संविधान दिवसः पुष्पवृष्टि, परेवा उडान र सांस्कृतिक झाँकी

काठमाडौँ: नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा नेपाली सैनिक मञ्चमा संविधान दिवस–२०७४ समारोह आयोजना गरिएको छ ।

सो अवसरमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिनाका साथै रङ्गीबिरङ्गी बेलुन उडाइएको थियो । मुलुकमा शान्तिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीले ‘शान्तिका दूत’ परेवा उडाएका थिए ।

संविधानसभा मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउटबाट विशेष मार्च पास गरिएको थियो भने विभिन्न वेशभूषा झल्कने सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो ।

काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर थिमि र कीर्तिपुर नगरपालिका तथा जिल्ला समन्वय समिति भक्तपुरले विशेष सांस्कृतिक प्रस्तुति झाँकी प्रदर्शन गरेका थिए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्बाट उसु, तेकान्दो र मुवा फाइट तथा नेपाली सेनाको सांगीतिक समूहबाट नेपाली राष्ट्रिय गीतको धुन प्रस्तुत गरिएको थियो ।

मूल समारोहका अध्यक्ष तथा प्रधानमन्त्री देउवाको सम्बोधनपछि कार्यक्रम समापन भएको थियो । कावा प्रधानन्यायाधीश दीपकराज जोशी तथा मन्त्रिगण, सांसद्, कूटनीतिक नियोगका प्रतिनिधि, राजनीतिक दलका नेता, प्राध्यापक, खेलाडी, नागरिक समाज, उद्योग व्यवसायी र सुरक्षाकर्मीको पनि सो अवसरमा सहभागिता थियो ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र संवद्र्धनको बाटो फराकिलो पारेर विभिन्न जातिको विशिष्ट अवस्थालाई ध्यानमा राखी महिला, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसंख्यक र उत्पीडितको अधिकारलाई संरक्षण गर्न संविधान महत्वपूर्ण रहेको बताए ।

तस्बिर: रासस

    Comment Here!