नेपालीमा घुमघामको संस्कार बढ्दै

कमल राना

काठमाडौं । केही दशक अघिसम्म नेपालीहरुमा तिर्थ यात्रामा जाने बाहेक प्राकृतिक सौन्दर्यताले भरिएका स्थान घुम्न जाने खासै चलन थिएन । तर अहिले समयले कोल्टे फेरेको छ ।

सडक यातायातको विस्तार र विकाससँगै नेपालीहरुमा घुम्न जाने सोचको विकासले आन्तरिक पर्यटन दिनप्रति दिन बढ्दै गएको देखिन्छ । कुनै समय थियो, धार्मिक महत्वका स्थलहरुको दर्शनका लागि हाम्रा बाउ, बाजेहरु महिनौँ हिँडेर तिर्थ यात्रामा जाने । धर्म कमाउनकै लागि तिर्थ यात्रामा जाने सोच अहिले पर्यटनमा बदलिएको छ ।

त्यसो त अहिले पनि धार्मिकस्थलहरुको दर्शनका लागि ठूलै संख्यामा मानिसहरु जाने गर्छन् । त्यसरी तिर्थ यात्रामा जानेमा उमेर ढल्किदै गएका जेष्ठ नागरिकको बाहुल्यता छ । धार्मिक स्थलको दर्शन तथा अवलोकनका लागि जाने युवा पुस्ताको पनि कमी भने छैन । तर उनीहरुमा धर्म कमाउने, आफ्नो मनोकांक्षा पुरा होस् भन्ने धार्मिक मान्यतासँगै त्यस ठाउँको प्राकृतिक सौन्दर्यता तथा पर्यटकीय महत्वका विषयमा पनि चासो हुने गरेको छ ।

पर्यटनका सम्भावनाहरुलाई जोडेर पछिल्लो पुस्ताले नेपालका विभिन्न स्थानको भ्रमण गर्न थालेका छन् । यसबाट आन्तरिक पर्यटनले विस्तारै गति लिन थालेको आभास मिलेको छ ।

विदेशी मात्रै पर्यटक हुन् भन्ने मान्यता र सोचाईंबाट विस्तारै नेपाली पर्यटन फराकिलो बन्दै गएको छ । देश भित्रैका नेपाली पनि पर्यटक हुन सक्छन् र यसले देशको पर्यटन व्यवसायलाई दीर्घकालिन रुपमा अगाडि बढाउन महत्वपूर्ण योगदान गर्न सक्छ भन्ने कुराको बुझाइ विस्तारै बढ्दै गएको छ ।

नेपालको पर्यटन क्षेत्रमा हिमाल आरोहण र पद यात्रा महत्वपूर्ण पाटो हो । यद्यपि, हिमाल आरोहण अझैसम्म धेरै नेपालीको पहुँच भन्दा बाहिरको क्षेत्र हो । हिमाल आरोहणमा महत्वपूर्ण सहयोगी भूमिका निर्वाह गर्ने शेर्पाबाहेक अन्य नेपालीले हिमालको फेदसम्म पुग्न पनि ठूलै सकस व्यहोर्नु पर्ने अवस्था छ । पद यात्राका लागि पनि पहिचान गरिएका र सञ्चालनमा रहेका अधिकांश स्थान उच्च पहाडी र हिमाली क्षेत्रमै पर्छन् ।

त्यसैले पनि यी क्षेत्रमा धेरै नेपालीको अझैसम्म पहुँच पुग्न सकेको छैन । अन्य क्षेत्रको कुरा गर्ने हो भने सडक सञ्जाल विस्तारसँगै घुम्न जानेको भिड बढ्दै गएको देखिन्छ । चाडबाडमा हुने विदा तथा अन्य समयमा हुने विदाको सदुपयोग घुम्फिर गरेर गर्न थालिएको छ । दशैँ, तिहारका समय घुम्न जानेको संख्या बढ्दै गएको छ । यसरी घुम्न जानेको संख्या सडक यातायातको सुविधा भएको क्षेत्रमा बढी देखिन्छ ।

आन्तरिक पर्यटकका रुपमा रहेका नेपालीहरुको रोजाइमा पछिल्लो समय मनाङ, मुस्ताङ, रारा ताल, इलाम, पोखरा र सौराह पर्ने गरेको छ । हिमाली क्षेत्रमा मनाङ, मुस्ताङ र मुगुको रारा तालसम्म धेरै नेपालीको घुम्फिर गर्ने पहुँच पुगेको छ । यसरी त्यहाँसम्म पुग्न सहज हुनुमा सडक सञ्जाल विस्तारको महत्वपूर्ण योगदान हो । हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङले विदेशी पर्यटकलाई जसरी तानेको छ त्यसैगरी पछिल्लो समय आन्तरिक पर्यटकलाई पनि तान्न थालेको छ ।

मनाङ, मुस्ताङको यात्रामा निस्कने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा चार धाम मध्येको मुक्तिनाथ धाम मुस्ताङमा रहेको हुँदा धार्मिक पर्यटकलाई पनि मुस्ताङले तानेको देखिन्छ ।

पूर्वी पहाडी जिल्ला इलाम पनि सडक सञ्जालकै कारण सुगम पर्यटकीय पहाडी जिल्ला बनेको छ । इलामको श्री अन्तुबाट देखिने सूर्योदयको दृष्य, कन्यामको चिया बगान, माइपोखरी, चिसो हावापानी, उत्तर तर्फ देखिने हिमाली श्रृंखलाका साथै इलामका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै लगेको छ ।

पर्यटकीय नगरी पोखरा र चितवनको सौराह आफैमा स्वदेशी तथा विदेशी पर्यटकका लागि लामो समयदेखि परिचित नाम हो । पर्यटनका लागि प्रचुर सम्भावना बोकेका यस्ता क्षेत्रहरुमा अझै पनि सबै नेपालीको पहुँच भने पुग्न सकेको छैन । अहिले जेजति आन्तरिक पर्यटकका रुपमा देखिएका छन् तिनीहरु मध्ये अधिकांश सहरी क्षेत्रका बासिन्दा हुन् ।

सहरको कोलाहाल, कामको बोझ भूल्दै अवालेकन र रमाइलोका लागि घुम्न जानेको संख्यामा वृद्धि भएपनि सबै नेपालीमा घुम्फिरको चाहना जगाउन सकिएको छैन । गाउँघरका मानिसहरु सहर घुम्न आउने जाने गर्छन् । त्यसबाहेक तिर्थ यात्रामा जाने गर्छन् । तर घुम्नकै लागि भनेर निस्कने परिपाटी बसी सकेको छैन ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै लैजाने र यस क्षेत्रमा लगानीको वातावरण सुरक्षित गर्ने हो भने आन्तरिक पर्यटनले पनि मुलुकुको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने देखिन्छ ।

    Comment Here!