कृत्तिम खुट्टाले सगरमाथामा झण्डा फहराउने हरीको शाहस

छेटु शेर्पा
काठमाडौंः दुवै खुट्टा नभएका हरी बुढामगर घिस्रेर हिँडेको देख्दा जो कसैले प्रश्न गर्छन्, कसरी हिमाल चढ्लान् ? घुँडादेखि तल उनको दुइटै खुट्टा छैनन् । कृतिम खुट्टाको साहाराले हिड्डुल गर्छन, भन्छन्, सहयोगीको खाँचो पर्दैन । तर उनी यस आउने बसन्त ऋतुमा सर्वोच्च शिखर चुम्ने लक्ष्यमा छन् । ओठ लोपार्दे नपत्याउनेहरु उत्तिकै छन, तर उनी नपत्याउने काम गर्न पाँच बर्ष यतादेखि निरन्तर लागि परेका छन् ।

जेवारी रोल्पामा जन्मिएका ३८ वर्षका हरी बुढा मगर हिजोआज सगरमाथा चुचुरो चुम्ने लक्ष्यमा दिनरात तयारीमा छन् । दुई हजार पाँच सय मीटर उचाइको थापाखोरको बर्खेगोठमा जन्मिएर बाल्यकाल बिताएका उनलाई हाइट पचाउन खासै समस्या छैन । वाल्यकालमा नजिकै देखेका हिमाल उनलाई सानैदेखि पुग्ने कौतुहलता थियो नै । उनी जसरी पनि शिखर पुगेरै छाड्ने पक्षमा छन् ।

अमेरिकन एक कम्पनीले हिड्न र हिमाल चड्न मिल्ने कृतिम खुट्टा सहयोग गर्‍यो । उनको साहसलाई प्राबिधिक र बैज्ञानिक पक्षलाई ध्यानदिएर बनाइएको खुट्टानै अर्को प्रेरणा बन्यो । यसरी म शिखर पुग्ने लक्ष्यमा छु उनले भने ।

रोल्पाको विकट गाउँमा सामान्य परिवारमा हुर्किएका उनी जेनतेन एसएलसीसम्मको अध्ययन पुरा गरेका छन् । ११ बर्षकै उमेरमा वुवाले विवाह गरी दिएपछि उनलाई चुनौती झन थपिएको थियो । तीन दाजुभाई मध्ये हरी माइला हुन । कामको शिलशिलामा भारत पुगेका बुवालाई बाजेले फर्काएपछि जसरी पनि एक छोरा लाहुरे बनाउने उनका बुबाको लक्ष्य थियो ।

विसं २०५६ मा वेलायत सेना छनौट गर्ने (गल्ला) लाई तत्कालिन विद्रोही पार्टी माओवादीले अपहरण गरेपछि पुनः छनौट गर्दा उनी मात्र सफल हुनु भाग्यमानी त देखिए तर माओवादीले दिएको तनावले अभिभावकलाइै सारै हैरानी पनि भयो ।

रोल्पा लिवाङको वालकल्याण उच्चमाविमा प्रमाणपत्र तह अध्यनका क्रममा उनी विसं २०५६ मा एकाएक वेलायत गोरखा शैनिकमा भर्ती भए । उनी पहिलो गोरखा राइफलमा कार्यरत रहँदा २०६७ सालमा तालिवान र अलकायदा पक्षले गस्तीकै क्रममा बम प्रहार गर्‍यो त्यतिबेला उनका दुवै खुट्टा गुमे । २०७१ देखि सेनाबाट अवकाश भएसँगै चार बर्ष पुर्नजीवनका सीपहरु सिक्ने क्रममा आफुमा शाहसीक काम गर्न आँट आएको हरीले बताए ।

‘अफ्गानिस्तानको हेल्माण्ड प्रान्तको युद्धमा मैले वहादुरी त देखाए तर जीवन झन्डै त्याग्नुपर्‍यो’ उनले झस्कँदै भने । गाउँका एक मात्र लाहुरे उनी, यो घटनाले परिवारलाई मात्र दुःखी बनाएन पुरै गाउँ नै दुःखी भयो । किनकी उनले गाउँप्रति देखाएको सद्भाव र बिकासमा गरेको लगानीले सबैको मन छोएको छ ।

