नेवार समुदायमा मोहनी नखः पर्व सुरु

काठमाडौंः देशभरी छरिएर बसेका नेवार समुदायले शनिबार मोहनी नखः हर्ष र उल्लासका साथ मनाएका छन् । भोजको संस्कृतिका धनी नेवार समुदायमा मोहनी पर्व भोजमा नै केन्द्रित हुने गर्दछ । हिजो चालँ अर्थात (विजया दशमी)देखि आफन्तकहाँ मोहनी नखत्या (भोज) शुरु भई पुर्णिमासम्म जारी रहन्छ ।

बज्रयान बौध्द धर्मअनुसार विशेष प्रकारको तन्त्र साधना गरी तयार पारिएको मोहनी सिन्ह (कालो टीका) को नामबाट मोहनी नखः भएको जनविश्वास छ । बज्रयान बौद्धधर्म अनुसार बुद्ध, धर्म र संघलाई स्मरण गरी नवमीका दिन विशेष प्रकारको मन्त्रोच्चारणसहित पूजा गरिने प्रचलन छ ।

मोहनी नखः अन्तर्गत सप्तमीका दिन नेवार समुदायमा केही पनि गर्नुपर्दैन । पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि फूलपातिको प्रचलन नेपाल मण्डलमा शुरु भएको इतिहास रहेको छ ।

अष्टमीका दिन नेवारहरूले घरघरमा कूछि भ्वय् (भोज) गरिन्छ । परिवारका सबै कुलका मानिसहरू जेष्ठताक्रममा बसेर भोज खाने भएकाले यसलाई कुछि भ्वय भनिएको हो । बज्र देवीसहित विभिन्न देवदेवीलाई पनि पूजा गरी भोज खुवाउनुपर्ने चलन छ । त्यस्तै, वितेका ज्ञातअज्ञात सबै पितृलाई सिकै ब्व राख्ने (पितृलाई भोज खुवाउने) गरिन्छ ।

कुलका सबैजना घरका मूलीदेखि जेष्ठताक्रमअनुसार सँगै बसेर भोज खाने भएकाले कुछि भ्वय भनिएको यो मोहनीको अत्यन्तै महत्वपूर्ण दिन रहेको धारणा असनका सूर्यप्रसाद तुलाधरको छ ।

थापना गरिएका देवदेवीसहित अष्टमीका दिन थापना गरिएको पुस्तक, तथा सरसामानलाई पूजाआजा गर्नुका साथै भोज खुवाउने गरिन्छ ।

नवमी, जुन दिनलाई नेवारी भाषामा स्याक्व त्याक्व पनि भनिन्छ त्यस दिन मोहनी सिन्हः फयेगु (तयार) गरिन्छ । तन्त्रसँग सम्बन्धित मोहनी सिन्हः टीका लगाउनु नै मोहनी नखःको प्रमुख विशेषता हो ।

दशमीका दिन पुजा समापन गर्दै ठुलाबडाको हातबाट मोहनी सिन्ह (कालो टीका) लगाएर नःलास्वां (जमरा) लगाउने गरिन्छ । दशमीकै दिनदेखि मोहनी नखत्या सुरु हुन्छ ।

    Comment Here!