सुप्तुलुङ(चुला)मा साल्पापोखरी- किराँत-संस्कृतिको ऐतिहासिक प्रसंग

नारद मणि हार्तम्छाली ‘कलाङ’

सामान्यतया दर्शनशास्त्रीय प्रसङ्ग उठ्दा सवै मानवप्राणीको आधारभूत पक्ष एउटै नै हुन्छ । जुन पक्ष आफुलाई आफ्नो पर्यावरण र अन्तरसम्वन्धित, अन्तरद्वन्दी र अन्तरसहयोगी सवालको सम्वन्धमा आफ्नै प्रकारको निश्चित प्रक्रिया-पद्दति र विधिहरू अपनाएर सम्वन्धित परिवेशानुसार आइपर्ने बाधाहरूलाई पन्साउँदै प्राथमिक आवश्यकताको आधारमा सुविधा तथा सहजताको खोजी गर्छ ।

साथै आत्मासन्तुष्टि खोज्दै यो संसारिक-जीवन निर्वाहका साथ विकसित भएर इतिहासको अनुभवलाई बर्तमानमा समेटी भविष्यको प्रगतिमा उक्लदै सुकल्पनासहित अघि बढ्ने गरेको हुन्छ । त्यही उपायको सुसोचलाई नै दर्शनको रुपमा पनि लिन सकिन्छ ।

मानवीय साझा दर्शन, किराँतहरूको पनि अन्य मानव समुदायको झैँ सारत्व जोडिएको नै छ तर स्वरुपमा भने आफ्नै वस्तुगत धरातलीय (मानवीय-जैविक, प्राकृतिक र आर्थिक-भौतिक) आधार-विम्वको रुपमा संस्कारिक लगायत अन्य साँस्कृतिकपक्षहरू समाहित गरेर आफ्नो सान्सारिक जीवन-दृष्टिकोण सिर्जना गरेकोले उनीहरूको सौन्दर्यपक्ष पनि जीवनको त्यही अनुसारका शुभ-सोच र परिकल्पनालाई नै मानिन्छ ।

अर्थमा किराँतीहरूको सुप्तुलुङ(चुला) सौन्दर्य-चेतनाको एउटा दार्शनिक सूत्रस्थान हो । अतः यसैलाई केन्द्रिय सारआधार मानेर पुकारिने (फलाकिने) मुन्धुमी-तन्त्रमन्त्रहरू किराँत-दर्शनको एक मौखिक पुस्तक नै हो, त्यसैले यसलाई केहि अर्थमा थुतुरीवेद पनि भनिन्छ ।

किराँत दर्शनमा सुप्तुलुङको केन्द्रबाटै, आफ्नो कूल-मूलको जन्म भएका सन्तान र उनीहरूलाई चाहिने सहज वातावरणहरूः खानपान(स्वस्थ्य), शिक्षा-सिकाई, बसाई, लगायतका अन्य रक्षा-प्रतिरक्षा र आक्रमण तथा शान्ति-सूरक्षा जस्ता प्रयोगात्मक-व्यवहारिक प्रश्नहरूको समाधान र अन्य रणनैतिक सवालका मूल-उपायहरूको शैद्धान्तिक विधि-पद्दतिको तय हुने गर्दछ । यस्ता प्रसंग नेपालका भौगोलिक क्षेत्रहरूको मानव इतिहास केलाउदा विभिन्न अवस्था र चरणका प्रमाणहरूमा पनि पाइन्छ ।

यसै प्रसंगमा, कुनैपनि जाति-जनजातिको सामाजिक अस्तित्व ऐतिहासिक-भौगोलिक पर्यावरणसँगै विकास भएर आउने साँस्कृतिक पृष्ठभूमिको पाइलाबाट बढेर-चढेर उठेको छ ।

