हिमाल चड्ने हो ? ल अब पढ्नुहोस्-माउण्टेनेरिङ

छेटु शेर्पा
काठमाडौंः नेपालकै हिमाल आरोहणको इतिहासलाई हेर्दा ६४ बर्ष बितिसकेको छ । तेन्जीङ नोर्गे र एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथाको सफल आरोहणदेखि हिमालसँग मानवीय सम्बन्ध आधिकारीक रुपमा जोडिएको छ । कीर्तिमान बनाउन मात्रै आरोहण गरिदै आएको हिमाललाई अब विश्वमै पहिलो पटक नेपालबाट पढ्न पाइने भएको छ । नेपाल माउन्टेन एकेडेमीले त्रिभुवान विश्वविद्यालयसँग सम्बन्धन लिई ब्याचलर अफ माउटेनेरिङ स्टडी (विएमएस)को पढाइ शुरु गरेको छ ।

शुरु वर्ष भएकाले यो पहिलो सेमेष्टारमा ३० जना विद्यार्थीलाई भर्ना लिएर पढाइ शुरु गर्ने तयारी थालेको एकाडेमीका कार्यकारी निर्देशक कृष्णकुमार निरौलाले बताए । चार बर्ष यतादेखि तयारी थालेको एकाडेमीले गत माघमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय अन्र्तगत सञ्चालित एकाडेमीले ललितपुरको सातदोबाटोमा कक्षा सञ्चालन गर्ने क्रममा छ ।

विश्वकै अग्लो हिमाल सगरमाथा भएको देशमा हिमाल बिषयको पढाइ हुनुले पनि नेपालमा पर्यटन क्षेत्रको थप विकास हुने निर्देशक निरौलाले बताए । हिमाल पढ्ने र पर्यटकलाई पढाउने थलोको रुपमा विकास गर्न विश्वमै पहिलो पटक पढाइ शुरु भएको उनले दावी गरे ।

पाकिस्तान, भारत, भुटान, स्वीजरल्याण्ड, फ्रान्सका इच्छुक विद्यार्थीले आवेदन दिएका छन् । एकेडेमीले पढाइ शुरु गर्नु नेपालीका लागि मात्र नभएर विश्वकै पर्वतारोही क्षेत्रमा चासो राख्नेका लागि गर्वको बिषय बनेको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामाले बताए ।

चार वर्षे (८ वटा सेमेस्टर) को कोर्ष शैक्षिक सत्रबाट सुरू भएको छ । कोर्ष पुरा गर्न सातौं र आठौं सेमेस्टरमा विद्यार्थीले ६ हजार र ७ हजारको हिमाल आरोहण गर्नुपर्नेछ । पर्यटनविद् प्राध्यापक डाक्टर रमेशराज कुँवरको प्राज्ञिक संयोजकत्वमा विज्ञहरूको सहभागितामा स्नातक र स्नातकोत्तर तहको कोर्ससमेत तयार पारेको छ ।

कसले पढ्ने र यसको भविश्व के ?

मेनेजमेन्ट विषय अन्र्तगत पढाइ हुने विएमएस पढ्न कक्षा १२ मा ४५ प्रतिशत भन्दा माथि अंक प्राप्त गरी पास गरेको र हिमाल सम्बन्धी पढाईमा रुचि राख्ने विद्यार्थी भर्ना हुन पाउने व्यवस्था छ । विश्वमा हिमाल आरोहण र गाइड गर्ने आरोहीहरु परम्परागत र तालिम प्राप्त गरी दुई प्रकारका छन् ।

प्राकृतिक र परम्परागत रुपमा हिमाल आरोहण गर्ने गरे पनि मान्यताप्राप्त प्रमाणपत्र उनीहरुले पाउन सकेका छैनन् । प्रमाणपत्रको अभावमा आरोही र गाइड मजदुरहरुले सरकारी सेवामा प्रवेश गर्न पाएका छैनन । आरोहणका क्रममा कयौ घटना हुन्छ, नेपालमा सेनाप्रहरी उद्दारमा खटिन्छन् तर, हिमालका अग्ला, अप्ठेरा ठाउँमा सेनाप्रहरीको पहुँच पुग्न सकेको छैन ।

यो बिषय अध्ययन पछि सैद्धान्तिक र प्रयोगात्मक रुपमा दक्ष हुने हुनाले धेरै अवसर पाउनेमा दुई मत छैन । यसका लागि सेनाप्रहरी र अन्य क्षेत्रमा लोकसेवा प्रवेश गर्न अवसर पाउने देखिन्छ । विश्वमा २५ वटा देशमा हिमाल छन । यि हिमालहरुमा आधिकारीक रुपमा आरोहण, गाइड, मजदुरी गर्न र अध्ययन अवलोकन गर्न अवसर पाउने देखिन्छ । यस विषयले अन्तरष्ट्रिय मान्यता पनि पाउने एकेडेमीको विश्वास छ ।

