पर्यटन प्रबद्र्धनमा सरकारले आँखा चिम्लियो

दीपक महत पर्यटनका क्षेत्रमा एक चिरपरिचित नाम हो । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष महत विगत २५ वर्षदेखि पर्यटनको क्षेत्रमा काम गरिरहेका महत नेपाल पर्यटन व्यवसायी संघ (निट नेपाल) का अध्यक्ष हुन । नेपालमा पर्यटनको अथाह सम्भावना भए पनि सरकारले यस क्षेत्रको विकास र विस्तारका लागि चासो नदिएको महतको गुनासो छ ।

अझै महतकै भाषामा पर्यटनको क्षेत्रमा काम गर्नुपर्ने बेला सरकारले आँखा चिम्लियो । यस क्षेत्रमा काम गर्ने भन्ने सरकारी निकायहरु भाषणमा नै मात्र सीमित भएका छन् ।

यसै विषयमा केन्द्रित रहेर हामीले महतसँग टेलिफोन सम्पर्क गरी नेपालको पर्यटन उद्योग र यसको विकास विस्तारमा चाल्नुपर्ने कदमका विषयमा कुराकानी गरेका छौं ।

दीपक महत, पर्यटनविद/नेपाल पर्यटन व्यवसायी संघ (निट नेपाल) का अध्यक्ष 

० नेपालको पर्यटक उद्योगकस्तो छ ?

पर्यटनको कुरा गर्दा यसलाई दुई तवरबाट हेर्नुपर्छ । पर्यटनमा भएको ग्राभिटी पावर (क्षमता) र हामीसँग भएको ग्राभिटी पावर (क्षमता) । हामीले कति पर्यटकलाई भित्र्याउनसक्छौं भन्ने र त्यो क्षमता अनुसार भित्र्याउन सक्यौ कि सक्यौन भन्ने कुरा पर्छ ।

हाम्रोमा सामान्यतया ५० को दशकदेखि पर्यटनले सामान्य गति लिएको भेटिन्छ । त्यसपछि ६० को दशकबाट पर्यटकीय गतिविधिहरु अन्तर्राष्ट्रियकरण हुन थालेको हो । र विदेशमा पनि नेपालमा पर्यटकीय सम्भाव्यता छ भनेर प्रचार हुन थालेको हो ।

हामीसँगै पर्यटनका क्षेत्रमा हात हालेका र हामीसँगै पर्यटकीय गतिविधि सुरु गरेका देशहरुको प्रगतिदेख्दा हामीले अहिलेसम्म जे जति हासिल गर्‍यौं त्यो त्यति उल्लेख गर्न लायक छैन । भर्खैरै विश्व पर्यटन दिवस पनि मनाईयो तर, यो दिवस नेपालमा त्यतिधेरै सान्दभिक भएजस्तो मलाई लाग्दैन । त्यस दिवसको दिन हामीले विश्वमा पर्यटनका क्षेत्रमा गर्ने काम र क्षमताको प्रदर्शनीसहितको गतिविधि अपनाउनुपर्थो ।

हामीले सबैलाई साथ दिन विश्व पर्यटन दिवस त मनाउँछौं तर, आउने दिनमा हामी यसरी विश्वपर्यटन दिवस मनाउन नपरोस भन्ने मलाई लाग्छ ।

० नेपालले २०१८ मा मनाउने भनेको पर्यटन वर्ष दुई वर्ष पछि धकेलिएको छ । यस्तो किन हुन्छ ?

तपाईंको प्रश्नले नै नेपालमा पर्यटनका क्षेत्रमा अर्कमन्यता झल्किएको छ । हामी पर्यटनसँग सम्बन्धित त्यस्ता केही एजेन्डा तथा कार्यक्रम अघि साछौं । तर, त्यसलाई पूरा गर्न लागि परेका छैनौं । १८ बाट २० मा त सारियो तर, त्यही वर्ष भिजन ट्वान्टी ट्वान्टी भन्ने पनि छ । हामीले राष्ट्रिय पर्यटन रणनीति पनि तयार पारेका छौं । तर, हामीले तयार पारेको रणनीति अनुसार कामगर्न सकेका छैनौ । भिजन ट्वान्टी ट्वान्टीमा २० लाख पर्यटक भित्र्याउने भनेका छौं ।