यो कुरा, किँरात राई-लिम्बु समुदायमा पनि साल्पापोखरीसँगै जोडिएर आउने मिथकीय इतिहासलाई नकोट्याई र त्यस प्रसङ्गका मुन्धुमीय रिसीया र हाक्पारे नपुकारी उनिहरूको संस्कारिक जीवनयापनका विधिविधान र मूल्यमान्यता, मौलिक तौरतरिका सहितका जनजातीय दर्शन तथा कलाकौशल र विगतदेखि वर्तमान र वर्तमानबाट भविष्यसम्मको सामाजिक महत्व तथा औचित्यको मूख्य विशेषताको चिनारी साथै उक्त विषयहरुको सार-सत्यलाई बुझ्न गाह्रो नै हुन्छ । त्यसैले यहाँ विशेषतः साल्पापोखरी र किराँत सुप्तुलुङ-संस्कृतिको सहसम्बन्धमा केही प्रसंगहरु खोतल्न खोजिएको छ ।

भौगोलिकरुपले यो सालपापोखरी सालेवा, दोभाने, भोजपुर-सोलुखुम्बु, खोटाङ् र संखुवासभा जिल्लाहरु को संयुक्त केन्द्रमा पर्ने ऐतिहासिक-साँस्कृतिक र एक सामरिक महत्वको केन्द्रीय गौंडा हो ।

यो ३४४४ मी.(डा.गुरुङ) अग्लो ठाउँ, सिलिचोङ (४१५३मी.) डाँडाकोछेउको दक्षिण-पश्चिममा स्थिती भएर -पोखरीको छेउको अर्को डाडासँग जोडी बनेको ठाउँ, परापूर्वकालमा जब किराँती समुदायहरु वनजंगलमा शिकारी र कन्दमूल खोज्दै घुम्थे, त्यतिवेला आजको जस्तो हवाइजहाज-मोटरबाटो र पूल-पुलेसा नै थिएन, त्यहीगौडा कटेर पूर्व पश्चिम र उत्तर-दक्षिण ओहोरदोहर गर्ने सामरिक महत्वको केन्द्रविन्दु रहेको थियो ।

उक्तकुरा किरात मुन्दुममा माङलुङ र सामेबारे माङ्पाहरु अर्थात होमे-विजुवाहरुले रिसिया फलाक्दा(पुकार्दा) गरिने पद्य्याम्स् पाठबाट पनि बुझ्न सकिन्छ भने त्यस्तै उक्त भौगोलिक सेरोफेरोको ठाउँ/नाउँको आधारमा हेर्दा पनि उक्त तथ्यको पुष्टि गर्न सकिने केही आधार पाँइन्छ ।

जस्तो साम्फेलुङ(साम्पाङ), सावापा(सालपा), लौरेठोक्र, माङ्यूङ्(मैंयू), सावा-हे(साउने), सिलिचोङ(च्वहँ) पा-खाम-वा (पखुवा) आदि जस्ता किराँती विशेषतः राईहरुको मुन्धुम खुवालुङबाट पुकार्दै लगिने रावा-सावा खोला हुँदै महाकुलुङ (सोलुखुम्बु) तथा यता तल्लोखोला क्षेत्रबाट मैंयुँ कटेर, लौरेडाँडामा लौरो विसाई साल्पापोखरीको पानी खाँदै त्यो गौडा छेउछाउको सिकार, कन्दमुल चहारेर यता अरुणफाँटको ओरालो, सालेवा-दोभाने हुँदै तिङ्ला(दिङ्ला) छेउछाउ मझुवा(मझिया)बन्दै खोरिया फाँडी वस्ती वसालेको कुरा उठ्छ ।

मरेको व्यक्तिको रुङ्री(हंस=आत्मा)लाई चा-वा-लुङ=चोँमो-लुङ(सगरमाथा), फाक्ता(सा)-लुङ(कञ्चनजङ्गा) र तावा(या)-लुङ(अन्नपूर्ण/गौरीशंकर) हिमालतिर फर्काउदा पनि त्यही लाम-तुप्ला(मृत्यूलाई बाटो देखाउने) गरिन्छ, जुन हिमालहरूको प्रतिक पनि तिनचूला (सुप्तुलुङ)लाई नै मानिन्छ-किराँत संस्कृतिमा ।

