पाउन सक्छन् । पोखरा र चितवन घुम्न जाने पर्यटकलाई सस्तो मूल्यमा सुरक्षित तरिकाले आनन्ददायी यात्रा गराउनु नै हाम्रो लक्ष्य हो ।

० तपाईंहरुको सेवा कहाँबाट लिने ?

हाम्रा गाडीहरु प्रत्येक बिहान सात बजे छुट्छन् । काठमाडौं–पोखरा, काठमाडौं–चितवन जाने गाडी तपाईंले दैनिक भेट्नुहुनेछ । त्यस्तै पोखराबाट साढे सात बजे लेकसाइटबाट काठमाडौं आउने गाडी छुट्छन् । अनि सौराहामा सौराहा बसपार्कबाट बिहान आठ बजे गाडी छुट्छन् । बन्द तथा बिदाले हामीलाई कुनै असर गर्दैन । वर्षभरी नै अर्थात तीन सय ६५ दिन नै हामी हाम्रो सेवा सञ्चालन गछौं ।

० चितवन र पोखरा बाहेकका स्थानमा सेवाविस्तार गर्ने योजना छ कि छैन् ?

– हामी यसमा लागि परेका छौं । चाँडै नै लुम्बिनी र बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरी सेवाविस्तार गर्ने योजना छ । तर, व्यवसायीक सिन्डिकेटका कारण सोचे अनुसारको काम गर्न सकेका छैनौ । हाम्रो टीम यो काममा दृढ भएर लागेको छ ।

हामीले त्यस क्षेत्रमा काम गर्ने पर्यटन व्यवसायीसँग पनि छलफल गरिरहेका छौं । म एउटा सानो उदाहरण दिन्छु हिजो सौराहाका होटल छ महिना सञ्चालन भएपनि छ महिना अफसिजन भन्दै बन्द हुने गरेका थिए । तर, हामीले सेवा सञ्चालन गरेपछि अहिले १२ महिना नै होटलहरु भरिभराउ छन् । यो हाम्रै देन हो भन्ने मलाई लाग्छ ।

त्यही रुपमा हामीले अन्य क्षेत्रका पर्यटन व्यवसायीसँग पनि कुराकानी गरिरहेका छौं । पहिला लुम्बिनी र बर्दिया राष्ट्रिय निकुञ्जमा जाने पर्यटकका लागि सेवा विस्तार गर्ने हो । त्यसपछि अन्य पर्यटकीय गन्तव्यका स्थानमा पनि हामी सेवा सुरु गर्नेछौं । तर, सिन्डिकेटको मारका कारण हाम्रो काम अलि ढिलो भइरहेको छ ।

० तपाई भर्खरै एसोसिएसनको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ, तपाईंका योजनाचाँही के छन् ?

– पहिलो कुरा त हामीले अहिलेसम्म जुन विश्वसनीयता कायम गरी सेवा सञ्चालन गरिरहेका छौं त्यसलाई निरन्तरता दिनु र अझै विश्वसनीय बनाउनु हो ।

दोस्रो, हामी टुरिष्ट बसपार्क निर्माणको अभियानमा पनि छौं । यसका लागि सरकारी निकाय र सम्बन्धित निकायसँगको सहकार्यमा हामी अघि बढ्छौं । यो काम पनि मेरै नेतृत्वमा गर्ने योजना छ ।

अर्को सडकको व्यवस्थापनका लागि आवश्यक पहल पनि हामी गर्नेछौं । हामीले सकेसम्म सम्बन्धित निकायलाई खबरदारी गछौं । त्यस्तै अबको हाम्रो लक्ष्यमा रहेको लुम्बिनी र बर्दिया राष्ट्रिय निकुञ्जलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने गरी हाम्रो सेवा सुरु गर्ने र त्यहाँ जाने पर्यटकलाई सहजरुपमा पुर्‍याउने जिम्मेवारी लिएर काम गर्नेछौं ।

० तपाईंहरुले भोग्नुभएका समस्या र देख्नुभएका चुनौतीहरु के के हुन् ?

– अहिलेको सबैभन्दा ठूलो समस्या भनेकै सिन्डिकेट हो । राज्यले नै सिन्डिकेट लादेको छ । त्यो हटाउनु अहिलेको चुनौती हो । त्यस्तै पर्यटक गाडीलाई पनि रुट परमिट दिने कुरा चलेको छ । तर, व्यवस्थापन हुन सकेको छैन् । व्यवसायीको सिन्डिकेटलाई सरकारले नै समर्थन गरेपछि हामी पीडित छौं । हामीसँग सयवटा बस भएपनि दैनिक दुईटा छुटाउन हामीलाई हम्मेहम्मे पर्दछ ।

अब समस्यामात्र छन भनेर पछि सर्ने होइन । म यो संस्थाको अध्यक्षमा निर्वाचित भएको पनि एक हप्ता मात्र भएको छ । यो बीचमा पर्यटनको क्षेत्रमा काम गरिरहेका होटल एसोसिएसन नेपाल, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स, नेपाल पर्वतारोहण एसोसिएसनलगायतका संस्थाहरुसँग सहकार्य र छलफल जारी राखेको छु ।

सबैसँग सहकार्य गरेर काम अघि बढाउने मेरो योजना छ । पर्यटकका सवारीलाई रुट परमिटको व्यवस्था गर्नुपर्छ, पर्यटक बसको लागि बसपार्क निर्माण गर्नुपर्छ भन्ने सबैका साझा मुद्दा हुन । यी नै मुद्दालाई नै सम्बोधन गर्नेगरी सहकार्यका साथ काम गर्नेछौं र नेपालका सम्पूर्ण पर्यटकीय गन्तव्यमा सुविधासम्पन्न पर्यटकीय बस सञ्चालन गर्ने हाम्रो एसोसिएसन लागि पर्नेछ ।

    Comment Here!