अहिलेसम्मको पर्यटन प्रबद्र्धन निजी क्षेत्रको हो, सरकारले के गर्‍यो ?

नेपालमा अहिले सरदर आठ लाख पर्यटक भित्रिने गरेका छन् । तर, नेपालका होटल व्यवसायीले भने १६ लाख पर्यटकलाई राख्न सक्ने क्षमता भएको दाबी गर्दै आएका छन् । नेपालमा पर्यटन पूर्वाधारको कमीका कारण र दुई छिमेकी देश भारत र चीनसँगको समन्व्य र पूर्वाधारको विकास नहुँदा नेपाल भित्रिने पर्यटकको संख्या कमी रहेको लामो समयदेखि पर्यटनकै क्षेत्रमा काम गरिरहेका विनायक शाहको भनाई छ ।

विनायक शाह/ होटेल एसोसिएसन नेपाल, महासचिव

होटल एसोसिएसन नेपाल (हान)का महासचिव रहेका शाहसँग पर्यटन प्रबद्र्धनका लागि हानले गरिरहेको काम, नीति निर्माणका क्षेत्रमा भइरहेका गतिविधि, स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि सरकारी र निजी क्षेत्रबीच भइरहेको पहलका विषयमा कुराकानी गरेका छौं ।

होटल एसोसिएसन अफ नेपाल (हान)ले अहिले के गरिरहेको छ ?

–  हान भनेको नेपालका होटलहरुको छाता संगठन हो । देशभरका झण्डै साढे १२ सय होटल हाम्रो संघमा आबद्ध छन् । काठमाडौं बाहेक १३ ठाउँमा हाम्रो शाखा छ । नेपालका प्रमुख गन्तव्यका रुपमा रहेका पोखरा, चितवनलगायतका क्षेत्रमा हाम्रा शाखाहरुले काम गरिरहेका छन् ।

सदस्यहरुको छाता संस्था भएकाले हाम्रो उदेश्य भनेको हामीमा आबद्ध भएका संस्थाहरुको हकहीत र अधिकार रक्षाका लागि काम गर्नु हो । साथसाथै पर्यटन क्षेत्रको समग्र विकास (नीति नियम निर्माणदेखि पर्यटन प्रबद्र्धनसम्मका) गर्नुका साथै होटल उद्योग भनेको विश्वव्यापी उद्योग हो । नेपालका उद्योगमात्र भनेर नेपालको मात्र नीति नियम र स्टेन्डर्डले हुँदैन् विश्व समूदायसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ । होटल सीमित घेरामा बाँधिनु हुँदैन । तीनै होटलको स्तर उन्नती गर्ने काममा हामी सक्रिय छौं ।

पर्यटन प्रबद्र्धनमा हानको भूमिका कस्तो छ ? कसरी गर्दै हुनुहुन्छ ?

– पर्यटन प्रबद्र्धन भनेको धेरै ठूलो आयाम हो । जस्तो उदाहरणका लागि हाम्रा नजिकका छिमेकी भारत र चीन आर्थिक समृद्धिका हिसाबले विश्वका अन्य राष्ट्रको तुलनामा छिटो विकास भइरहेको छ । त्यहाँबाट लाखौ मानिसहरु घुम्न निस्कने गरेका छन् । भारत र चीनलाई मात्र केन्द्रित रहेर पर्यटन प्रबद्र्धन गर्न सक्यौ भने नेपाललाई चाहिने पर्यटक हामी भित्र्याउन सक्छौं । १० लाख, १२ लाख, १५ लाख कति भन्ने हो हामी त्यहाँबाट सजिलै ल्याउन सक्छौं ।

समस्या हाम्रो पूर्वाधार हो । हाम्रो विमानस्थल नै सबैभन्दा सानो भइसक्यो । बाटोघाटोको त कुरै नगरौं, धुवाँ, धुलो, जाम जसका कारण हामी योभन्दा बढी अरु सेवा दिन सक्दैनौं । नेपालका नाका क्षेत्र तातोपानीको चिनियाँ क्षेत्र बाटो एकदम राम्रो छ । तातोपानीमा बाटो बन्दै गरेको भएपनि रसुवा क्षेत्रबाट एकदम सीमित मात्र पर्यटक हामी ल्याउन सक्छौं ।

कुरा रह्यो भारतको । भारतबाट पनि प्रशस्त मात्रमा बाइरोड मान्छे ल्याउन सक्छौं । तर, बाधा केमा त ? फेरि बाटोघाटो । हाम्रो नारायणगढ–मुग्लिन सडकखण्ड ३६ किलोमिटरको बाटो १२ घण्टा लाग्छ । आजदेखि होइन दुई वर्ष भयो । अनि यति थोरै दूरीको बाटो १२ घण्टा लगाएर घुम्नलाई को आउँछ ? परिवार लिएर आउने मान्छे यस्तो जोखिम मोलेर कोही पनि आउँदैन ।

दोस्रो हाम्रो नाकाहरु राजा महेन्द्रका पालामा बनेका छन् । विराटनगर, विरगन्ज, नेपालगन्ज जुन भनेपनि नेपाल र भारतको सीमा क्षेत्रका नाका छन् ती सबै मालसामान ओसारप्रसारका लागि मात्र तयार भएका हुन् । इमिग्रेसन राखेर पर्यटक ल्याउनलाई भनेर तयार पारिएका हैनन् । २० सालमा बनेको संरचना आज पनि त्यही छ । त्यसलाई समय अनुसार परिवर्तन गरिनुपर्छकी पदैन ? त्यहाँबाट आउने व्यक्तिले राम्ररी बसेर एउटा फारम पनि भर्न पाउँदैन ।