पहिलेपहिले मानव विकासको पूर्वचरणमा आजको जस्तो टोल-गाउँघरमा खानेपानीको नाला-धारो र खेतीपातीको सुरु थिएन, त्यतीवेला जनसंख्या थोरै र जीवन पनि जंगली जनावर झैं नै थियो र वासस्थानको कुरा पनि प्राकृतिक-भौगोलिक अवस्थाकालिनमा पूर्णभर पर्नुपर्ने हुँदा मान्छेलाई चाहिने आधारभूत खाद्यवस्तु शिकार (मासु) फलफूल-सागपात (कन्दमुल) साथै पानी-आगोको आवश्यकता पनि त्यहिबाट हुँने गर्दथ्यो ।

उक्त कुराहरुको पूर्ति गर्न वासको लागि ओडार, ठूलारुख तथा वनजंगल र खानाको लागि पानीको नदी, नाला, खोला तालतलैया तथा पोखरी, सिमसार जस्ता ठाउँमा सबैभन्दा अनुकुल हुने गरी मानवसमुदायले विचरण र जिवन निर्वाह गदर्थे । त्यस्तै आगोको लागि सीँ(यूँ-पथ्थर) र हतियारको लागी बज्रढुंङ्गा र भालाहरूको जगेडा पनि गर्ने गर्दथ्यो । यहि सन्दर्भले नै यो साल्पापोखरीको इतिहाँस पूर्वकिरात संस्कृतिमा विशेष महत्वको भएको छ ।

उक्त पोखरीमा जीवजन्तु पानीखान आउथे र शिकार गर्न पनि सजिलो मौका पाइने र अर्कोकुरा, मान्छेलाई चाहिने पानीको स्रोत हिउँद-वर्खै उपलब्ध, जोडी खोज्न (महिलाहरूको ऋतुकालमा शिकारी पुरुषहरुसँग संन्सर्ग हुने) पनि सामरिक ठाउँ भएको साथै छेउछाउको चट्टानको आडमा वसोवास गरी वा ठूला रुखको फेदमा बसी बच्चा हुर्काउन, त्यहाँबाट चारैतिर डुल्नधुम्न र फिर्न पनि सजिलो भौगोलिक बनावटको ठाउँ भएको हुँदा किराँती पूर्खाहरुले उक्त गौडालाई सिकारी जीवन-केन्द्रको सदरमुकाम(थुम) नै बनाएको पाइन्छ ।

जुनबेला आजको जस्तो राई-लिम्बू, सुनुवार, याक्खा लगायत माँझी, धिमाल-थारु, थकाली, दनुवार, तामाङ, मगर, गुरुङ जस्ता अरु आदीवासी-जनजातिहरू खास छुट्टिसकेको थिएन ।

जब किराँतीहरुले खोरीया फाँडी कविलायुगमा विचरण हुन थाले तवदेखि कोही साल्पापारी र कोही साल्पावारी अलिक तलतिर हिड्नु पर्ने र अन्नवालीहरुः वा-गहुँ, आलु/पिडालु, सुठ्नी, कोदो, मकै र पछि घैयाधान(पाखेखेति) रोप्नथाले तवभने साल्पापोखरी पूर्खासम्झने ठाउँ मात्र बन्दैगयो । घरमै कुकुर, वनेल(बख), कुखुरा र गाईवस्तु-भेडाबाख्रा पाल्न थाले ।

कन्दमुलसँगै सागसब्जी र फलफूल घर-करेसाबारी मै रोप्नथाले तब मानिसहरु जंगलबाट लाखापाखा निस्कदै खोला-अरुण हुँदै गाउँवस्तीमा परिवारको निश्चित बसाई र घरको पारिवारिकसत्ता सुरुहुन थाल्यो त्यही बेलादेखि किराँतीहरुले चुला(सुप्तुलुङ)मा तीनढुङ्गा गाडेर साँस्कृतिक-संस्कारिक विधिमार्फत परिवार, समुदाय, समाज हुदै राजनैतिक जमातसहित नीतिनियम (मान्य-मूल्य) चलाउँदै आएको पाइन्छ ।