तर, २०१७ पनि बित्न लागिसक्यो त्यसको तयारी गरिएको छैन् । केही वर्षअघि नै आएको योजना हो भिजन ट्वान्टी ट्वान्टी पनि पर्यटन वर्षको कुरा पनि त्यस्तै थियो । पछि सर्‍यो । यो कुराले के सिद्द हुन्छ भन्ने हामीले पर्यटनलाई सामान्य आँखाले मात्र हेरिरहेका छौं । समृद्धिको आधारका रुपमा व्यवहारिक तरिकाले अघि बढाएका छैनौं ।

पर्यटनको ग्राभिटी पावर हामीसँग निकै धेरै छ त्यसलाई हामीले निचोरेस प्रयोगमा ल्याउन सकेका छैनौ । हामी सानो मुलुक भएर पनि पर्यटनको विश्वबजारमा अगुवाइ गरेर अघि बढ्न सक्छौं । विश्वको सर्वोच्च शिखर सगरमाथा, आठहजार उचाई भन्दा बढी उचाई भएका हिमालहरु, नामकाकरण नभएका र अहिलेसम्म चर्चामा नआएका अनगिन्ती हिमाल हामीसँग छ ।

विश्वको अग्लो स्थानमा रहेको गल्छी हामीसँगै छ । भञ्ज्याङका कुरा भए पर्यटनका क्षेत्रमा काम गर्न हामीसँग अथाह सम्भावना छ । प्राकृतिक विविधता र सांस्कृतिक पहिचान त्यो घरैपिच्छे ठाउैँपिच्छे फरक फरक छ । यस्तो समृद्ध राष्ट्र अन्त कहाँ छ ? यो प्रकृतिले जति हामीलाई सम्पती दिएको छ त्यो अनुसारको हामीले लाभ प्राप्त गर्न सकिरहेका छैनौ ।

हामीले नेपालमा देखेका सम्भावना भनेको कृषि, पर्यटन र जलस्रोत हो । राजनीतिक तहमा नेतादेखि कार्यकर्ता सबैले यो कुरा बुझ्नुपर्छ । राजनीतिक दलको रणनीतिक योजनामा यी कुरा अघि बढ्नुपर्छ । जलस्रोतले केही उपलब्धी हाँसिल गरेको देखिन्छ तर, त्यो पर्याप्त छैन् । हामीसँबैले लागेर यी तीन कुरा कृषि, पर्यटन र जलस्रोतको स्तरोन्नती गरेनौं भने हामी धेरै पछि पछौं ।

सरकारले बजेट बिनियोजन गर्दा पनि पर्यटनका क्षेत्रमा त्यति धेरै छुट्याएको देख्न सकिन्न । सरकारले छुट्याएको बजेट त मन्त्रालयका कर्मचारीको तलब तथा उनीहरुले गर्ने कामहरुमै सकिन्छ । अनि कसरी पर्यटनका क्षेत्रमा मजबुद काम बन्न सक्छ ? यस कारण म त भन्छु राष्ट्रले पर्यटन क्षेत्रको विकासका कुरामा आँखा नै चिम्लेको छ ।

० पर्यटन क्षेत्रमा नेपालले गतिलिन नसक्नुको कारण के ? नीतिगत कमजोरी वा व्यवसायीक कमजोरी ?

व्यवसायीक रुपमा हामीले गर्न नसकेको भन्ने त हुँदै होइन । म यो व्यवसायमा लागेको २५ वर्ष भयो । म २५ वर्षदेखि लागे अरु नलागेका लगानीकर्ता पनि धेरै छन् । नेपालमा पर्यटनको क्षेत्रमा सम्भावना देखेका स्वदेशी तथा विदेशी लगानीकर्ता पनि धेरै छन् । यदी राज्यले पर्यटनमैत्री नीति बनाएर यस क्षेत्रको विकास गर्नुपर्छ भनेर आयो भने लगानीकर्ताको अभाव छैन् । जत्तिपनि लगानी आउनसक्छ ।

म यो देशको एउटा नागरिक देशको सर्वाङ्णि विकासमा मैले लगानीगर्नुपर्छ भन्ने मलाई लाग्छ । तर, सबै लगानीकर्तामा मेरोजस्तो भावना आउनुपर्छ भन्ने त छैन् । यदी राज्यले यो व्यवसायलाई नाफा हुने अवस्था सिर्जना हुनेगरी नीति बनायो भने त, लगानी गर्ने कति हो कति ।

मैले अघि पनि भने यो क्षेत्र राज्यले आँखा चिम्लिएको क्षेत्र हो । पर्यटन भाषणमा मात्र सीमित भयो । न नीति प्रभावकारी आउन सक्यो । न सार्वजनिक पर्यटन प्रबद्र्धनका कार्यक्रम अघि बढ्नसके । न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न सक्यौ । हामी सँधै अनिश्चिताको बाटोमा हिँडिरहेका छौं ।

