प्रदेश नं १ का मुख्य गन्तव्य

देबेन्द्र कार्की
हिमाल पहाड तराई तीनवटै भाग समेटेर बनेको प्रदेश नं. १ को मेचीको तिरदेखि सगरमाथाको आधारशिविरसम्म पुग्दा यहाँ विविध जाति भाषा संस्कृति भेषभुषा भएको मानिस बसोबास गरेको ठाँउ हो । जैविक विविधताले धनी प्रदेश पनि १ नं नै हो ।

विश्वमा दुर्लव मानिएको रेडपाण्डादेखि लिएर संसारमा नपाईने काडे भ्याकुर यही प्रदेशमा पाईन्छ । सवैभन्दा होचो (६५मिटर) स्थान केचना र विश्वको सबभन्दा अल्गो हिमाल (८८४८मिटर) सगरमाथा पनि यही प्रदेशमा पर्दछ ।

गुरासको राजधानी, चराहरुको राजधानी, अर्नाको राजधानी यही प्रदेशमा पर्दछ । पर्यटकीय गन्तव्यको हिसावले प्रदेश नं. १ उत्कृष्ट मानिएता पनि उचित व्यवस्थापन र प्रचार प्रसारको अभावले ओझेलमा परेको छ ।

हामीभन्दा कम प्राकृतिक स्रोत साधान र कम पर्यटकीय सम्भवावना भएका पश्चिमी जिल्लाहरु पूर्व भन्दा राम्रो विकसित भएका छन् । हामी हाम्रो श्रोत र साधनलाई उपयोग गरेर ब्राण्ड बेच्न नसक्दा यहाँको पर्यटन प्रवद्धन हुन सकेको छैन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘के नेपाल सानो छ ?’ भन्ने निबन्धमा भनेका छन्, भौगोलिक, प्राकृतिक र सांस्कृतिक विविधता एकै साथ हेर्न विश्वमा धेरै देशको भ्रमण गर्नुपर्छ । तर, नेपालमा आए यो सानो क्षेत्रफलभित्र सिनेमाको पर्दामा पूरै जीवन हेरेजस्तै सारा विश्व नै देख्न पाइन्छ, पहाडको एक पाटामा घाम लागिरहेको हुन्छ, अर्को पाटोमा पानी परिरहेको हुन्छ र अलि पर हिउँ परिरहेको हुन्छ यो दृश्य नेपालमा एकै साथ देख्न पाइन्छ, यस्तो दृश्य विश्वका कुनै पनि देशमा एकैसाथ देख्न पाइँदैन, भूगोलको सीमालाई छाडेर हेर नेपाल कसरी सानो भयो ?

देवकोटाले भने झै पहाडको एक पाटामा घाम लागिरहेको दृष्य, अर्को पाटोमा पानी परिरहेको दृष्य, अलि पर हिउँ परिरहेको दृश्य पूर्वमा पनि एकसाथ देख्न पाइन्छ, यस्तो दृश्य विश्वका कुनै पनि देशमा एकैसाथ देख्न पाईदैन । यस्तो विश्वमा कही नभएको दृष्य, क्षेत्र बेच्न नसक्नु विडम्बना भएको छ ।

पछिल्लो समय नेपालमा पाउरोटी टोकेर छाक टार्ने र थोरै खर्चमा अत्यधिक समय नेपालमा विताउन खोज्ने पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको छ । ति पर्यटकहरुलाई प्रदेश नं १ का पर्यटकीय क्षेत्र घुमाउन ल्याउन पहलकदमी गरिनुपर्दछ ।

प्रदेश नं १ का मुख्य गन्तव्य

धरान

पूर्वको पर्यटकीय शहर धरानको इतिहास खोज्दै जाँदा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेर राणासम्म पुग्छ । सन् १९५८ सालमा चन्द्रपुर बजार (हालको पुरानो बजार) बसालेर धरान सहरको बस्ती बसाएको इतिहास छ । इस्ट इन्डिया कम्पनीलाई काठ आपूर्ति गर्न धरान हालेर चारकोसे जंगल फँडानी गरिएकाले यस ठाउँको नाम धरान रहेको हो । १९९० सालको भूकम्पपछि अर्का राणा प्रधानमन्त्री जुद्ध शम्शेरले हालको नयाँ बजार भनिने जुद्धनगर बसाए ।

२०१० सालमा ब्रिटिस सरकारले ब्रिटिस गोर्खा सैनिक कार्यालय स्थापना गरेपछि पूर्वी पहाडी जिल्लाको व्यापारिक केन्द्रका रूपमा धरानको विकास भएको हो । गोर्खा शैनिकको कार्यलय स्थापनाले धरानलाई पूर्वी पहाडी जिल्लाको नाकाको रुपमा विकसित गरेको पाईन्छ ।

स्थानीय बुढापाकाका अनुसार पाल्पाका सेनवंशी राजाले विजयपुर गढीलाई सामरिक हिसाबले महत्वपूर्ण किल्ला बनाएका थिए । गोर्खाका राजा पृथ्वीनारायण शाहले १८३१ सालमा सम्झौता गरेर नेपालमा गाभ्नुअघि विजयपुर किरात प्रदेशको राजधानी थियो । त्यही विजयपुरगढी धरानको शिरका रुपमा रहेको छ ।

वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट सुरुवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.स. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ । वि.स. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रुपमा धरानमा बसोबास तथा चहलपहल बढेको हो ।

२०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पाँचकन्या गाविसलाई पनि धरान नगरपालिकामा गाभी २३ वडा कायम गरियो । पुनः २०७१ मंसिर १६ गते नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय अनुसार विष्णुपादुका गाविसलाई धरान नगरपालिकामा गाभेर २७ वडा कायम गरि उप(महानगरपालिका घोषण गरिएको हो । गत फागुन २७ गते पुन त्यही क्षेत्र कायम गरि २० वडा कायम गरिएको छ ।

बहुजाति, बहुधार्मिक तथा बहुसांस्कृतिक सहरको रुपमा धरानलाई चिनिदै आएको छ । यो तराई र पहाडको संगमस्थल पनि हो ।

गारेर्खा शैनिकको कार्यालय उठेर पोखरा गए पछि उक्त स्थानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान निर्माण भएको छ । देशकै विशेषज्ञ स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षालयको रुपमा प्रतिष्ठान विकसित भएको छ ।

धरान शैक्षिक हव पनि हो । कृषि इन्जिनियरिङ पढाइ हुने एक मात्र सरकारी क्याम्पस यहीँ छ । केन्द्रीय खाद्य प्रविधि क्याम्पस र संस्कृत क्याम्पसले धरानलाई पूर्वकै शैक्षिक केन्द्र बनाएको छ । यहाँ पौराणिक महत्व बोकेका पीण्डेश्वर, दन्तकाली, बूढासुब्बा, पञ्चकन्या, विष्णुपादुकाजस्ता धार्मिकस्थल छन् ।