यसरी कविलायुगमा संक्रमण हुँदासम्म सालपा-युग मातृवंशीय समाजको हैसियत र हैकममा चलेको पाइन्छ-त्यो सत्तालाई माङ्लुङ भनिन्छ । जुन अवस्थामा किराँती बजू(मुख्य बुढीमान्छे) नै उक्त जमातको हर्ताकर्ता हुने गर्दथ्यो ।

पुरुषहरुले शिकार, महिलाले कन्दमूल खोजी ल्यायो त्यसको वाड्चुढ् बजूले नै गर्दथ्यो भने त्यो बेलामा सन्तानहरु पनि बजू-वंशकै नाता र नामले पुकारिन्थ्यो कारण उक्त बेला यौन मामिलामा निश्चितपुरुष-निश्चितमहिला भन्ने थिएन अतः बच्चा जन्माउने वासन्ती-बहारको बेलामा जोसँग जस्तो संयोग हुन्थ्यो उसैसँग खुल्ला यौनसम्पर्क हुने हुँदा कुन बाउको हैन कुनआमाले जन्मायो भन्ने आधारमै कुन लुङ(हिमाली पानीखाने वतन) ठाउँको बजू-मुलको हो भन्ने आधारमा तय हुनेहुँदा नै माङलुङ(नुङ्)को नाताले वंश छुट्याइने गरिन्थ्यो ।

अझैपनि जनजाति महिलाले आफ्नो लोग्नेलाई छोराछोरीको साइनोको आधारमा फलनाकोबाउ भनेर बोलाउने गर्दछ, त्यो बेला कै कारण-प्रमाण हो जुनबेला प्रायः सवै छोराछोरीका बाउहरू फरकफरक हुन्थे । अहिले पनि राई, लिम्बु, याम्फू, सुनुवार, बीच हाउ लुङ्वा(गा)/लुङ्गा ! भनेर एकार्कालाई तीनपुस्ते मातृबंसीय ऐतिहासिक दाजु-भाइको मानार्थ साइनोले सम्बोधन गरिन्छ । त्यही कारण पहिलेको किराँती बजू गएर विकास भएको ठाउँको आधारमा उच्चारण गरिएको-तेह्रथुमको म्याङ्लुङ-माङ्लुङ हो । तर कालान्तरमा विरालोको ‘म्याउ ! र लुङ’ जोडेको कहानी पाइन्छ ।

यही बेलाको उत्तरार्धमा जब बजूहरुको श्रम र चलायमानता बच्चा तथा परिवारमा सिमीत र केन्द्रितहुँदै गयो साथै केही अर्थमा वंश-समुदायको पहिचानमा पुरुषहरुको विशेष हैसियत नभए पछि उनीहरुले आन्दोनल गरे-चिन्डो (पुरुष-लिङ्गको प्रतिक) ठडाएर । यसरी महिला प्रभुत्वलाई पुरुषले चुनौती दिँदा बजुपक्ष र बाजेपक्षको आन्तरिक संघर्षपछि सम्झौता भएर तुप्ला र चिण्डो(सोलेवा)सँगै समानता-समतामा रहने भए अनुसार सामेत्(राई)/सामुई (लिम्बु)को प्रचलन मानियो । त्यही भएर वैवाहिक सम्बन्धमा किराँती कूलमा सामे खोजिन्छ-सोधिन्छ ।

यसरी सामेमा तुप्ला (माङलुङ) र सोलेवा (पाछा) अर्थात बजू(डिम्मा) र बाजे(शुक्रकिट) बराबर अस्तित्व, हैसियत र अधिकारवालामा समायोजन भयो । पछिभने सोलेवा(पुरुष)ले नै बढी प्रभुत्व जमायो । त्यसको प्रतिक-प्रमाण त यायोख्खाको झण्डामा सोलेवा(भाले)मात्रै देखाइनुले पनि किराँती पनि हिन्दु र अन्य समुदाय झैं पुरुषप्रभुत्वकै हाराहारिमा जाँदैछ भन्ने देखिन्छ ।