यस्ता सानातिना समस्याको समाधान गर्न सकियो भने हामीले भारत र चीनबाट जतिपनि पर्यटक भित्र्याउन सकिन्छ । यो हाम्रो निजी क्षेत्रले गर्ने कुरा भएन दुई राज्यबीचको नीतिगत कुरा यो सरकारी क्षेत्रको जिम्मेवारी भित्रको कुरा हो । राज्यले आफ्नो जिम्मेवारी पूरा गरिराखेको छैन ।

यो समस्या समाधानका लागि सरकारी पक्षलाई जिम्मेवारी बोध गराउन हानले के गरिरहेको छ ?

– हामी लगातार यही काममा लागेका छौं । सोमबार मात्र प्रमुख तीन दलका शीर्ष नेता तथा दलका पर्यटन विभाग हेर्ने नेताहरुलाई बोलाएर एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्दैछौं । त्यहाँ हामी पर्यटन प्रबद्र्धनको काम दलको चुनावी घोषणा पत्रमा राख्नेगरीको छलफल गर्नेछौं ।

अहिले तपाईंलाई भनेकै कुरा उहाँहरु समक्ष राख्ने हो । समस्या यो छ यसको समाधान तपाईंहरुको हातमा छ । यदि भयो भने देशको कायापलट हुनसक्छ भन्ने हो । हामीले खबरदारी गर्ने हो । गर्ने नगर्ने जिम्मा उहाँहरुकै हातमा छ ।
तर, अहिलेको अवस्था हेर्दा यस्ता कुरामा प्रगति सारै थोर छ । हरेक छ महिनामा सरकार परिवर्तन हुन्छ । सरकार परिवर्तनसँगै मन्त्रालयका सचिव, कर्मचारी परिवर्तन हुन्छन् ।

पर्यटन प्रबद्र्धनमा निजी क्षेत्रले सरकारको कमजोरी भन्ने सरकारले निजी क्षेत्रको समस्या कहाँ नेर हो ?

– तपाईंहरुले आफैं पनि बुझ्नुहोस् । म होटल क्षेत्रको मात्र कुरा गर्छु । खर्बौ लगानी भएको छ । लाखौं मानिसलाई रोजगारी सिर्जना भएको छ । अरबौ रुपैयाँको विदेशी मुद्रा भित्र्याएका छौं । तर, सरकारले के गरेको छ ? सरकारको कुनै एउटा निकाय देखाउनुहोस जसले यो काममा साथ दिएको छ । नेपालमा भएको पर्यटन क्षेत्रको प्रबद्र्धन शत प्रतिसत निजी क्षेत्रको लगानी व्यवस्थापन र अग्रसरतामा भएको हो कि हैन ? त्यो तपाईं आफैंले मूल्यांकन गर्नुहोस् । रवीभवनमा ‘न्याथम’ होटल व्यवस्थापन पढाई हुने कलेज खोल्नुबाहेक सरकारले गरेको एउटा काम मलाई भन्दिनुस त ।

सरकारले पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग भनेर घोषणा गरेको छ । व्यवहारिक रुपमा के भएको छ त ? हामी प्राथमिकता प्राप्त उद्योग हौत ? मेरो छिमेकीले घरमा निजी प्रयोजनका लागि बालेको बिजुली र मैले व्यवसायीक प्रयोजनका लागि प्रयोग गरेको बिजुलीको बिल प्रणाली उही छ । उसले महिनामा बढीमा सय यूनिट बिजुली बाल्छ, म १० हजार यूनिट बाल्छु । हामी दुई एकै क्याटोकोरिका हौं त ? अन्य उद्योग तपाई आफैं बुझ्नुहोस कुनै छाला उद्योग, कपडा उद्योग, जुत्ता चप्पल उद्योग उनीहरुको जस्तो व्यवस्था एउटा पाँच तारे होटलका लागि छ त ? यो सानो उदाहरण मात्र दिएको मैले । अरुले उद्योग देखाएर तीन रुपैयाँ प्रति यूनिट तिर्छन हामीलाई सरकारले १२ रुपैयाँ लिन्छ । कुरा र भाषण गर्न त जसले जति पनि सक्छ म पनि सक्छु तर, हामीलाई व्यवहारिक र नीतिगत स्पष्टता चाहिन्छ । भाषणमा भनेको भरमा व्यवसाय चल्दैन ।

हामीले सन २०२० लाई लक्षित गरेर अन्तर्राष्ट्रियस्तरका चार हजार रुप थप्ने योजना बनाएर काम गरिरहेका छौं । यो संख्या थोर होइन चार हजार । औसतमा फाइभस्टार होटलका लागि एउटा रुम तयार गर्न एक करोड रुपैयाँ लाग्छ । हामीले राखेको तथ्यांक अनुसार अहिलेसम्म वर्षमा आठ लाख तीन हजार सम्म पर्यटक आएको रेकर्ड छ । तर, हामीसँग १६ लाख पर्यटक राख्न सक्ने क्षमता छ । यसरी ५० प्रतिशत हाम्रो क्षमता प्रयोग नै भएको छैन । यस्तो अवस्थामा सरकारले के गर्‍यो त ?

    Comment Here!