व्यवस्थित, सफा र सुन्दर शहर धरानको नामसँग भ्रपू लाहुरेहरुको नाम जोडिएर आउछ । अवकाशप्राप्त ब्रिटिस गोर्खा सैनिकले धरानलाई आवासीय सहर बनाएका हुन । उनीहरुले धरानलाई आधुनिकरण गर्न समेत ठूलो सहयोग गरेका छन् । चिटिक्क परेका घर । घरसँगै सुन्दर बगैँचा, व्यवस्थित ढलसँगै सफा र चौडा पक्की सडक धरानको पहिचान हो । धरानलाई व्यस्थित गर्न यहाँका जनताले कुनै कन्जुसाई गरेका छैनन

पूर्वी पहाडको नाका

धनकुटा, तेह्रथुम, संखुवासभा भोजपुरलगायतका पूर्वका पहाडी जिल्ला प्रवेशद्धार धरान हो । पहाडका उत्पादन धरानमा रहेको कृषी उपज बजार केन्द्रमा संकलन गरि विश्व बजारसम्म धरानले पुर्याउदै आएको छ । पहाडी क्षेत्रको व्यापारीक केन्द्रको रुपमा धरान रहेको छ । नुनदेखि सुनसम्मको कारोवार गर्न धरान आउने गर्दछन् ।

कसरी पुग्ने धरान ?

काठमाण्डौंबाट रात्री तथा दिवा बसबाट धरान पुग्न सकिन्छ । काठमाण्डौ विराटनगर हवाईमार्गको यात्रा गरे पछि विराटनगरबाट ३८ किमी दुरीको उत्तरमा पर्दछ । त्यहाँबाट सार्वजनिक बस तथा ट्याक्सीबाट पुग्न सकिन्छ ।

धरानबाट पूर्वी नाका काकरभिट्टा १७० किमी दुरीमा पर्दछ । जोगमुनी नाका ४३ किमी टाढा पर्दछ । धरानबाट चीन जोड्ने किमाथांका नाका ४३५ किमी टाढा पर्दछ ।

धरानमा घुम्न लागयक स्थानहरु

धरान आएर यहाँ धार्मिकस्थलहरु घुम्न लागयक छन् । पौराणिक महत्य बोकेको पिण्डेश्वर बाबाधाम, दन्तकालि मन्दिर, बुढासुब्वा मन्दिर, भताभुंगे दरवार, धरानमौ रहेका छन् । एकदिनभरीमा यि क्षेत्र घुम्न सकिन्छ । विष्णुपादुका मन्दिर पनि धरानमा पर्दछ । धरानदेखि पश्चिम उत्तर ४ किमी दुरीमा पर्दछ ।

धरानदेखि नजिक रहेका चतराधाम, बराहक्षेत्र, रामधुनी पनि एक दिनको प्याकेज बनाएर घुम्न सकिने स्थानहरु हुन ।

भेडेटार

सेताम्मे हिउ फुल्ने कंचनजंघा र मकालु हिमालको काखमा लमतन्न परेको धनकुटा बजार र दक्षिणमा चारकोशे झाडी मास्दै फैलिएको सुन्दर नगर धरानलाई हेरेर बसेको पर्यटनग्राम भेडेटार पुर्वको पर्यटकीय गन्तव्य बनेको छ ।

आकर्षणको केन्द्रविन्दु मानिएको पर्यटन ग्राम भेडेटारमा बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड हुने गरेको छ । आदी भुभाग धरान र आदी धनकुटाको स्वामित्वमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षकको केन्द्र विन्दु बन्दै आएको छ ।

पहाडी श्रृखला मकालु मनास्लु ल्होत्से र कुम्भकर्ण हिमालको दृश्यलोकन धनकुटा बजारको आकर्षण एवं सेउती र सर्दुको वीचमा रहेको धरानको मनमोहक दृष्य अवलोकन गर्न भेडेटार चढ्नेहरुको संख्या पनि दिन दिनै बढेको छ ।

समुन्द्र सतहदेखि एक हजार ४ सय ३० मिटरको उचाईमा अवस्थित भेडेटार धरानदेखि १६ किमी उत्तर धनकुटादेखि ३२ किमी दक्षिणको सुनसरी र धनकुटाको संगमस्थलको रुपमा रहेको छ । एकैछिनमा चर्को घाम लाग्नु र एकैछिनमा कुहिरोले ढाक्नु भेडेटारको विशेषता हो ।

छिनछिनको मौसम परिवर्तन पनि पर्यटकका लागि आकर्षक थप्ने अर्को विषय भएको स्थानीय होटल व्यवसायी जितेन्द्र रुम्दाली बताउछन् ।
यहाँ ३० फिट अग्लो टावर बनाइएको छ । यही टावर पर्यटकहरुको आकर्षणको केन्द्र विन्दु बनेको छ । जहाँ हजारौ पर्यटकहरु चढ्न तछाडमछाड गर्ने गर्छन् । उक्त टावरबाट धरान धनकुटा सप्तकोशीको फाँट चारकोसे झाडी एंव तराईका मनमोहक फाट धित मरुन्जेल अवलोकन गर्न सकिन्छ ।

भ्युटावरबाट विहानीपख देखिने दृष्य कैद गर्न प्रकृती प्रेमीहरुको तछाडमछाड हुने गरेको छ । सिजनको बेला टावरबाट दृष्य अवलोकन गर्न दैनिक हजारौ पर्यटकहरु आउने गरेका छन् ।

सो टावरमा प्रवेश गर्न प्रतिव्यक्ति ५ रुपैया र क्यामेरा सहित प्रबेस गर्दा १० रुपैया शुल्क लिने गरिएको छ । भने भारतबाट आउनेलाई २ रुपैया र अन्य मुलुकबाट आउनेलाई ५० रुपैया शुल्क निर्धारण गरिएको छ । हाल सो टावर चढ्नेहरुको संख्या बढेको छ । दैनिक ७ हजार भन्दा बढि शुल्क संकलन हुने गरेको छ ।

कार्तिकदेखि बैशाखसम्म पिकनिक खान पूर्व काकडिभट्टा पश्चिम जनकपुरसम्मका आगन्तुकहरु भेडेटार चढ्ने गरेका छन् । भेडेटार देखि पश्चिममा रहेको सागुरी गढी, उत्तरमा २ किमी तल रहेको नमस्ते झर्ना राजारानी नाम्जे बजार एसियामै सव भन्दा ठूलो बरको रुखलगायत भेडेटार आसपासमा अवस्थित छन ।

यी ऐतिहासीक धार्मिक महत्वका बस्तुले पर्यटकहरुलाई आकृषित पारेका छन । विशेष गर्मी मौसममा शितलता भर्न र चैत्र बैशाखमा गुराँस फुलेको दृष्यावलोकन गर्न पर्यटकहरु झुम्मिने गर्छन् । स्वदेशी तथा विदेशी पर्यटकहरुको चाप वर्षै्पिच्छे बढ्न थालेपछि पूर्वको आकर्षक पर्यटन स्थल भएको प्रमाणित समेत भएको छ । सरकारले समेत यो स्थललाई राष्ट्रिय पर्यटन क्षेत्र भनेर घोषाणा गरेको छ ।