यसै प्रसङ्गमा किराँती मिथक अनुसार सामे-संस्कारको प्रचलन हुनभन्दा अगाडी चिण्डोको झण्डा उठाएर पुरुषसत्तावाला किराँतीहरुले महिलासत्ता(तुप्ला=केरापातको टुप्पो)वाला किराँतीहरुलाई लखेटेपछि सम्झौतामा आउँन नमान्ने मूख्यमूख्य महिला(वजू) नेतृत्व-जस्तै युमासाम(पहिलो)-तिब्वत्तिर, कुलङनीबुढी/बुढीखौ(दोस्रो)-महाकुलङ(सोलुखुम्बू)तिर, साल्पामाङ(तेस्रो)-साल्पातिर, मायूङ(चौथो)हरु-मैनामैनी, उदयपुरतिर तथा कोहीलाई चाही पुरुषहरुले मारेर, जाँडरक्सीले मात्दै दशावीसा(दूईसय) गाईवस्तु काटेर(युमासाम कहाँनीमा), रक्तपात-दृष्य देखाउदै भोगलाएर पुरुषसत्ताको पाछा-नारा(छोरावंश) लगाउदै लखेटे ।

यसरी अरुणवरुण सिरानतिर(उत्तर) लखेटिएको सातवैनी बजु (संसारीमाई) नेतृहरुको एकार्कामा वर्षको छ/छमहिनामा भेट हुँने सामरिक महत्वको ठाउँ-केन्द्र पनि यही साल्पालाई लिइन्छ । त्यही कारण आजकल पनि धमिनी-धामी/झ्याँक्रीहरू बर्षको उभौली-उधौलीमा माङ-मन्त्र(मुन्धम) लिँदै-अन्य मानिसहरू पनि त्यही परम्परा र पूर्खा सम्झदै सहभागी हुन्छन ।

यो मिथकमा निकै सत्यता लुकेको कुरा जब बजुसत्ता (माङलुङ)साथका हर्ताकर्ताहरु पुरुषसत्ता (सोलेवा-आतङ्क)को कारण टिक्न नसेकेर हायलकायल भई सत्ता(परिवार-समुदाय) छाडेर सुरक्षा खोज्दै कताकता पुगे वाँकी रहेका महिलाहरूले पनि आतङ्कित भएर ती पुरुषहरूसँग दैनिक व्यवहार र यौन सम्बन्धै राख्न नमाने पछि मानव बंसनै बृद्धि नहुने तथा परिवारिक सम्बन्ध नै पनि तहसनहसको कारण, मानव-सामाजिक नेतृत्वमा संक्रमण छायो र विभिन्न संकट(रोग-व्याधी), हैजा-महामारी-रुढामार्गीः (सेहेँ/काँचोबायु-जागित्रा), संगसँगै आन्तरिक व्यवस्थापन अस्तव्यस्त भएर आपत पर्‍यो, तब प्रायः अगुवा-पुरुषहरू अत्तालिएर स्थानीय सम्झौतामा ल्याउन माङपारे(पछि हाङपारे हुदै हाक्पारे भएको) सङ्गीत रचेर गाए र मारुनी(माङरुने/माङहुने) नाँच्दै फकाए (त्यहिवेलाको किराँती संस्कृतिबाट मारुनी नाँचको प्रचलन सूरु भयो ।)

तर पनि सहज र शान्ति भएन तव वाँकी जानपाहरुसँग सल्लाह गर्दा ‘ती मारिएका-लखेटिएका बजूहरू जागेर-रिसायर यस्तो तल्कुत्तल(दुरगती) भएको’ भनेपछि उक्त लखेटिएका प्रमुख बजुहरुलाई पनि सम्झौतामा ल्याउनलाई भेट्नेठाउँ पनि त्यही साल्पापोखरी नै रहेकोहुँदा उक्त गौंडामा ती सातदिदीवैनी भेटघाट तिव्बततिरबाट अरुण-वरुण सिरान हुँदै र उता भावरप्रवेश (उदयपुर)तिरबाट हिडेर धेरै समय लाग्ने हुँनाले वर्षको दूईपटक(उद्यौली-उभौली)मा मात्रै भेटिने कारण त्यही वाँकि अगुवा धमिनी-झ्याँक्रिनीलाई सांस्कृतिक-गणको दूतकोरुपमा पठाई छलफल चलाई एकापसी सम्झौता हुँदा उक्त बजुहरुले मूख्य रुपमा दुई-तीनवटा सर्तहरू राखेको मानिन्छ ।

