सौराहालाई जित्ने ठाउँ बन्छ सिमरा

इच्छाबहादुर वाग्ले एक होटेल व्यवसायी हुन् । बाराको सिमरामा होटेल इच्छा सञ्चालन गरेर बसेका वाग्लेले सरकारी पक्षले निजी क्षेत्रलाई लगानी मैत्री वातावरण नबनाएपनि निजी क्षेत्र कमजोर नरहेको दाबी गर्छन । लामो समयदेखि होटेल व्यवसाय गर्दै आएका वाग्ले प्रजातान्त्रिक आन्दोलनका एक सिपाही पनि हुन् । अब हुने निर्वाचनमा पनि संसदका लागि सिफारिसमा परेका एक उम्मेद्वार पनि हुन् ।

दुई नम्बर प्रदेशलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नेगरी काम गरिरहेका वाग्लेले अहिलेसम्म कर्पोरेट रुपमा होटेल चलाएपनि अब पर्यटकीय गतिविधिकासाथ काम गर्ने योजना बनाएका छन् ।

यसै विषयमा वाग्लेसँग टेलिफोन सम्पर्क गरी बारा सिमराको पर्यटकीय गतिविधि र सम्भाव्यताका विषयमा कुराकानी गरेका छौं ।

इच्छाबहादुर वाग्ले/प्रबन्ध निर्देशक/होटेल इच्छा सिमरा बारा ।

बारा सिमरा क्षेत्रमा पर्यटकीय गतिविधि कसरी अघि बढिरहेको छ ?

– पहिलो कुरा यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने पक्का नै भयो । निजगढ विमानस्थल सिमरा मै पर्ने हो । जसका कारण आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्छ भन्ने छ । बढिरहेको पनि छ ।

दोस्रो काठमाडौंबाट तराई झर्ने छोटो दूरीको माग जुन छ । फास्ट ट्रयाक जहाँबाट एक घण्टामा तराई आइपुग्ने गुरुयोजनासहित काम अघि बढिरहेको छ । त्यो पनि आएर ठोकिने यहीँ नै हो । जसका कारण पनि बारा सिमरा क्षेत्र आउनेको संख्या हिजोको तुलनामा आज बढेकै छ ।

तेस्रो भारतबाट प्रवेश गर्नेद्वारका रुपमा रहेको रक्सौल नाका नेपालका लागि सबैभन्दा ठूलो नाका हो । यो नाकाले पनि यस क्षेत्रमा आउने पर्यटकको संख्या बढाएको छ ।

अर्को महत्वपूर्ण कुरा पर्सा वन्यजन्तु आरक्ष जुन थियो अहिले यो निकुञ्जमा परिणत भएको छ । निकुञ्जका रुपमा परिवर्तन भएपछि यहाँ घुम्न आउनेको संख्या बढेको छ । साना तिना होटल खुल्ने क्रम बढेको छ । ठूला लगानीकर्ताहरुले पनि होटलमा लगानी बढाएका छन् । मैले पनि यो इच्छा होटेलका क्षमता बढाएर यसलाई व्यवस्थित गराउनेगरी काम गरिरहेको छु ।

अर्को प्रसिद्ध गढिमाईको मन्दिर नेपाल र भारतमा बढी प्रसिद्ध छ । यो मन्दिर पनि यही क्षेत्रमा पर्छ । जसका कारण बारा, सिमरा आउने धार्मिक पर्यटकको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । यहाँबाट नजिकै जानकी मन्दिर पनि छ । जसका कारण छिमेकी राष्ट्रका पर्यटकलाई यहाँ भित्र्याउनका लागि सहज पनि छ । प्रयास पनि गरिरहेका छौं । संख्या बढ्दो र सन्तोषजनक अवस्थामा छ ।

त्यसैले हामीले व्यवसायिक रुपमा होटेल खोलेको हो । यस होटललाई अझै व्यस्थित बनाएर प्याकेजका रुपमा, जंगल सफारीका रुपमा लगानी बढाएर पर्यटकलाई खुसी बनाउने र आउनेको संख्या बढाउनेगरी काम गरिरहेका छौं ।

० पर्यटन प्रबद्र्धनका लागि राज्य, निजी क्षेत्र र स्थानीय तहबाट कस्ता प्रयास भइरहेका छन् ?