नाम्जेको आकर्षण

कतिलाई थाहा नहुन सक्छ-धनकुटाको नाम्जे गाउँ सिएनएनले गरेको सर्वेक्षणमा विश्वकै १२औं उत्कृष्टमध्ये आठौं उत्कृष्ट गन्तव्यको सुचीमा सुचीकृत छ । त्यही गाउँ अहिले दिनहुँ फेरिने क्रममा छ ।

त्यस ठाउँको चर्चा बढेसँगै अहिले टाढा–टाढाबाट त्यहाँसम्म पर्यटक जान थालेका छन् । साबिक भेडेटार गाविसको वडा नम्बर ७ मा पर्ने नाम्जे भेडेटारबाट मात्रै दुई किलोमिटरको दुरीमा छ । अहिले त्यहाँ साना होटल, होमस्टे प्रशस्तै खुलेका छन् ।

त्यसबाहेक व्यवस्थित होटल, सरसफाइ, संग्रहालयको भवनसमेत निर्माण भएकाले पर्यटकको लर्को लागिरहेको छ । यहाँ होमस्टे राम्रो फस्टाएको छ । एक रात विताउन र मगरको हुर्रा नाच हेर्न पर्यटकहरु नाम्जेमा बस्ने गरि प्याकेज बनाएर आउने गर्दछन् ।

यहाँको होमस्टेमा २५० देखि ५०० सम्म खर्चले आरामदायी रुममा खान बस्न पाईन्छ । लोकल धानको भात, लोक कुखुराको भाले, अकवरे खोर्सानी, कोदोको तोङ्बामा यहाँको स्पेसल खान्की हुन । साँझमा मगरहरुको हुर्रा नाचले धेरैको मन लोभ्याएको हुन्छ ।

नाम्जे यति बेला नयाँ गन्तव्य बनेको छ । अहिले भेडेटारबाट नाम्जेसम्म पुग्न ठूला बस, जीप तथा मोटरसाइकल प्रमुख साधन हुन् । भेडेटारबाट नजिकै रहेकाले भेडेटार पुग्ने जो कोही नाम्जेसम्म पुग्छन् नै । भेडेटार र नाम्जे आसपासमै हुनुको फाइदा स्थानीयलाई पुगेको छ ।

भेडेटारमा धेरै दिन बसेर दृष्यावलोकन गर्न चाहाने पर्यटकहरुका लागि पनि सुविधायुक्त २०।२५ वटा होटल लजहरुको पनि व्यवस्था छ । जाडो मौसममा घुम्न जानेहरुका लागि तातोपानीमा भिजाएको कोदोको तुङमा खाना धेरै पर्यटकहरु रमाउने गर्छन् । प्रायः भेडेटार घुम्न जानेहरु कोदोको तुङमा र रागाको सुकुटी नचाखी फर्कदैनन् ।

नेपालीपन रुचाउनेहरुका लागि यहाँ गुन्द्रुक सिन्की लगायतका परिकार समेत पाइने व्यवसायीहरुले बताएका छन् । यहा विदेशी पर्यटकहरुका लागि इण्डीयन र चाईनिज डिस पनि तयार हुने गरेको छ । सुविधायुक्त होटलहरु प्रसस्त खुलेकाले पर्यटकहरुलाई खाना बस्न सहज बनाएको छ । यहाँ पहाडी क्षेत्रमा फलेका ताजा फलफुल तथा तरकारी पनि पाईन्छ ।

कसरी पुग्ने

भेडेटार पुग्न काठमाण्डौंदेखि हवाईजहाजबाट बिराटनगर ओर्लिए पछि ट्याक्सीमा करिव ५५ किमी दुरी यात्रा गरे पछि पुग्न सकिन्छ । दिवा वा रात्री सेवाबाट काडमाण्डौबाट सिधै धरानमा उत्रिएर भानुचौकबाट रिजर्वका ट्याक्सीमा चढेर भेडेटार पुग्न सकिन्छ ।

भेडेटार जानका लागि धरानमा प्रशस्त रिजर्व ट्याक्सीहरु पनि पाइन्छन् । ट्याक्सी रिर्जव गर्न समस्या भए धरानको भानुचौक पुर्वपटि धरानबाट राजारानी तेह्रथुम भोजपुर खादबारी बसन्तपुर पाख्रिवास लगायत ठाउँमा जाने प्रसस्त सार्वजनिक बसहरु पाईन्छन ।

ती बसमा प्रतिव्यक्ति ५० रुपैया तिरे पछि भेडेटार सम्मको यात्रा गर्न सकिन्छ । धरानबाट आजभोली अटोरिक्साहरुले पनि भेडेटारसम्मको सेवा दिने गरेका छन् । भेडेटारबाट २ किमी पूर्व नाम्जेर २ किमी उत्तरको ओरालो झेर पछि नमस्ते झरना पुन सकिन्छ । अटो वा ट्याक्सीलाई यहाँ पुग्न केही थप रकम दिनुपर्ने हुन्छ ।

कोशी टप्पु वन्यजन्तु आरक्ष

कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । यो वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो । यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ ।

सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४४१ प्रजातीका चराहरू, २१९को संख्यामा दुर्लभ अर्ना र १२ वटा दुर्लभ डल्फीनसमेत पाईन्छ ।

नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने लक्ष्यले मध्यवर्ती क्षेत्रको घोषणा गरी, यस मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन २०६१ भदौ ३१ मा गरिएको थियो । मध्यवर्ती क्षेत्रको क्षेत्रफल १७३ वर्ग कि.मी रही ३ जिल्लाको (सुनसरी, सप्तरी, उदयपुर) १६ वटा गाउँहरु समेटिएको छ ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलले विशेष गरेर आरक्ष वरिपरी रहेका प्राकृतिक श्रोतको संरक्षण र सदुपयोग, स्थानीय सामुदायिक विकास लगायत आरक्ष संरक्षणमा सहयोग र सल्लाहकारको भुमिका निर्वाह गर्ने गर्छन् ।

यस कोशी टप्पु वन्यजन्तु आरक्षमा तीन अलग मौसम अनुभव गर्न पाईन्छ । गर्मीको मौसम (फाल्गुण देखि जेठसम्म)मा तीव्रता न्युनतम वर्षा सँग संगै तिब्र गर्मी हुन्छ । यसबेला यहाँको तापक्रम ४० डिग्री सेन्टीग्रेट सम्म पुग्न सक्छ । मनसुन जेठको अन्त्य तथा आषाढको शुरूमा शुरू हुन्छ र भाद्रसम्म लगातार भारी वर्षा रहन्छ । सबैभन्दा भारी वर्षा साउन तिर हुने गर्छ तर त्यस मौसममा उच्च आर्द्रता र तापक्रमको अनुभव पनि हुने गर्छ ।