कति खर्च लाग्छ

प्रत्येक सेमेष्टारमा प्रयोगात्मक गर्नु पर्ने हुदाँ महँगो भएको विद्यार्थी र अभिभावकले बताएका छन् । तर एकेडेमीले कोर्ष पुरा गर्न नेपालीका लागि ६ लाख, सार्क देशका लागि ८ लाख र अन्य देशका लागि १२ लाख शुल्क प्रस्ताव गरेको छ । जटिल विषय पनि भएकाले रकम भन्दा पनि चूनौती बढी देखिएको एकेडेमीको भनाई छ ।

हिमाल आरोहण अनिवार्य भए पछि पढ्ने मात्र भन्दा पनि पढाइ पछि अनिवार्य फिल्ड रोज्नु पर्ने हुन्छ । तयारी पाठ्यक्रमलाई विश्वका चर्चित विभिन्न ८ विश्वविद्यालयमा क्रसचेक गरे पछि त्रिभुवन विश्वविद्यालय मेनेजमेन्ट विषयका डिन पुस्कर बज्राचार्यले पाठ्यक्रमलाई जाँच गरी अन्तिम रुप दिएका थिए । माउन्टेन एकेडेमीले मास्टर अफ एड्भान्चर टुरिजम स्टडिज (एमएटिएस) को कोर्ष तयारी गरी आउने बर्षदेखि पढाइ शुरु गर्ने तयारी थालेको छ ।

पढ्नु पर्ने विषयहरु ?

अहिलेसम्म हिउँको थुप्रोको हिमालमा आरोही चढ्ने र झर्ने मात्र गर्दै आएका छन् । तर हिमाल आफैमा वृहत विषय भएकाले यसलाई पढ्नु पनि आवस्यक भएकाले एकेडेमीले बिषय नै बनाएर अध्ययन गर्न पाउने व्यवस्था गरेको छ । घोकन्ते बिषय भन्दा हिमालको विषय झन् प्रभावकारी हुनेमा बिज्ञहरु ढुक्क छन् ।

पाठ्यक्रममा सैद्धान्तिक भन्दा प्रयोगात्मकलाई प्राथमिकता दिएको छ । कोर्ष पुरा गर्दा पर्यापर्यटन, व्यवस्थापन, हिमालय हेरिटेज, वाल क्लाइम्विङ, पैदल यात्रा, पर्वतारोहणमा मानवशास्त्र र समाजशास्त्र, नेपाली हिमालको भौगोलिक अध्यन, नेपालको पर्यटन, साना हिमालसम्मको यात्रा र आरोहण गर्नु पर्ने पाठ्यक्रम रहेको छ ।

पाँचौ सेमेष्टारमा फ्रान्स भाषा, हिमाल, वातावरण र पर्यटन क्षेत्रको अध्यन, आरोहणमा सुरक्षा, हिमालको आधारभुत आरोहण छन् । ६ सेमेष्टार पछि पर्यटन कानुन, आरोहण व्यवस्थापन, मानवीय स्रोतको व्यवस्थापनदेखि ६ हजार देखि ७ हजारसम्मका हिमालको सफल आरोहण समेत गर्नुपर्ने छ ।

अग्ला हिमालै हिमालको देश नेपाल भएकाले विदेशीलाई हिमाल पढाउन नेपाल भित्राउने लक्ष्य यो बिषयको छ । अधिकांस नेपालीलाई हिमालबारे जानकारी छैन, यसैले हिमालका संस्कृति, हिमालमा हुने र गर्न सकिने गतिविधि, हिमालको महत्व, संसारभर यो अध्यनबाट सन्देश पुग्ने छ ।

पर्यटन प्रवर्द्धनमा सहयोगी ?

विश्वमा रहेका ८ हजार मीटर भन्दा अग्ला १४ वटा मध्ये ८ वटा नेपालमै छ । विभागले ६ हजार ५ सय भन्दा माथिका चार सय ७६ हिमाल आरोहणका लागि उपयुक्त भनी पहिचान गरेको छ । यि मध्ये चार सय १४ हिमाललाई आरोहणका लागि खुल्ला गरी सकेको छ । अझै पनि एक सय ८७ हिमाल आरोहण हुन सकेको छैन । अध्यनले दक्ष जनशक्ति उत्पादन हुदाँ आरोहण खुल्ला गरिए पनि आरोहण हनु नसकेका हिमालको थप प्रर्वधन हुने पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले बताए ।

२० प्रतिशत हिमालको मात्र प्रयोग भएकाले बाँकी ८० प्रतिशत हिमालको आरोहण अवलोकन गरेर पर्यटन प्रवर्धन गर्न यो अध्यनले सहयोग पुग्ने छ । नेपालको नेचुरल हस्पिटालिटीमा नयाँ आयाम थपिने त छदैछ पर्यटकलाई स्वागत, व्यवस्थापनमा अध्यन पछि सुधार आउने विश्वास विश्वविद्यालयले लिएको छ ।

    Comment Here!