जसोतसो हातमुख जोड्ने काम भईरहेको छ बाँकी राष्ट्रका नाममा

भक्तपुरको दत्तात्रय, टौलाछे टोलको मयुर झ्याल नजिकैको एक गल्लीमा बस्ने राम नारायण प्रजापति र उनको परिवार यतिबेला नेपाली संस्कृति र नेपालको परिचय झल्कने सम्पूर्ण सामानहरुको संकलन गर्ने अभियानमा लागेको छ । प्राध्यापन पेशा अंगालेका प्रजापति अहिले आफ्नो अवकाश प्राप्त जीवन नेपाली कला र संस्कृतिको जर्गेनामा लागि परेका छन् । आफ्नो पूरा घरलाई एउटा संकलन केन्द्र बनाएका उनले अहिले घरको पुर्ननिर्माण गरिरहेका छन् ।

अनि घरमा पाँचौ शताब्दीदेखिका सामान भेला पारेर राखेका छन् । फरक सोचका साथ एकल लगानीमा उनले अहिले करोडौंका सामान भेला पारेका छन् । अब त्यसलाई व्यवस्थित बनाउने गरी गृहकार्य गरिरहेका छन् । उनै प्रजापती र उनकी श्रीमती अपर्ना डंगोल प्रजापतीसँग हामीले संकलन अभियान, यसको उद्देश्य तथा आवश्यकताको विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं ।

तपाईंले त पुरै घर पुराना सामान संकलन गरेर भर्नुभएको रहेछ । कस्तो परिकल्पनाका साथ यो काम सुरु गर्नुभएको हो ?

– नेपालीहरुले धेरै ठूला उद्योग धन्दा चलाएर विदेशमा सामान बेच्न सक्दैनन् । बरु नेपालीहरुले ‘टुरिजम’ (पर्यटन) क्षेत्रबाट नै राम्रो आम्दानी लिन सक्छन् । विदेशीलाई नेपाल आउने वातावरण भयो भने उनीहरुबाट लिएको आयस्रोत नै नेपालका लागि दीगो र राम्रो हुन्छ । मैले क्याम्पसमा पढाउँदै गर्दा यो देखेको थिए । त्यही भएर म यता लागेको हो । मलाई थाहा छ पर्यटनको विकास विना नेपालले विकास गर्नै सक्दैन ।

अर्को कुरा उदाहरण स्वरुप हामीले मोटरसाइकलको बिजनेस गछौं । त्यो भनेको नेपाललाई कंगाल बनाउनु हो । त्यसको आउटपुट के हो ? मात्र मोज गर्ने ? सँधै दुःख किन्नका लागि पैसा तिर, अनि बनाउन थाल । तेलमा खर्च । मोटरसाइकल किनेपछि प्रत्येक दिन खर्च हुन्छ । नेपालीलाई खर्च मात्र गराउने विजनेस किन गर्ने ? थोरै मोज होला र केही छिटो गन्तव्यमा पुगिएला त्यो भन्दा फरक त छैन् । तर, त्यही नेपालीले एउटा विदेशीलाई नेपाल भित्र्याउने योजना बनाएर काम गर्‍यो भने, एकजना विदेशीबाट दशौ हजार रुपैयाँ नेपाल भित्रन्छ । र त्यो दीगो हुन्छ ।

मैले पनि त्यही सोचेर विदेशीहरु पुराना कुरा खोज्न आउने रहेछन् भन्ने थाहा पाएपछि यो काम सुरु गरेको हो । मेरो संकलन केन्द्र मात्र हेर्नका लागि एउटा विदेशी नेपाल आयो भने धेरैको रोजीरोटीको व्यवस्थापन हुन्छ भन्ने मलाई लाग्छ ।

० तपाईंको लक्ष्य नेपाली सामान जगर्ने गर्ने अनि विदेशी भित्र्याउने । लक्ष्य अनुसार विदेशी आएका छन् ?