– सबैले मिलेर काम गरिरहेको अवस्था छ । दुई नम्बर प्रदेश पर्यटन समिति गठन भएको छ । सिमरामा पनि पर्यटन विकास समिति गठन भएको छ । स्थानीय तहले पनि पर्यटकीय गतिविधि अघि बढाउने योजनाहरु ल्याएको छ । भर्खरै निर्वाचन सकिएको छ केही योजना बन्दै गरेका छन् जसले पर्यटनलाई प्राथमिकताका साथ उठाउँछ । यस विषयमा हामीसँग पनि छलफल भइरहेको अवस्था छ ।

अर्को पर्यटन बोर्ड, विभाग तथा मन्त्रालयगत तहबाट पनि पर्यटकीय गतिविधि बढाउनका लागि आवश्यक काम भइरहेका छन् । बजेट विगतको तुलनामा पर्यटनका क्षेत्रमा बढेको छ । यत्ति बढ्यो भन्ने थाहा नभएपनि पहिलेभन्दा बढी छ । सरकारी निकायले छिटो र चुस्त तरिकामा काम नगरेपनि विस्तारैको गतिमा काम अघि बढाएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । यसरी सबै क्षेत्रको गतिविधिलाई हेर्दा यहाँ बारा सिमरा क्षेत्र, समग्रमा दुई नम्बर प्रदेशको क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिन्छ भनेर हामी लागेका छौं ।

अर्को महत्वपूर्ण कुरा हामीले प्रचार गर्नुपर्ने सिमरा पर्यटकका लागि एक सुरक्षित स्थान हो । नजिकै रहेको सौराहा मैले थाहा पाएसम्म दुई पटक डुबानमा प¥यो । यो प्राकृतिक प्रकोप हो । तर, यस्तो खतरा यहाँ हुँदैन । पर्यटकलाई जोगाउन हम्मे हम्मे पर्ने अवस्था हामीकहाँ छैन् । त्यसैले ढुक्क भएर यहाँ आउनेहरु बस्न पाउँछन् । त्यसैले पनि हामीले दोस्रो सौराहाका रुपमा यहाँ विकास गर्न लागेका छौं । सौराहामा उपलब्ध सबै सुविधा नभएपछि धेरै सुविधा उपलब्ध गराउने गरी काम थालिएको अवस्था छ ।

अघि मैले भनेजस्तै अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट्रट्रयाक बनेपछि यहाँ आउनेको संख्या त शतप्रतिशतभन्दा धेरै बढेर आउँछ ।

० चुनौती के के छन् त ?

– हेर्नुहोस चुनौती विनाको कुनै ठाउँ छैन् । त्यसमा पनि निजी क्षेत्रबाट काम गर्नका लागि धेरै गाह्रो छ । कर्मचारीहरु करप्टेट छन् । भनेको समयमा काम गर्दैनन् । सरकारले त निजी क्षेत्रलाई काम गर्ने वातावरण नै दिएको छैन् । यद्यपी हामी काम गरिरहेका छौं । यी चुनौती नै हाम्रा लागि मार्गदर्शन हुन् । हामीले लामो समयभयो यस क्षेत्रमा लागेको । धेरै पाठ सिकियो पनि । चुनौतीले पनि धेरै सिकायो । गर्दैछौं, हुँदैछ, भनेजस्तो नभएपनि सुस्त गतिमा काम अघि बढेकै छ ।

० कस्ता पर्यटकको संख्या बढी छ ?

– नेपालीलाई घुम्नुपर्छ भन्ने संस्कारको विकास गराउन अलि समय लाग्ला । यहाँ आउने अधिकांश धार्मिक पर्यटककै रुपमा छन् । केही मनोरञ्जनका लागि आउने गर्छन । भारतीय पर्यटक नै यस क्षेत्रमा अलि बढि आउने गर्छन । अब निकुञ्ज, विमानस्थल र फास्टट्रयाकपछि अन्यदेशका नागरिक पनि आउनेमा हामी आशावादी छौं ।

० लगानी गर्ने वातावरण भएन भनेर धेरै व्यवसायी निरास छन् ।

– त्यो सही हो । तर, निरास भएर हैन हौसलाले नै काम गर्नुपर्छ । यहाँ लगानी डुब्नेभन्ने जस्तो अवस्था त छैन् । जसोतसो हामीले हाम्रो व्यवसाय चलाएका छौं । अझै आवश्यकता बढेको छ । अब इच्छाजस्तै तीन वटा होटेल थपियो भने पनि राम्ररी चल्नसक्छ । काम गर्न गाह्रो छ, तर पनि गरिरहेपछि कसो नहोला ?

    Comment Here!