शिसिर ऋतुमा सफा आकाश र सयमी तापक्रमले चिनाउँछ, तापनि यो मौसममा अझै पनि एकदम चिसो हुने गर्दछ । यहाँ पूर्व पश्चिम राजमार्गबाट भएर जान सकिन्छ । यस प्राकृतिक संरक्षण क्षेत्र एशियन पानीको जंगली भैँसी जसलाई अर्ना भनिन्छ, हरिण, नीलगाई, मगर, गंगा र अन्य भन्दा धेरै जातिका चराचुरीहरूको बसोबास स्थल हो ।

वनस्पति तथा वन्यजन्तु

कोशी टप्पु वन्य जन्तु आरक्षण मुख्यतः घाँसे मैदानले भरिएको छ । साथै यहाँ खयर, साल तथा सिसौ लगायतका वनस्पतिहरू पाइन्छन् । मुख्यतः लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी)हरू पाईने यो आरक्षमा अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तैः हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिंगर आदि जनावरहरू पाइन्छन् ।

विश्वमा नै दुर्लभ मानिएका चराचुरुगीहरू सहित ४४१ प्रजातिका चराचुरुंगीहरू पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटा लगायतका पंक्षीहरू पाइन्छन् । जस मध्य लोसार ठूलो धनेश, स्वाम्प प्याराडाइज (swamp partridge), फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चराहरू अन्तर्गत पर्छन ।

साथै जाडो मौसममा रूसको साईवेरिया, मंगोलिया, चीन, तिब्बत, काजकस्तान, अफगानिस्तान, स्पेन, इरानबाट पनि चराहरू बसाइ सरेर आउने गरेको पाइन्छ । यस आरक्षमा अवस्थित कोशी नदीमा ८० प्रजातिका माछाहरू लगायत साथै दुर्लभ घडियाल गोहि तथा ग्यांगेटिक डल्फिन (Gangetic dolphin) पनि पाइन्छन् ।

अर्नाको राजधानी र चराहरूको स्वर्ग

विराटनगरबाट करिब ५० किमी उत्तर(पश्चिम र धरानबाट करिब ४० किमी पश्चिम दक्षिणमा अवस्थित कोशीको “टप्पु“ कोशीटप्पु सिमसार भुमि र दलदले क्षेत्रका लागि विश्वमै प्रसिद्ध छ ।

सिसौ, खयर र सिमलका रूख र पोथ्रा(पोथ्रीहरूले भरिएको यो टप्पु सिमसार भुमि र दलदले क्षेत्र बाहेक चराको वासका रूपमा पनि लागि विश्वमै प्रसिद्ध छ । अर्ना त नेपालमा केवल यहीँ मात्र पाइन्छ ।

तर गत बषृ सरकारले यहाँबाट १३ वटा अर्ना चितवन राष्टिय निकुञ्ज सारेको छ । अर्ना यहाँ मात्र पाईने र टाडा टाडाबाट चराहरु आउने भएकाले कोशीटप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ ।

कुन समय घुम्न उपयुक्त

कात्तिकदेखि फागुनसम्म अर्ना र चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ । यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै अर्कै हुन्छ । अझै हात्ती चढेर आरक्षण र नजीकैका गाउँ घुम्दाको मज्जै बेग्लै हुन्छ ।

तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो । आरक्षण घुम्न जानेहरूका लागि आसपासका क्षेत्र र सप्तकोशी नदीमाथिर्को याफ्टिण्ङ समेत तान्नसक्छ ।

काभ्रे जिल्लाको दोलालघाटबाट भोटेकोशीर्मा याफ्टिङ गर्दै बराहक्षेत्र(चतरा निस्केर कोशीटप्पु भ्रमण गर्न सकिन्छ। धरानबाट २६ किमी उत्तर मुलघाट गएर्र याफ्टिङ गर्दै चतरा भएर कोशीटप्पु समेत झर्न सकिन्छ। चतराबाट ३० किलोमिटर दक्षिणमा पर्ने कोशीटप्पुसम्म सप्तकोशीमा नौका विहारको आनन्दसमेत लिन सकिन्छ ।

पुग्ने कसरी ?

विराटनगरबाट करिब ५० किमी उत्तर(पश्चिम र धरानबाट करिब ४० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ । पुर्व पश्चिम राजमार्गको लौकहीबाट आरक्षण पुन सकिन्छ । कोशीटप्पु धरानबाट महेन्द्रनगर, प्रकासपुर हुदै पुग्न सकिन्छ ।

नजिकको बस स्टेसन जमुहा हो । जमुहाबाट २.५ किमी दुरीमा अटोरिक्साबाट आरक्षणको हेडक्याटर कुसाहा पुग्न सकिन्छ । काठमाण्डौ, काकरभिट्टा, विराटनगरबाट दैनिबक बस पाउन सकिन्छ । त्यहाँबाट जमुहामा उत्रिएर आरक्षण पुग्न सकिन्छ । कुसाहादेखि ५७ किमी दुरीमा विराटनगर एयरपोट छ । त्यहाँबाट काठमाण्डौं विराटनगर दैनिक उडान हुने गर्दछन् ।

बासको सुविधा

स्तरीय विदेशी पर्यटकहरुका लागि यहाँ कोशी टप्पुवल्ड लाईफ क्याम्प, कोशी टप्पु वल्र्ड बर्ड वाचिग क्याम्प र कोशी क्याम्प गरेर तीन वटा होटलहरु रहेको छन् । बस्न, बेलुका खाना र विहान नास्तासमेत गरेर एक रातका लागि विदेशी पर्यटकका लागि ९० डलर(रु ९ हजार) पर्दछ ।

नेपाली पर्यटकहरुका लागि ३५ डलर(रु.३ हजार ५ सय) पर्दछ । कुसाहामा अन्य साना केही होलट लजहरु पनि छन् । होमस्टे सेवा पनि संचालनमा छ । राम्रो बासका लागि विराटनगर, इटहरी र धरान पुग्नुपर्दछ ।

कोशीटप्पु आरक्षण क्षेत्रमा जंगल सफारी

पूर्वमा पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले कोशी टप्पु वन्यजन्तु आरक्षलाई लक्षित गरेर जंगल सफारी प्याकेज पनि शुरु भएको छ । यो काम विगत ५ बर्षदेखि पर्यटन प्रर्वद्धन तथा व्यावसायमा सक्रिय धरानको सेछ ट्राभलिङले गर्दै आएको छ ।

धरान आउने पर्यटकहरुलाई थप एक रात बास बसाउने गरी जंगल सफारीको प्याकेज तयार गरेको छ । यो एक दिनको प्याकेज भए पनि पर्यटकहरुले चाहेमा कोशीटप्पुमा होम स्टे पनि राख्न सकिने छ ।

पर्यटकहरुलाई घुमाउने, खर्च गराउने र उनीहरुलाई मनोरञ्जन गराउन यस्तो प्याकेज शुरु गरिएको हो । विहान धरानबाट सफारी गर्दा बेलुका धराई नै आईपुग्न सकिन्छ । पर्यटकहरुले थप मनोरञ्जन गर्न चाहे कोशी टप्पु क्षेत्रको होमस्टमा बसन सकिने व्यवस्था पनि छ ।