हामीले एक वर्षमा १० लाख पर्यटक पनि भित्र्याउन सकेका छैनौं । सात लाख हाराहारि होला । यो एकदम कम संख्या हो । अब तीन वर्ष पछि भिजन ट्वान्टीट्वान्टीमा २० लाख पर्यटक भित्र्याउने भन्ने हावा गफ गरेर अघि बढेका छौं । यसरी पर्यटनको प्रबद्र्धन र पर्यटन व्यवसाय मजबुद बन्न सक्दैन ।

० समस्या सबै सरकार र सरकारले बनाउने नीतिमा रहेर पर्यटन उद्योगलाई मजबुद बनाउन राज्यले के गर्नुपर्ला त ?

सरकारले गर्ने काम सारै धेरै छन् । यहाँ भनेर पनि सकिँदैन । भनेरै मात्र पनि हुँदैन । तर, महत्वपूर्ण केही कुराहरु म भन्छु । जस्तो हामीकहाँ पर्यटनको विकासका लागि टाढा अमेरिका, बेलायत लगायत युरोपबाट आउने पर्यटकलाई भन्दा छिमेकी देशबाट आउने नागरिकलाई प्राथमिकता दिनुपर्छ । यो नौलो कुरा होइन ।

नेपालका मन्त्री, मन्त्रालयका कर्मचारी सबैले भनिरहेको कुरा हो तर, कार्यान्वयन भएको छैन् । त्यही भएर म अहिले भन्दैछु । भाषणमा गर्ने तर, व्यवहारिक भएन यो तत्काल कार्यान्वयन हुनुपर्छ । नेपालको छिमेकी भारतकै लागि भएपनि नेपालका धार्मिक गन्तव्यलाई व्यवस्थित बनाउन सके लाखौं पर्यटक भारत तथा बंगलादेशबाट आउँछन् ।

पर्यटनमा यातायातको सारै ठूलो महत्व हुन्छ । नेपालमा सवारीसाधन निर्माण नहुने भएकाले बाहिरी मुलुकबाट ल्याएका सवारी र यहाँको बाटोको अवस्था, इन्धन लगायतले सवारीसाधनको भाडा महँगो छ ।

पर्यटकले आउँदा प्याकेजको कुरा गर्ने हो । तुलनात्मक रुपमा हेर्दा नेपाली प्याकेज धेरै महँगो छ । यसलाई पनि सम्बोधन गर्नु गरुरी छ । सडक पूर्वाधारको व्यवस्था राम्रो हुनुपर्छ । पर्यटनमैत्री सवारी सञ्चालनमा सहजता ल्याउनु जरुरी छ ।

नेपालका यस्ता ठाउँ छन् । जहाँ नेपाली नै पुगेका छैन् । बाहिरबाट आउने मान्छेले सोधेमा कसैले बताउन सक्दैन । त्यसैले प्रत्येक नेपालीलाई पर्यटनकीय गन्तव्यहरुमा घुम्ने वातावरणको सिर्जना गर्ने काम हुनुपर्‍यो ।

० सरकारले गर्ने कामको लिस्ट त लामै छ भन्नुभयो । यो विषयमा जानकार तपाईंहरुले सरकारलाई केही भन्नुभएको छैन कि भनेर पनि नटेरेको हो ?

सरकार एक्टिभ छैन् । अस्थिरता सबैभन्दा ठूलो कुरा हो । ६ महिनामा मन्त्री परिवर्तन हुन्छ । मन्त्रीसँगै सचिव पनि परिवर्तन हुन्छ । स्थायी सरकारको रुपमा रहेको कर्मचारी तन्त्र पनि स्थायी प्रकृतिको छैन । राजनीतिक हावापानीले त्यसलाई पनि विगारेको छ ।

हामीले हरेक मन्त्रीलाई गएर परिस्थिति बोध गराउँछौं । केहीले काम पनि गर्नुभएको छ । तर, केहीमा माफियातन्त्र पनि छ । केहीले काम गर्न खोज्दाखोज्दै पद गइहाल्छ ।

हामी पर्यटनका क्षेत्रमा काम गर्नेहरु मन्त्री र सविचलाई जानकारी गराउँदा गराउँदै गल्न थालिसक्यौं । गर्लाजस्तो भयो उसको बिदा हुन्छ । हामी सँधै त्यही काममा कति पटक धाउने । निकै गाह्रो भइसक्यो । यस्तो अवस्थामा हामीले स्थिति अवगत गराएर पनि काम हुन सकेको छैन् ।

    Comment Here!