आर्थिक अभावले अलपत्र पर्दैछ सप्तरंगी पार्क

धरानः पर्यटन प्रबद्र्धनको मुख्य लक्ष्य बनाएर निर्माण थालिएको धरानको सप्तरंगी पार्क निर्माणाधीन अवस्था मै अलपत्र छ । आर्थिक अभावका कारण पार्कलाई सोचेजस्तो गति दिन नसकिएको धरान उपमहानगरपालिकाले बताउँदै आएको छ ।

तत्कालीन धरान नगरपालिकाले आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्नका लागि फोक्लेन टापु क्षेत्रको करि ७० विघा जमिनमा पार्क निर्माण गर्ने गरी काम थालेको थियो ।

पार्कको अधिकांश ठाउँमा वृक्षारोपण गरी १३ विघाको क्षेत्रफल परिसरमा टिकट घर, पिकनिक सेट, बगैंचा, पुस्तकालय तथा विभिन्न खेलकुद र संग्रहालयका रुपमा विकास गरिएको थियो ।

तत्कालीन अवस्थामा संस्कृतिविद सोम खतिवडाले एक अवधारणापत्र तयार पारी अन्तरधार्मिक र अन्तरजातीय सांस्कृतिक सहिष्णुताको प्रतीकका रुपमा पार्कलाई विकास गराउने निर्णय गराएका थिए । सोही अनुसार काम निर्माण सुरु भएको थियो ।

पार्क बनाउन अहिलेसम्म तीन करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर, त्यसको पूर्ण सदूपयोग हुन नसक्दा निर्माणाधीन संरचना जीर्ण बनेका छन् भने उपमहानगरपालिकाले पार्कका लागि बजेट छुट्याउन नसक्दा निर्माणले कुनै गति लिन सकेको छैन ।

उपमहानगरपालिकाले निजी क्षेत्रलाई पार्क लिजमा दिने गरी योजना बनाए पनि राम्रो लगानीकर्ताको अभावका कारण प्रक्रिया अघि बढ्न नसकेको उपमहानगरमा कार्यरत कर्मचारीहरुले बताएका छन् ।

    Comment Here!