-आउँछन् । खुसी हुन्छन् । यति धेरै खुसी हुन्छन् कि नेपालीहरुलाई त्यो खुसीको मूल्य नै थाहा छैन् । नेपालीहरुलाई पूराना सम्पदाको मूल्य पनि थाहा छैन । नेपालमा मै हुँ भन्नेहरुले पनि पूराना सामानहरु लुकी लुकी बेच्छन् । कसैलाई पुराना सामान, एैतिहासिक महत्वका हुन्छन् । यीहरुको कुनै मूल्य नै हुँदैन भन्ने थाहा छैन् ।

० तपाईंकहाँ कहिलेदेखिका अनि कस्ता सामान छन ?

-तपाईंहरु हेर्नुहोस् । मसँग पाँचौ शताब्दीका सामान, १२ औं शताब्दीका सामान, १६ औं शताब्दीका ठूला ठूला भ्याल छन । २० औं वटा यस्ता झ्याल छन् । दुईसय वटा भन्दा बढी पुराना पिलर पनि छन् । सयवटा भन्दा बढी पिलरको सिर्जना गरेको छु । जसमा बुद्धधर्म र हिन्दु धर्मका कथाहरु राखेर बनाइएका पिलरबाट घरको पुर्ननिर्माण गरिरहेको छु । यो पछिका लागि होस । हाम्रा सन्तानहरुले देख्नपाउन भनेर हो ।

प्रजापति दम्पतीसँगको कुराकानी भिडियोमा हेर्नुहोस

० अहिले राजधानीका घरबेटीहरु कसरी धेरै भाडा उठाउँ भनेर लागिपरेको देखिन्छ । तर तपाईंले त पूरै घर पुराना सामानले भर्नुभएको छ । एउटा घरमा नेपाल अटाउनुभएको छ । तपाईंलाई भेट्न आउने पर्यटक विशेषगरी विदेशीले के भन्छन् ?

-तारिफ गर्छन । अन्डरफूल भन्छन् । हाम्रो यात्रा सफल भयो भन्छन् । धेरैले धेरै उद्गार व्यक्त गर्छन त्यो बयान गरी साध्यै हुँदैन । धेरै त मैले भिजिटर बुकमा लेख्न लगाउने गरेको छु । उनीहरुले भनेका कुरा हामीले सुनेर फेरि व्यक्त नै गर्न नसकिने खालका हुन्छ । यति धेरै खुसी भएर भन्छन् की हामी यो ठाउँमा आउन पाउनुभनेको पूर्वजन्ममा राम्रो काम गरेकाले हो सम्म भन्छन् । यसरी आफ्नै अगाडि आएर आफ्नो तारिफ गरेपछि हामीलाई के चाहियो र ?

० आफ्नो प्रशंसा सुन्दा कस्तो लाग्छ ?

– एकदम आनन्द । हामीले गरेको काम ठीक रहेछ जस्तो लाग्छ । अझै जिम्मेवारी थपिएको अनुभूति हुन्छ । सबैको सल्लाह अनुसार अहिले व्यवस्थित पनि बनाउँदैछु । केही समयमा तपाईंहरुले परिवर्तन देख्नुहुनेछ ।

० तपाईं कहाँ एक पटक आउने पर्यटक फेरि पनि आएका छन् ?

-आउँछ दोहोर्‍याई, तेहेर्‍याई आउँछ । आउनेहरुले अरुहरुलाई पनि पठाउँछ ।

० अमूल्य सम्पत्ती जोड्नु भएको छ । पुराना सामान कसरी संकलन गर्दै हुनुहुन्छ ? कुनै निकायको सहयोग छ ?

– मैले घर भत्काउने र बनाउने ठेक्का पट्टा गर्नेहरुसँग सहकार्य गरेर उनीहरुले भनेका सामानहरु हेरेर पुराना र ऐतिहासिक लाग्यो भने किन्ने गरेको छु । केही सामान आफैं बनाएको पनि छु । मैले केही ठाउँमा गरेका लगानी नउठेपछि उनीहरुले मलाई आफ्नो पूरानो घर भत्काउँदाका सामग्रीहरु पनि दिएका छन् । विभिन्न मेला तथा प्रदर्शनमा राखिएका पुराना सामान किन्छु । भूकम्पले क्षति पुर्‍याएपछि भत्काइएका घरहरुका सामानहरु किनेको छु ।

