प्राकृतिक सौन्दर्यले भरिएको रुकुम

निमुसंगम घर्ती

रुकुम ५२ पोखरी ५३ टाकुरीको जिल्ला भनेर चिनिन्छ । राज्य पूर्नसंरचना अनुसार अहिले रुकुम टुक्रिए पनि यहाँका प्राकृतीक सम्पदाहरु सबैको मन लोभ्याउने छन् । रुकुमलाई हिमालदेखि ताल, मन्दिर र गुफाले परिचित गराउँछ । स्यार्फु र कमलदहसँगै दर्जनौ दहहरुले सजिएको यो जिल्ला प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।

रुकुमकोट रुकुम जिल्लाको पुरानो सदरमुकाम हो । रुकुम जिल्लाको पूर्वीभेगको दुर्गम, बिकट, हिमाली, लेकाली बस्ती जहा खाममगर जातिहरुको बस्ती रहेको पहाडी भूगोल छ । खामबस्ती भाषा, सस्कृतीको अध्ययन अनुसन्धान गर्न खामभाषा बोल्ने बस्तीहरुको क्षेत्र पर्यटकहरुका लागी महत्वपूर्ण मानिन्छ ।

भाषा, संस्कृतिसँगै प्राकृतीक सम्पदाको खानी रहेको र पर्यटकहरुको लागि आकर्षण कै केन्द्र बिन्दु भन्दा फरक नपर्ला । रुकुम जिल्ला खाम भाषीहरुको साँस्कृतिक पहिचान भएका गाउँ र बस्तीहरुको रमणीय, ऐतिहासिक र प्राकृतिक छटाले श्रृगारिएको स्थल हो । इतिहास हेर्ने हो भने रुकुमकोटमा मगर राजा, बोक्सेजार भन्ने भोटे राजाले राज्य गरेको स्थान हो ।

होचा अग्ला थुम्काहरुबाट सजिएको भौगोलिक संरचना, सानोभेरी नदी र रुकुमगार खोलाको संगम स्थल बिशाल धाउने बगर फाट बाटमाथी उठेको सुन्दर पहाडी उपत्यका हो । जुन ठाउमा बाहिरका मानिसहरु पुगेपछि त्यसको दृष्य बाट आनन्द लिन सक्दछन ।

प्राकृतिक जलासय, अलौकिक कमलका फूलहरुले सजिएको कमल दह भएको रुकुमकोट ऐतिहासिक अध्ययनको लागी महत्वपूर्ण स्थल मानिन्छ । बाउन्न पोखरी त्रिपन्न टाकुरीका थुम्काहरुबीच–बीचमा लुकेका साना ठुला पोखरी आकारका फाटहरुका बस्तीहरुले दिने मनोरम प्राकृतिक सौन्दर्यता, आकर्षक भूबनोट सन्तुलित हावापानीको वातावरणले रुकुमकोट पुग्ने जो कोहिलाई पनि आकर्षण गराउँछ ।

इतिहास र अवस्थितिमा रुकुम

इतिहास अध्ययन गर्ने हो भने अहिलेको रुकुम जिल्ला नेपाल एकिकरण हुनुभन्दा अघि पश्चिम नेपालमा बाईसे र मध्य नेपालमा चौविसे राजाहरुले तीन सय वर्षसम्म राज्य चलाएका थिए । इतिहासमा मलय वर्माका छोरा पार्वती रायले रुकुममा राज्य स्थापना गरेको पाइन्छ । रुकुम जिल्लाको भुगोल सामुन्द्री सतहबाट ७५४ मिटर देखि ६००० मिटरसम्म रहेको छ । हिमाल, पहाड, बेसी र फाँटको भुगोलमा रहेको रुकुमको सदर मुकाम मुसीकोट १४४८ मिटरको उचाईमा छ ।

सदरमुकाम मुसिकोट बाट डिग्रेमन्दिरबाट एक घण्टाको उकालो पैदल यात्रा गरेपछि पुगीने जन्तीबस्ने ढुङ जिल्लाकै ऐतिहासिक स्थल मानिन्छ । यो स्थल पर्यटकहरुको लागी प्राकृतीक टावरको रुपमा प्रयोगमा आउछ । स्यार्फु तालको पुर्णआकार पुरानो सदरमुकाम रुकुमकोट वस्तीको सम्पुर्ण दृश्य, सिस्ने हिमाल, पुथा हिमाल लगाएतका दर्जनौ प्रकृतिक मनोरम दृश्यदेख्न सकिन्छ ।

त्यसैगरी दक्षिण पट्टी रहेको सल्यान जिल्लाको कुमाक लेक र रोल्पा जिल्लाका अनगिन्ती पहाडका श्रृखला पनि अवलोकन गर्न सकिन्छ । अहिले रुकुम जिल्लामा सडक विकासका पूर्वाधार धेरै भएका छन ।

पर्यटक स्थलको लागी धनी मानिने जिल्ला रुकुमको दुर्गम मानिने तकसेरा गाउमा समेत सडक यातायात पुगेको छ । तकसेरा बाट ढोरपाटन र हुकाम मैकोट जस्ता प्राकृतीक मनोरम स्थल, हिमश्रृखंला, ताल, हिमाली वन्यजन्तु, खाम मगर जातीको सस्कृती र उनिहरुको ग्रामिण जनजीवन समेत त्यहा पुग्ने पर्यटकहरुले दृष्यावलोकन गर्न सक्ने छन ।

५२ पोखरी ५३ टाकुरी सँगै रुकुमका स्यार्पू ताल, रुकुमकोटको कमल दह, मैकोटको पुथा हिमाल, सामझाङ् हिमचुली, सिस्ने हिमाल, र मुसिकोटको ऐतिहासिक डिग्रे साईकुमारीको अवलोकन, अध्ययन र अनुसन्धान गर्न सक्ने छन ।

कसरी जान सकिन्छ रुकुम

दाङ तुलसिपुर देखि मुसिकोट सम्मको १६२ कि.मि. सडकमा यात्रा गर्दा दाङ् र सल्यान जिल्लाको धेरै भू–भागको अध्यन र प्राकृतीक आनन्द लिन सकिन्छ । त्यसैगरी दाङ्को घोराहीबाट होल्लेरी हुदै निर्माणाधिन होल्लेरी–चुनवाङ् सडकबाट समेत रुकुम प्रवेश गर्न सकिन्छ ।

अर्को मार्ग हो भालुवाङ्बाट रोल्पाको सदरमुकाम लिवाङ सम्म १०७ कि.मि. बसको यात्रा गरी रोल्पाको ऐतिहासिक गाउँ थवाङ् हुदै ऐतिहासिक जलजला पहाडकोसमेत अध्यन र भ्रमण गरेर रुकुमको महत गाउमा प्रवेश गर्न सकिन्छ ।

पश्चिम नेपालबाट रुकुम आउने पर्यटकहरुको लागी नेपालगन्ज कोहलपुरबाट छिन्चु ६५ कि.मि.पार गरेपछि भेरी नदीको किनार किनारै सल्लिवजार हुदै कविन ९० कि.मि मोटरमार्गको यात्रा गरेपछि रुकुमको चौरजहारी प्रवेश गर्न सकिन्छ ।

रुकुमको बाफिकोट गाउँपालिका वडा नं. ३ र ५ मा रहेको स्यार्पु तालमा पहिलो पटक आधुनिक डुंगा सञ्चालनमा ल्याइएको छ । त्यस्तै रुकुमको सिस्ने गाउँपालिका ५, रुकुमकोटमा अवस्थित कमल दहमा यसवर्ष समयमै कमल फुल्न थालेको छ ।

    Comment Here!