एकः पुरुषहरुले आतङ्क मच्चाई माङसत्तामा हस्तक्षेप गरेकोले अब उक्त सत्ताचुला(सुप्तुलुङ)मा नबसी/नराखी डाँडापाखा, वन-खोल्साहरूमै रहने तथा वर्षमा दुईपटक महिला-धाँमीझ्याँक्रि मार्फत साल्पापोखरी थान मै भेटघाट र वार्ता गर्ने । (त्यहिदेखी सन्सारीमाई/बुढीमाई पुजा सुरुभएको मानिँन्छ ।)

दुईः पुरुषहरुले जाँडरक्सीले मातेर उग्ररुपमा आतंक मच्याई अगुवा केही बजूसहित दशावीसा(२००) गाईवस्तु जनावर काटेर रगतपच्छे पार्दे आतंङ्क गरेकाले अब उप्रान्त ती मरेका बजुहरुको सम्झना-भेटमा रक्तबली वा रातोरङ्ग चढाउन नपाइने सर्त पाछावालाहरूले स्वीकार्नु पर्ने । (त्यहि भएर किराँत संस्कारमा सेतो रङलाई शान्ति-सम्झौता र शुभ मानिन्छ ।)

तीनः अन्य बाँकी रहेका समाजमा माङ्(बजु) र पाङ्(बाजे)को विभेद नगरी सूप्तुलुङमा तुप्ला(मात्रीझण्डा) र सोलेवा(पुरुषझण्डा) राखेर कूलपूजा गर्नपर्ने तथा यही चुलामा मात्र बली दिन पाउने ।

(तर अझैपनि कोही राईहरूको कूलमा भने बजुसत्तालाई नै प्रमुख मानेर चुला(सुप्तुलुङ) मै स्वीकारिन्छ, अतः भुँनी(माउ) सुँगुरले बलीदिने चलन कसैकसैमा भने पहिले झैँ छ । यो चलन, सम्झौता हुन अगाडी कै माङ्लुङसत्ताको सिद्धान्त वा तान्त्रिक पुजाको क्रम जो मातृसत्ताकै साँस्कृतिक निरन्तरता हो । त्यसैले आजकल, उक्त सालपापोखरीमा जाँडरक्सी चढाउन र कुनै जनावर बली दिन नपाईने चलन छ, तव त्यहा परेवा, कुखुरा, सुँगुरपाठा चढाए पनि कि जिउँदै त्यही खुल्ला छोडिन्छ कि घरमा बिउपाल्न सुब्यफाब्य(शुभ) हुने भनेर लगिन्छ ।

एउटा अर्को मिथकमा, नाँगा-नाँप्चा(छ) र सुम्निमा-पारुहाङ्गको बारेमा चर्चा चल्दा साल्पालाई साइली किराँती बजु र सिलिचोङलाई किराँती बाजे-पूर्खाको प्रतिक मानिन्छ, जसानुसार अरुनपारी, संखुवासभा-पाँचथर(हाल) सिरानको मेन्छायाङ छेउछाउमा एक किराँती बजु (सुम्निमा) र बाजे(पारुहाँ) पनि रहने गरेको थियो ।