धरान दक्षिणको चारकोसे जंगलमा ठुलो फायरलाईन र अर्को धरान १९ को हरियाली वन समुहबाट ट्र्याक शुरु हुन्छ । उक्त ट्रयाक धरान १७ स्थित कुम्भीआहालबाट साविक भरौल गाविस निस्कन्छ । त्यहाँबाट महेन्द्रनगर, प्रकाशपुर हुदै कोशीटप्पु वन्यजन्तु आरक्षमा पुग्न सकिन्छ ।

आरक्षमा हात्ति सफारी गर्दै जंगली भैसी अर्ना अवलोकन गर्न सकिन्छ । सार्थ विभिन्न प्रजातिको चराहरुको पनि अवलोकन गरिन्छ ।

यहाँ पर्यटकहरुले कोशी नदीमा बोटिङको मजा लिन सक्नेछन् । कोशीको बीचमा रहेको टापुमा पुर्‍याउने गरिन्छ । टापुमा वालुवाको थुप्रो छ, त्यहाँ पर्यटकहरु रमाउनेछन् । नेपालमा अन्यत्र पनि जंगल सफारी हुन्छ, तर त्यहाँ २, ३ घण्टाको मात्र छ ।

कति खर्च लाग्छ

एकदिनको प्याकेजका लागि एक जनालाई मात्र २ हजार ५ सय रुपैया पर्छ । सफारीको लागि ७ जना क्षमताको गाडी रहेको छ । तर, प्रर्वद्धनको लागि ३ या ४ जना मात्र भए पनि प्याकेजमा लैजाने गरिएको छ ।

कस्ले घुमाउछ

पुर्वी नेपालका पर्यटकीय गन्तव्यहरुको प्याकेजसहित धरानमा सेछ ट्राभलिङ सञ्चालनमा छ । यसले सेछ नामबाटै धरान–१३ मा सुविधा सम्पन्न होट संचालन गदैं आएको छ । टुर प्याकेज तयार गर्ने र पर्यटकहरुलाई घुमाउन लैजाने यो धरानको पहिलो संस्था हो ।

र्‍याफ्टिङको मज्जा

पछिल्लो समय र्‍याफ्टिङ जस्तो साहसिक खेल संचालनमा आएको छ । २०६२ मंसिर १ गतेबाट सञ्चालनमा आएको तमोर रिभर एड्भेन्चर प्रालिले सञ्चालन गरिरहेको र्‍याफ्टिङ सञ्चालन गरिरहेको छ । अहिले अर्को कम्पनी पनि दर्ताको प्रक्रियामा छ ।

अहिलेसम्म २० हजार जनाले र्‍याफटिङको सुविधा लिइसकेका छन् । युवा व्यवसायी मदन ढकालले संचालन गरेको यो मंसिरदेखि वैशाखसम्म र्‍याफटिङको सिजन हो । उनले मूलघाट–तमोर रुटमा दैनिक सेवा दिइरहेको बताए ।

तमोरको मुलघाटबाट सुरु भएको यात्रा सप्तकोशी भेट्ने चतरासम्म आउने गर्छ । मूलघाटसम्म लाने र चतराबाट पिक अप गर्ने काम पनि कम्पनीले नै गर्छ । ३४ किलोमिटरको तमोर र्‍याफटिङको मज्जा लिन ६ घण्टा जति समय लाग्छ ।

शुल्क कति लाग्छ

३४ किमी तमोर घुम्न कम्पनिले ३ हजारमा लिने गर्दछ । धरानबाट धनकुटाको मुलघाटसम्म पुन कम्पनिले नै यही पैसामा लाने गर्दछ । चतरामा पुगे पछि फेरी कम्पनिले धरान ल्याउने छ । केही थप शुल्क तिरेर चतराबाट कोशी टप्पुसमेत जान सकिन्छ ।

र्‍याफ्टिङको सिजन

मंसिरदेखि बैशाख सम्म(डिसेम्बर मे सम्म)

साइक्लिङ

साहसिक खेलमा दरिएको साइक्लिङ गर्नेहरुको संख्या धरानमा बढ्दै गएको छ । राइडर्स एण्ड एमटिभी जोन क्लब’ले साइकलमा जोखिमपूर्ण कौशल (स्टण्ट) देखाउने खेलाडी बन्न हौस्याइरहेको छ ।

किरण राई क्लबमै गाइड छन् । साइकल राइडिङ समूहको नेतृत्व गरेर विभिन्न स्थानमा जान्छन्। धरानमा साइक्लिङ सोख निकै बढेको छ ।

साइक्लिङ रुट

रेस राइडिङ, फ्री राइडिङ, अरबान राइडिङ र रोड बाइकिङका लागि राम्रो मानिने धरान वरिपरि साइकल राइडिङका गजबका रुटहरू रहेका छन् । त्यसमध्ये उत्तरमा भेडेटार, डाँडाबजार, ध्वजे डाँडा, राजारानी, ओख्रेबाट डाउनहिल याङसिला, पानमारा हुँदै एक दिनमा धरान आइपुगिन्छ । चिसो मौसममा पहाडी जनजीवन नियाल्दै धरान झार्नु यो रुटको विशेषता हो।

धरानको दक्षिणतिर चारकोसे झाडी र ताल–तलैया हुँदै अगाडि बढ्ने पाँच किलोमिटरको अर्को रुट पनि छ । त्यसैगरी, पूर्वमा पानमाराको कृषि रुट भएर सेरा खोलाबाट धरान फर्कन सकिन्छ । पश्चिमतर्फ चतरा–बराहक्षेत्र–कोशीटप्पु–रामधुनी रुट छ । कोशीटप्पु आरक्ष विश्वकै दुर्लभ अर्ना र ४९१ प्रजातिका चराको लागि प्रसिद्ध छ । बराहक्षेत्र हिन्दूहरूको चारधाममध्येको एक हो भने रामधुनीको पनि ठूलै धार्मिक महत्व छ । यो रुटमा पर्ने सप्तकोशीमा क्याम्पिङ, फिसिङ र बिच राइडिङ पनि गर्न सकिन्छ ।

राइडरहरूका लागि क्लबले गु्रप राइडको व्यवस्था गरेको छ । रु.५०० मा दिनभरिलाई माउन्टेन बाइकसहित लाने गरेको छ । गु्रप राइडिङको लागि स्थानीय र साहसिक साइक्लिङका लागि विदेशीसहित इटहरी र काठमाडौंका सौखिन धरान आउन थालेका छन् । उनीहरूका लागि छट्टै गाइडको व्यवस्था गरिएको छ ।

२०६७ सालमा दिपक राई, मनोज चाम्लिङ, सचिन राई, सन्तोष राई, दिलीप चाम्लिङ, कृष्ण राई र विष्णु लिम्बूले ग्रीन पायनियर्स ग्रुपमार्फत धरानमा साइक्लिङ अभियान शुरू गरेका थिए । धरानको साइक्लिङ अभियानमा सुधन थापाको पनि देन छ। डिपो हाईस्कूलमा वातावरण विज्ञानका शिक्षक दिपक धरानमा वातावरणीय चेतना जगाउन पायनियर्स गु्रप खोलेका हुन ।

