सात दिने भिषामा विदेश गएका कार्की २२ होटेलको मेनेजर

देबेन्द्र कार्की

धरानः सुनसरी बराह नगरपालिका ९ प्रकाशपुरका २८ वर्षका श्याम कार्की सामान्य परिवारका मान्छे हुन । सुनसरी टेक्निेकल कलेज धरानमा एसएली पास गरी सिभिल इन्जिनियरीङ अध्ययन गरेर जागिर खान उनी काठमाण्डौ छिरे । तर भनेजस्तो जागिर पाएनन ।

विदेशमा होटल लाईनमा काम राम्रो पाईन्छ भनेर सिंगापुरको सपना देखेर उनी काठमाण्डौमा ह्वाइट हाउसबाट २०५७ सालमा होटल म्यानेजमेन्टबाट डिप्लोमा गरे । साथीहरुको लहै लहैमा २०६९ मा सात दिनको भिषा लगाएर उनी सिंगापुर गए । वेटरमा काम गर्न गएका कार्कीले काम पाएनन ।

त्यहीबाट उनी मलेसिया छिरे । एक बर्षसम्म त्यहाँको होटल सनवे पुत्रा र सेराटन होटलमा वेटरको काम गरे ।

त्यस पछि २०६९ को अन्तिममा उनले चीनका तीन तीन दाजुभाइले खोलेको ग्राण्ड इन्टरनेसनल होलटमा पार्टटाइम वेटरको काम पाए । त्यति बेलासम्म उनले मलेसियाको वातवरण बुझि सकेका थिए ।

मालिकको राम्रो सेवा गर्दा भाग्य चम्कियो

नम्र स्वभाव, बोल्न फरवाड, ग्राहकहरु प्रति सधैँ बफादार कार्की पार्टटाइम वेटरको रुपमा ग्राण्ड होटल छिरेपछि भने उनले भाग्य चम्कियो ।

दुइ हप्ता मात्र वेटरको काम गरेका थिए । ग्राहकका रुपमा मालिक होटलमा आए । उनले आफ्नै मालिकलाई सर्भिज गर्ने मौका पाए । मालिक भनेर थाहा दिएन उनलाई निकै बेर गफ पनि गरे ।

ग्राहकसँगको डिल गर्ने शैलि, उनको कामप्रतिको लगाव देखेर कार्यालयमा उनलाई बोलावट भयो । उनी के काम बिगारियो र अव जागिर जाने होकी भन्दै कार्यालय गए ।

उनको लागि वेटरको सुपरभाईजारको पत्र थमाई दिए । त्यो पोष्टमा उनले चार महिना मात्र सेवा गरे । त्यहाँ पनि उनले उत्कृष्टता प्रर्दशन गरे । त्यस पछि सबै विभागमा हेर्न उनलाई नो अव्जेक्सन लेटर दिइयो ।

  • नेपालमा सडकमा भएको धुलो, धुवा र फोहोरका कारण अन्तर्राष्टिय एयरपोटबाट नेपाल प्रवेश गर्ने वित्तिकै पर्यटकहरुले नाक खुम्चाउछन् ।

फ्रन्ट अफिस, किचेन, सबै ठाँउको अध्ययन गर्ने मौका पाए । उनले फ्रन्ट अफिसमा एक बर्ष समय दिएर काम गरे । त्यस पछि उनले होटलको मेनेजरमा नियुक्ती पाए । एक बर्ष काम गरे पछि होटलको हेडक्याटरमा उनलाई होटेलको जेनेरल मेनेजरको काम दिइयो । त्यो कामबाट पनि होटेल मालिकको मन जित्न सफल कार्की मलेसिया र सिंगापुरमा सञ्चालित १४ वटा होटलहरुको व्यवस्थापन हेर्ने ग्रुप मेनेजर भए ।

सात दिनको भिषामा विदेश छिरेका मजदुर साढे दुई वर्षको अन्तरालमा दुई देशमा भएका होटलहरुको ग्रुप मेनेजर हुनु चानचुने कुरा होईन । बिदा मनाउन घर आएका कार्कीले निक्कै खुसी मुद्रामा आफ्नो प्रगतिको कथा सुनाउँदै भने–‘कामप्रति मेरो लगाव र होटेल मालिकहरुको विश्वास जित्न सफल भएपछि मैले यति थोरै समयमा आफैंले कल्पना नै गर्न नसकेको सफलता पाएँ । इमान्दार भएर काम गरे सफलता त्यत्ति टाढा रहेनछ ।’