खुट्टा नभएपनि अवकाश जीवनमा उनले खतरापुर्ण खेल स्काइ डाइभिङ, स्की, कायकीङ खेल्न शुरु गरे । आकाशबाट हाम्फाले सकुसल भुइमा टेक्न सफल भए । त्यस पछि जे पनि गर्न सक्छु भन्ने हिम्मत आएकाले सगरमाथा चढ्ने लक्ष्यमा पुगेको उनले बताए ।

स्की, कायकिङ, व्याण्मीन्टन, गल्फका उनी उत्कृष्ट खेलाडी हुन् । सगरमाथा चड्नलाई कानुनले ६ हजार माथिको एउटा हिमाल चढ्न अनिवार्य गरेसँगै हरीले गत असोज ३ गते छ हजार चार सय ७६ मीटरको मेरापिक हिमालको सफल आरोहण पनि गरिसकेका छन् । त्यही आरोहण दुइटै खुट्टा नभएको अवस्थामा हिमाल आरोहण गरेको पहिलो रेकर्ड बन्यो ।

बेलायत सेनाकै दक्ष आरोही कृष्ण थापामगरले उनको आरोहणमा नेतृत्व गरेपछि हरीलाई आत्मबल थपिएको थियो । हिमाल चड्नकै लागि उनले जर्मनमा स्की, कायकीङ, रक क्लाइम्वीङ जस्ता एड्भान्चर खेललाई निरन्तरता दिई रहेका छन ।

दुई बर्षदेखि नेपालकै गोसाइकुण्डमा तालिम र फ्रान्समा जारी रहेको बेलायत सेनाको आइस क्लाइम्वीङ तालिममा पनि उनी सहभागी भएका छन् । यसले हिमालको प्रबिधिक ज्ञान, आरोहणको सीप र हाइ पचाउन सक्ने क्षमता बढ्दै गएको उनले बताए । सपना पछिको आत्मवलले सफलता मिल्दै गएकाले उनी सफल बन्ने पर्वतारोहण संयोजक कृष्ण थापामगरले बताए ।

श्रीमती उर्मीलाले सुरुमा अनुमति नदिएपनि लक्ष्य पूरा गर्ने आफ्नो अठोटका कारण उनी पछि सरिर र सर्वोच्च चढ्ने मेरो अभियानलाई उनले पनि स्वीकार गरेकी छन् उनले भने । गर्वका साथ उनले भने–‘खुट्टा नहुदा पनि जव म आकाशबाट हाम्फालेँ अनी सोचेकी ! गरे जे पनि सम्भव रहेछ । तर, नगरे सपाङगले पनि केही गर्नै नसक्ने रहेछ । सगरमाथाको चुचुरोमा पुगेर विश्वका मानिसलाई मैले दिने सन्देश पनि यही हो ।’

गोरखालीको नाम र शानलाई हौसला दिन र घाइते भएर पनि अझै गोरखाली शानलाई माथि उठाउने उदेश्य रहेको भन्दै हरीले पुरै वेलायत गोरखा सेना परिवार उनको सहयोगमा रहेको बताए ।

हिमालयन स्की एण्ड ट्रेकका पर्वतारोहण गाइड, शेर्पा र अमेरिकन गाइडले उनलाई सहयोग गर्नेछन । सगरमाथा आरोहण गरेर सफलताको उदाहारण बन्ने बताउँदै हरीले अशक्त प्रति समाजमा रहेको नकारात्मक भावनालाई हटाउन भूमिका खेल्ने बताए । सरकारी तवरबाट अशक्तको पक्षमा नीतिगत व्यवस्थाहरु गर्न पहल गर्ने उनको योजना छ ।

हेलाको दृष्टीले हैन, अपांगता भएका व्यक्तिहरुलाई पनि उनीहरुको सीप, दक्षता र ज्ञानको प्रयोग गरेर देशको विकासमा अघि बढाउनुपर्छ भन्ने सोच भएका हरीलाई विश्वमा अपांगता भएकाहरुको सोच र प्रभाव सशक्त रहेको ठहर छ ।

हरीका बुबा पुरै बुढामगर पनि आजभोली दंग छन् । छोराको अवस्था देखेर भक्कानिने उनी अहिले छोराको आँट, शाहस र उर्जा देखेर हौसिने गर्दछन् । बेलायती सेनाको नोकरी छोडेपछि बेलायतमै व्यवसाय गरेर बसेका हरीको बार्षिक दुई करोड भन्दा बढी आम्दानी छ ।

उनको परिवारमा श्रीमती, एक छोरी र दुई छोरा छन् ।

    Comment Here!