अहिले पायनियर्स ग्रुपका सदस्यहरू राइडिङ एण्ड एमटिभी जोन क्लबमा आबद्ध छन् । दुई वर्षअघि स्थापित राइडर्स क्लबका अनुसार अहिले धरानमा २०० जनाले नियमित साइकल चलाइरहेका छन् । त्यसमध्ये करीब २० जनासँग रु.३० हजारदेखि रु.१ लाख ५० हजारसम्मको माउन्टेन बाइक छ । क्लबले आउँदो तीन वर्ष्भित्र धरानलाई साइकलको शहर बनाउने लक्ष्य लिएको छ । क्लबले उदय सामुदायिक वनमा साइकल पार्क समेत बनाउँदैछ ।

धरानलाई साइकल सिटी बनाउने अवधारणा बोकेका हेम लिम्बूको सपना हो । साइकलका अभियन्ताहरु अहिले धरानमा प्रसस्तै छन्। उनीहरु डाउन हिलको खोजी गर्छन्। पूर्वका हरेक क्षेत्रमा पुग्छन्। र, साइकलबाटै यात्रा गर्दै धरान फिर्छन्।

अहिलेसम्म उनीहरुले पूर्वको सोलुखुम्बू, ओखलढुंगादेखि लिएर संखुवासभाको गुफापोखरीको रुट पनि पत्ता लगाइसकेका छन् । त्यतिमात्रै हैन, धनकुटाको राजारानी, डाडाबजार, हिले, सुनसरी विष्णुपादुकाको भञ्ज्याङ, बराहक्षेत्र, कोशी टप्पुको रुट पनि तय गरिसकेका छन्।

त्यहाँ उनीहरु जाने मात्रै हैनन्। साइकलमार्फत् भिजिट गर्न चाहानेलाई २ जना गाइडसहित पुर्याउँछन्। ’टुर्स प्याकेज पनि तय गरेका छन् । युवापूस्ताहरु मात्रै हैन, जंगल सफारी गर्न पछिल्लो समय नेपाली सेनाका कर्णेल, जर्नेलसम्म आइपुग्छन् । क्याम्प फायर गर्दै एक रात बस्नेसम्मको सुविधा पनि गराउने गरेका छन्। ग्रिनह्विल्समा २० हजारदेखि १ लाख ७० हजारसम्मका माउन्टेन बाइकहरु राखिएका छन्। ती बाइकहरु बिक्री मात्रै हैन, भाडामासमेत सञ्चालित हुन्छन् । माउन्टेन बाइकको पार्किङ जोनसमेत तय गरिएको छ ।

धरान १८ स्थित डिपोट उच्चमावि पार्किङ जोन बनाइएको छ ।

हलेसी धाम

हलेसी धाम हिन्दु, बौद्धमार्गी र किरातीको साझा तीर्थ स्थल हो । हिन्दुका भगवान् शिव, बौद्धमार्गीका गुरु पद्मसंभव र किराती पुर्खा रैछाकुलेसँग सम्बन्धित ठाउँ हो, जुन खोटाङको महादेवस्थान–४ मा पर्दछ । यहाँ दर्शन गर्नाले दुःखबाट मुक्ति, पदोन्नति, खडेरीबाट मुक्ति, सन्तान लाभ र निरोगी हुने जनविश्वास रहेको छ । यहाँ गुफामा धर्मद्वार, जन्मद्वार र पापद्वार छन् । गुफाका मूर्तिलाई धर्मअनुसार फरक–फरक नाउँले पुजिन्छ ।

दुइवटा ठुला गुफा छन् । हलेसी गुफा पहरामा छ । गुफामा महादेव बास भएको हिन्दु किमदन्ती रहेको छ । गुफाभित्र थरीथरीका मूर्ति, शिवलिंग, गणेश, कुमार र पार्वती र, चमेरा रहेका छन् ।

स्थानीयका अनुसार किरातीका पुर्खा रैछाकुलेले गुफा पत्ता लगाएको बताईन्छ । उनीहरू हलेसीलाई पितृ मान्छन् । हलेसीमाथिको तुवाचुङ डाँडा छ । यो अत्यन्त रमणीय छ ।

हलेसी गुफा पश्चिमपट्टि बसाहा गुफा छ । त्यसको पल्लोछेउमा पुगेर हेर्दा माथि आकाश खुला देखिन्छ । गुफा भएको पर्वतलाई बौद्धमार्गी अवलोकितेश्वर पर्वत मान्छन् । बसाहा अघिल्तिरको बज्रपाणी र उत्तरपट्टिको मञ्जुश्री पर्वत, डाँडा ध्वजापताकाले रंगीन रहेको छ ।

गुफामा बुद्धपूर्णिमा, लोसार, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी, तीज, उभौली र उधौलीमा मेला लाग्ने गर्दछ ।

हलेसीमा नेपाली सामान्यत एक रात बस्छन् । त्यहाँ मध्यम खालका होटल छन् । पानीको समस्या भएको स्थानियले बताएका छन । होटल रोयल, डुङदेलो रिसोर्ट, शिवदर्शन गेस्ट हाउस, अनिता होटल, जगत होटल, हरि राई होटल, बस्नेत होटल आदि राम्रा मानिन्छन् ।

कसरी पुग्ने

गुफा नजिकैसम्म सवारीहरु जान्छन् । हलेसीसम्म बाटो पक्की छैन । घुर्मी तरेपछि उदयपुर र ओखलढुंगा जोड्न सुनकोसी र दूधकोशीको जयरामघटमा पक्की पुल छैन । बर्खा सकिएपछि अस्थायी पुल हालिन्छ ।

काठमाडौंदेखि बनेपा–बर्दिबास सडकको खुर्कोट खण्डबाट मध्य पहाडी लोकमार्ग हुँदै घुर्मीबाट हलेसी पुग्न २१६ किमि छ । काठमाडौंको चाबहिल र कोटेश्वरबाट जीप छुट्छन् । जीपमा १० घन्टा लाग्छ ।

कति खर्च लाग्छ

सामान्य खर्च गर्दा करिव छ हजार रुपैयाँ बोक्यो भने बसभाडा र दुई रात हलेसीमा बस्न पुग्छ । फर्कंदा मस्याङ, भट्मास, खुर्सानी, बदाम, गुन्द्रुक र मास कोसेली ल्याउन पाईन्छ । यहाँको मौसम अलिक जाडो हुने भएकाले जाडोका लुगा बोक्नु उपयुक्त हुन्छ ।

टीएमजे क्षेत्रमा विस्तार हुँदै गरेको बस्ती

गुराँसको राजधानीः टीएमजे पदमार्ग

संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा पर्ने तीनजुरे, मिल्के, जलजले (टीएमजे) पर्यटकीय पदमार्ग विश्वकै उत्कृष्ट पदमार्ग गन्तव्यको रुपमा चिनिँदै आएको छ । एक नम्बर प्रदेशकै एक मात्र उत्कृष्ट प्राकृतिक स्रोत र साधनले भरिपुर्ण मानिन्छ ।