त्यहाँ एक लामा(पुरेत)ले शिवरुप धारणा गरेर ठूलो आँधीबेरी-हुरीवतास चलाई उक्त किराँतीलाई पिँनास लगाएर विमारी पारिदिएको, फेरी उसैले ले नै पुनः किराँती-जानपाको रुपधारण गरी पिनास फुक्दै उक्त ठाउँमा सुब्बे-फाब्बे (राम्रो/शुभ) नहुने भनी पारुहाङलाई त्यहाबाट अर्को ठाउँ खोज्नलाई लखेटी नीज बजूलाई आफ्नोपार्ने दाउ गरेको तर उक्त षडयन्त्र नबुझी पारुहाङ त्यहाबाट अर्को ठाउँ(राज्य) खोज्न सुम्निमासँग सल्लाह गरी छुटेर हिडेको र बाटोमा फर्किदालाई निसाना केरा र वरपिपल रोप्दै चिन्ह छाडेर गएको (त्यही बेलाबाट चौतारीमा बर-पिपल वा केरा रोप्ने चलन बसेको मानिन्छ ।)

तर पछाडी उक्त लामाले त्यो निशान मेट्दै हिडेकोले पछि नयाँठाउँ खोजेर किराँती पारुहाङ फर्केर आउँदा बाटो भुलेर सुम्निमा भएको ठाउँमा पुग्न एकबर्ष लागेको तर उता लामो समयसम्म पनि आफ्नो पुरुष नआउँदा सुम्निमा विरक्तिदै खोज्न अरुणबरुण तरेर भोजपुर दोभानेको साल्पापोखरी(हाल)मा पुग्दा त्यही सेरोफेरोमा सामरिक गौंडा बनाइ शिकार खेली हिड्ने नाग्-पाछा, पुरुषसँग भेट भयो ।

यसरी ५/६महिनासम्म पनि पहिलो(पारुहाङ) नभेटे पछि सृष्टि थाम्न उक्त शिकारी नागासँगै बस्नथालेको, त्यही पोखरीमा केही समय पछि पारुहाङ पनि खोज्दैखोज्दै पुगेको तर उक्त अवस्थामा नागासँग संसर्ग भई जोडी बाधिई सकेकोले साल्पामाङ(सुङ्निमा)ले पुनः ऊसँग नफर्कने भन्दै बरु एउटा कुखुराको सुनौलो भालेचल्ला दिएर ‘लु यही लिएर जानु, यो जहाँ बास्छ त्यही तिम्रो राज्यको सुब्बेफाब्बे हुन्छ !’ भनी बिदा गरेको र त्यसपछि पारुहाङ रामेछाप/दोलखा हुँदै काठमाडौ पाटनको एलाखाम (हालःपाटन)मा पुग्दा भाले बास्यो तब त्यही गाउँमा किराँती सत्ता फैलाई सोलवाको मान्यतामा नै पितृसत्ता प्रमुख हुन थालेको मानिन्छ ।

त्यसैको आधारमा साल्पामा नाग-नागिनी बेरिएको काठको खम्बा पोखरीमा राखिएको छ । त्यो नै साल्पारानी र नागराजाकोे चिन्न हो भनिन्छ र त्यहीबेलादेखि सालपापोखरी र साल्पारानीको प्रसङ्ग जोडेर धेरै कहानीहरू सुरुभएको मानिन्छ ।

यसैले सुप्तुलुङ्मा साल्पापोखरी र किराँत संस्कृतिको सन्दर्भ अन्धपरम्पराको मिथकीय कुहिरोमा केहि रुमलिएको जस्तो लागेपनि तथा यसको उठान हुँदाको तिथीमिति गणितियरुपले किटान गर्न खास सकीनसकिए पनि यी माथिका मिथकीय प्रचलनहरूको मानवशास्त्रीय अध्ययन र विश्लेषणको आधारमा विचार्दा यो पोखरी र यस वरिपरिका मानव-पर्यावरणीय सन्दर्भ एक महत्वपूर्ण ऐतिहासिक तथा आदिवासी किराँत साँस्कृतिक सम्पदा र आदीकालिन नेपाली मानव विकासको प्रथम चरणीय जगआधारित विशेष ऐतिहासिक-भौगोलिक प्रमाण भने स्वतह मान्न सकिन्छ ।

(लेखक ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य हुन्)

    Comment Here!