उनले अहिले चीन, सिंगापुर, मलेसियामा भएका २२ वटा होटलहरुको निगरानी गर्ने जिम्मा पाएका छन् । होटेलका शाखाहरु नेपालको लुम्विनी र भुटानमा पनि खोल्ने तयारी भईरहेको छ । पाँचवटा मुलुकमा कम्पनिले ६२ वटा संचालनमा ल्याएको उनले बताए ।

उनका अनुसार चिनियाँ तीन दाजुुभाईले खोलेको होटलका पहिलो पुस्ताका मालिकहरु पनि सामान्य परिवारका थिए । चीनमा रिक्सा तानेर केही पैसा जम्मा गरी उनीहरु काम गर्न मलेसिया छिरेका थिए । उनीहरुको अहिले मृत्यु भईसकेको छ । छोराहरुले संचालन गरिरहेका छन् । रोर्वट, इटि र इएस तानले होटल स्थापना गरेका हुन ।

प्रत्येक होटलमा मेनेजर हुन्छ ती मेनेजरले बनाएको रिपोर्ट चेक गर्ने र होटललाई कसरी गुणस्तर राम्रो बनाउने विषयमा उनले परामर्श दिन्छन् । उनले उक्त होलटमा सेवा गरेको पाँच बर्ष मात्र भएको छ । कार्कीले अहिले आफ्नै लगानीमा मलेसिया र सिंगापुरमा टाभल्स टुर पनि खोलेका छन् । उनले नेपालबाट जाने पर्यटकहरुलाई मलेसिया र सिंगापुर घुमाउने काम पनि गर्छन् । द एराईज टाभल्स मार्फत उनले नेपाल घुम्ने पर्यटक पनि पठाउँदै आएका छन् ।

नेपालको हालत देखेर पर्यटकले बस्ने समय छोट्याए

नेपालमा सडकमा भएको धुलो धुवा र फोहोरका कारण अन्तर्राष्टिय एयरपोटबाट नेपाल प्रवेश गर्ने वित्तिकै पर्यटकहरुले नाक खुम्चाउछन् । पुरै नेपाल घुम्ने योजन बनाएर आएका पर्यटक पनि एक हप्ता काठमाडौं बसेर फेरि फर्कने गरेको तीतो यथार्तता सुनाउँदै उनले नेपालमा पर्यटक प्रबद्र्धनका क्षेत्रमा सुधार गर्नुपर्ने सुझाव दिए । उनले भने–‘नेपालमा घुम्ने अथाह स्थान भएपनि विदेशीलाई लक्षित गर्दै त्यसको प्रबद्र्धन गर्न धेरै बाँकी छ । अब पर्यटनकै क्षेत्रमा धेरै लगानी गर्ने हो भने राम्रो आम्दानीको स्रोत पर्यटन नै हुनसक्छ ।’

नेपालमा अन्तर्राष्ट्रिय मान्यताको होटेल खोल्छु

नेपालका होटेलबारे पनि राम्रो अध्ययन गरेका कार्कीले नेपालमा अन्तर्राष्टिय स्तरको होटलका रुपमा हायत, सोल्टी, द्धारिका र साग्रीला मात्र रहेको बताए । अबको दुई चार वर्षमा होटेलका क्षेत्रमा गरेको अनुभव र त्यसबाट सिकेको पाठलाई नेपालमा उतार्ने योजना बनाएका कार्कीले नेपाल मै अन्तर्राष्ट्रिय स्तरको होटेल खोलेर धेरै विदेशी पर्यटकलाई नेपालको आकर्षण बारे जानकारी गराउने कार्कीको योजना छ ।

उनले अहिले सिंगापुर र मलेसियामा भएको आफ्नो टाभल्स मार्फत नेपालका पूर्वी क्षेत्रमा पर्यटक भित्र्याउनका लागि पहल गरिरहेका छन् ।

अहिले प्रचारको अभावमा चितवनको सौराहा बाहेक पूर्वी क्षेत्रमा विदेशी पर्यटक नआएको उल्लेख गर्दै कार्कीले पूर्वका पर्यटकीय क्षेत्रको प्रचार गर्न र धेरै भन्दा धेरै पर्यटक भित्र्याउन पहल गर्ने कार्कीले बताएका छन् ।

श्याम कार्कीसँग गरिएको कुराकानीमा आधारित

    Comment Here!