गुराँसको राजधानी टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छ । विश्वमा पाइने ४२ प्रजाति मध्ये नेपालमा पाइने ३२ प्रजाति हो । यसमा २८ प्रजाति यस क्षेत्रमा पाइनाले यो क्षेत्रलाई राजधानी मानिएको हो ।

मुख्य आकर्षण

१२ महिना अध्ययन अवलोकन र पैदलयात्राका लागि उपयुक्त मानिने टिएमजे क्षेत्र चार हजार पाँचसय मीटर उचाइसम्म फैलिएको छ । बसन्त ऋतुमा लागिगुराँस धकमक्क फुलेको हेर्न सकिन्छ भने अन्य सिजनमा प्राकृतिक सुन्दरता गुफापोखरी, खोपिङ पोखरी, भुतपोखरी, जलजला पोखरी प्रत्यक्ष हेर्न सकिन्छ । साना हिमालदेखि सभापोखरी, पाँचपोखरी, बाहुलापोखरी मुख्य आकर्षण हुन । हिमाली चौरी पालन र भेडाका बथानलाई वास्तविक रुपमा टीएमजेमा हेर्न पाइन्छ ।

मनास्लु, धौलागिरी जस्ता चर्चित पदयात्रा क्षेत्र भन्दा बढी भर्जिन प्राकृतिक सुन्दरता भए पनि यसलाई राज्यले प्रचारप्रसार र विकास गर्न कम चासो देखाएको स्थानीय नागरिकको गुनासे पनि पाईन्छ । केही समय अघिसम्म टीएमजे क्षेत्र हुदै गोर्जा ताप्लेजुङ जाने ट्रेकिङ रुटसमेत बाटो अभावका कारण बन्द हुन पुगेको छ । अध्ययन र अवलोकन गर्ने विद्यार्थीका लागि यो पहिलो प्राथमिकतामा पर्ने गरेको छ ।

के पाईन्छ

पदमचाल, कुड्की, विखुमा, सतुवा, ठुलोओखती, बिष, वन लसुन, यार्सागुम्बा जस्ता लोपन्मुख दुई दर्जन बढी जडिबुटी पनि यसै क्षेत्रमा प्रसस्त पाइने गरेको छ । एक सय २० प्रजातिको पुतली, लिडेमुसा, रातोपाण्डा, हिउँचितुवा, लोपन्मुख प्रजातिका चरा पनि पाइने गरेको बिज्ञहरुले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कसरी पुगिन्छ टीएमजे

काठमाण्डौबाट धरान, धनकुटा, बसन्तपुरसम्मको मोटर यात्रा पछि टुटेदेउराली देखि पैदल यात्रा शुरु गर्नु पर्ने हुन्छ । शेर्पा, भोटे, तोप्केगोला, डोक्पो, थुदामे, लिम्बु, तामाङ, जातीको परम्परा। संस्कृति, भेषभूष, रहनसहन पनि मुख्य हो । काठमाण्डौबाट जहाजमा विराटनगर झरेर धरान हुदै पुग्न सकिन्छ ।

चौकी, गुफापोखरी, मिल्के, गिद्धे, जलजले, सफापोखरी, पाँचपोखरी, मांसिङमा नुम हुदै खादबारी पुगेर राउण्ड टिएमजे ट्रेकिङ पुरा हुन्छ । तुम्लिङटारबाट हवाइ र गाडी यात्रा पछि १२ दिनको ट्रेकिङ प्याकेज पुरा हुने गर्दछ । यो ट्रेकिङ प्याकेजमा चार हजार पाँच सय मीटर सम्मको उचाइसम्म पैदलयात्रा गर्नु पर्ने हुन्छ ।

यो उच्च हिमाली क्षेत्र हो यहाँ हिउदको समयमा हिउ पर्छ । यहाँ जाँदा बाक्लो लुगा लगाउनुपर्दछ ।

इलाम

देशभर इलामको चर्चा हुने गर्दछ । इलामे चिया, अदुवा, अम्रिसो, ओलन (दूध), अकबरे उत्पादनले यहाँ पर्यटकहरुलाई तानेको छ । पछिल्लो समय इलाम एग्रो टुरिज्म गन्तव्य बन्दै छ ।

नेपालको पहिलो चिया बगान इलामकोकन्याममा छ । स्थानियका अनुसार सदरमुकाममा बडाहाकिम गजराजसिंह थापाले विसं १९२० मा चिया रोपेका थिए । त्यो बेला ११८ हेक्टरमा रोकिएको थियो । हाल भने ५५ हजार हेक्टरमा चिया बगान रहेको छ । यहाँ विसं १९३५ मै चिया प्रशोधन कारखाना खोलिएको थियो ।

इलाममा बहुभाषा धर्म सस्कृतिले भरीपूर्ण छ । यहाँको होटल एसोसिएसनले ‘इलाम घुमौं जीवनभर रमाऔं’ भन्ने नारा बनाएर पर्यटकीय प्रवद्धन अभियान संचालन गरेको छ । इलामका माइपोखरी, सन्दकपुर, कन्याम, अन्तुडाँडा, छिन्टापु, मिकलाजोङ, टोड्के झरना, माङमालुङ, सिद्धिथुम्का, गजुरमुखी, माइखोला, पाथिभरा, मंगलबारे महत्वपूर्ण पर्यटकीय क्षेत्र हुन । इलाम आउदा यि क्षेत्रमा नपुग्ने हो भने यात्रा अधुरो रहन्छ ।

यहाँ सदरमुकाममा भ्यु–टावर, भालुढुंगा, चुरेघाँटी गुम्बा, नारायणस्थान, माइस्थान, भीमसेनस्थान, चिया कारखाना, क्याम्पस, सिंहवाहिनी र सेतीदेवी मन्दिरलगायत पर्यटकीय सम्पदा रहेका छन् ।

कसरी पुग्ने

पूर्व पश्चिम राजमार्गको चारआलीबाट पसेपछि कन्याम पुगिन्छ । त्यहाँ चियाबारीले पर्यटकहरुको स्वागत गर्दछ । बगानबीचमा नागबेली सडकको दृष्य निकै लोभलाग्दो देखिन्छ । बगानलाई कुहिरोले ढाकिरहन्छ । चैतदेखि मंसिरसम्म चियाको मुना टिप्ने समय हो ।

इलामको अग्लो डाँडो सन्दकपुर (३,६३६ मिटर)। ल्यान्डरोभर चढेर जान सकिन्छ । दाजिलिङ र इलामको सीमावर्ती सन्दकपुरमा होटल छन् । त्यहाँबाट कुम्भकर्ण, कञ्जनजंघालगायत दर्जनौं हिमाल अवलोकन गर्न सकिन्छ ।

फिक्कलमा लोपोन्मुख लेप्चा जातिको बसोबास रहेको छ । लोपोन्मुख लाप्चा करिब ४५ सयको संख्यामा रहेका छन्। फिक्कलमा प्रेमबहादुर लेप्चा संग्रहालय नै संचालन गरेका छन् ।

कहलिएको अर्को गन्तव्य अन्तुडाँडा हो । फिक्कलबाट १५ किमिको डाँडा (१,८२३ मिटर) बाट सूर्योदयरसूर्यास्त देखिन्छ । असोजदेखि घुम्न रमाइलो हुन्छ। गाउँमा होमस्टे सुविधा छ ।

फिक्कलबाट ३५ किलोमिटरमा इलाम बजार पुगिन्छ । त्यहाँबाट १० किलोमिटरमा पशुपतिनगर पुगिन्छ । यो दाजिेलिङ प्रवेशद्वार पनि हो ।

धेरै व्यक्तिहरु २/४ वटा फिकलमा फोटो खिचेर इलाम घुमेको भनी फर्कन्छन् । फिक्कल पुगे पछि इलाम पुगेकै राम्रो । मेची राजमार्गको कोलबुङ–२ कुटिडाँडामा पाथिभरा मन्दिर छ । यो ताप्लेजुङकी बहिनी भन्ने गरिन्छ ।

कति खर्च लाग्छ

यहाँ घुम्न र दुई रातसम्म इलाममा बस्न करिव ८ हजार भए पुग्छ । बम्बैसन, ललिपप, छुर्पी, चीज, चिया, अकबरे खुर्सानी, आलु आदि यहाँका कोसेली हुन । देशविदेशमा यि चिजहरु निर्यात हुने गर्दछन् ।

कसरी पुग्ने

विर्तामोर्डदेखि ४ किमी पूर्व चारआलीबाट उत्तर लागे पछि करिव २ घण्टामा इलाम पुगिन्छ । काठमाडौंको कोटेश्वरबाट ६९० किमिमा इलाम बजार पुगिन्छ । कोटेश्वरबाट दिउँसो ३ बजेतिर बस छुट्छन् । १४ घन्टाको यात्रा पछि इलामलाई चुम्ने सकिन्छ । काठमाण्डौ–विराटनगर हवाई यात्रा गरि विराटनगरबाट इलाम जाने बस सामातेर पनि इलाम पुग्न सकिन्छ ।

पाथिभरा

प्रदेश नं १ को प्रसिद्ध तीर्थस्थल पाथिभरा ताप्लेजुङमा पर्दछ । अन्न भरिएको पाथीजस्तो देखिने ताप्लेजुङको डाँडालाई पाथिभरा (३,७९४ मिटर) का नाउँले चिनिएको छ । त्यहाँबाट कुम्भकर्ण, कञ्चनजंघा हिमशृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । यो क्षेत्र लिम्बुहरुको बहुल्यता भएको क्षेत्र हो । कुम्भकर्णलाई लिम्बूहरू फक्ताङलुङ भन्छन् ।

पाथिभरामा सिंहवाहिनी देवीका मूर्ति छन् । पाथिभरा दर्शन गरे जन्मै हातखुट्टा नचल्नेका पनि हातखुट्टा सल्बलाउँछने, दृष्टिविहीनका आँखामा ज्योति भरिने, निःसन्तानलाई सन्तानलाभ हुने, गरिब धनी हुने, शत्रु निर्बल हुने, मित्र पुनःमिलन हुने,पढाइमा सफलता मिल्ले जनविश्वास रहेको छ ।

मन्दिरमा पहिले पुजारी बस्दैनथे । ०५७ सालदेखि बस्न थालेका छन् । चढाइएको भेटी पुजारीले पाउँदैनन्। समितिको खातामा जान्छ । पुजारीलाई तलब दिएर राखिएको छ ।

कुन समय जान राम्रो

फागुनदेखि कात्तिकसम्म पाथिभरा दर्शन राम्रो मानिन्छ । असोज–कात्तिकमा हिमाल झलमल्ल टल्किन्छन् । डाँडामा आठ वटा धर्मशाला छन् । पानीको दुःख भएकाले तीर्थालु बस्दैनन् । दिउद महिनामा अत्यन्त जाडो हुने गर्दछ ।

कान्छीथानदेखि सेतो धागो टाँग्दै मन्दिरसम्म पुर्‍याउने चलन छ । यसो गर्दा आफ्नो आयु लामो हुने विश्वास गरिन्छ । पाथिभरामा भारतको आसाम, मणिपुर, मेघालय, गुवाहटी, सिक्किम, भुटानदेखिका दर्शनार्थिहरुआउने गर्दछन् ।

कति समय लाग्छ

ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि १९ किलोमिटर दुरीमा छ मन्दिर । सुकेटार विमानस्थलसम्म सडक पक्की छ । फुङलिङबाट हिँडेर जान १०–१२ घन्टा लाग्छ । ठाउँ–ठाउँमा खानेरबस्ने सामान्य होटहरु छन् । १६ किमि पर भालुगौंडेसम्म रिर्जभ जीप जान्छ । फेदीभन्दा माथि होटल छैनन् । फेदीबाट दुई घन्टा उकालो बिस्तारै हिँड्नुपर्छ ।

के पाईन्छ

फुङलिङ र सुकेटारमा राम्रा होटल छन् । फुङलिङ, सुकेटार जताततै तोङबा पाइन्छ । चिसोमा तोङबा मिठो हुन्छ । छुर्पी, चौंरीको घ्यु, गलैंचा, राडीपाखी, मह, ढाका कपडा, सुकुटी, अकबरे खुर्सानी, सिमी, गुन्द्रुक, सिन्की त्यहाँका कोसेली हुन ।

बेलायती वनस्पतिविज्ञ जेडी हुकर पहिलो पर्यटकका रूपमा सन् १८४८ मा ताप्लेजुङ पुगेको बताईन्छ । वर्षमा दुई लाख भन्दा बढी तीर्थालु यहाँ पुग्ने गर्दछन् ।

पाथिभरामा बढि चिसोहुने भएकाले बाक्लो लुगा लागउनु पर्दछ । एक साता यात्रा गर्न १५ हजार रुपैयाँले पुग्छ । यसले काठमाडौंदेखि दोहोरो बसभाडा तिर्न र खाना र बास्न पुग्छ । दशैको समयमा विर्मामोडबाट एक ट्राभल्सएजेन्सीले हेलिकप्टर सेवा पनि संचालन गरेको छ ।

कसरी पुग्ने

काठमाडौं–बिर्तामोड बसमा १२ घन्टा लाग्छ । । बिर्तामोडबाट बिहान साढे चार बजेदेखि १० बजेसम्म बस पाइन्छ । फुङलिङ पुग्न १० घन्टा लाग्छ । फुङलिङबाट भालुगौंडेसम्म जीपमा र त्यहाँबाट तीन घन्टा पदयात्रामा पाथिभरा पुगिन्छ । काठमाण्डौ–सुकेटार हवाई यात्राबाट पनि ताप्लुजुङमने पनथीभरा पुग्न सकिन्छ ।

    Comment Here!