मलाई अहिलेसम्म कसैले सहयोग गरेको छैन् । सहयोग गर्ने धेरै आए तर, सकेसम्म म आफैं गर्ने भनेर लागेको छु । अहिलेसम्म मलाई सहयोगको अपेक्षा पनि छैन् । जेछ गरिरहेको छु । धेरै त विदेशीहरु आएर सहयोग गर्ने भन्छन् । कोहीले किन्न पनि माग्छन् । साउदी अरबको राजकुमारको प्रस्ताव थियो । यहाँका सबै सामान म उठाउँछु तपाईंलाई सात पुस्तालाई पुग्ने सम्पत्ती दिन्छु भन्नुभएको थियो । मैले नेपालको सामान नेपालमै हुनुपर्छ भने ।

नेपालका सरकारी निकायले पनि विभिन्न ठाउँका लागि सामान माग्ने गर्छन । म सोच्नुपर्छ भन्छु दिन्न । किनकी राष्ट्रको सम्पती जगर्ने गर्ने जिम्मा सरकारको पनि हो । मैले त मेरो रहरले यो काम गरिरहेको छु । मेरो सम्पत्तीमा मेरो मर्जी ।

म अहिले रिटायर्ड भएको छु । मैले कलेज पढाउँदा पाएको पैसा सबै यही लगानी गरेको छु । मेरो श्रीमतीले कुनै सामान किन्न मसँग पैसा नहुँदा गहना धितो राखेर पैसा दिएकी छन् । मेरो परिवारको ठूलो सहयोग छ । अहिले म पेन्सन खाँदै छु । त्यही पेन्सनको केही पैसा बैंकमा होला अरु बाँकी सबै यही यसरी नै संरक्षण गरेर राखेको छु ।

राज्य प्रतिको जिम्मेवारीताको महशुस गर्दै मैले मेरा छोराछोरीलाई नेपालकै सरकारी शिक्षा प्रदान गरे । मेरै विश्वविद्यालयको कोटाबाट पढाए । जसले गर्दा मैले कुनै भड्किलो काम नगरी सबै कुरा यसैमा समेटेको छु ।

मैले मेरा छोराछोरीलाई विदेशजानबाट पनि बञ्चित गराएको छु । किनभने विदेश गयो भने पैसा त गयो गयो । ब्रेन पनि त्यतै जान्छ । नेपालीले नै नेपालमा केही नगरे नेपाल उँभो लाग्दैन ।

० यो संरक्षण केन्द्रलाई कसरी अघि बढाउँनुहुन्छ ?

-सोच छ । म अघि बढाउँछु । अहिले त म पनि फुर्सद भएको छु । नयाँ नयाँ सिर्जना गर्छु । मैले गरेका त्यस्ता सिर्जनालाई बेच्छु । मेरोमा नेपाली कागजको प्रेस पनि छ । त्यसलाई अझै व्यवस्थित बनाउँछु । मैले धेरै योजना बनाएको छु । यसलाई सफल बनाउनेछु । मेरो कल्पना र सपनालाई साकार पार्न सकेजति गर्छु ।

० यो काममा तपाईंलाई कसकसको साथ छ ?

-पहिलो त मेरो परिवारकै छ । श्रीमती, छोरा, छोरीको । त्यसपछि मेरोमा काम गर्ने साथीहरुको । मेरा भाइबहिनीहरु छन् । मेरो सोचलाई व्यवहारमा उतार्ने उहाँहरु नै हो । मैले श्रमको उचित पारिश्रमिक दिन्छु उहाँहरुले मैले सोचेको जस्तो बनाइदिनुहुन्छ । आफ्नै सम्पत्ती जस्तो गरेर माया गर्नुहुन्छ । त्यहाँबाट मलाई नाफा नै हुन्छ । जसोतसो हातमुख जोड्ने काम भईहाल्छ अरु बाँकी राष्ट्रका नाममा । मेरो पुर्खाको ठाउँ छ । बस्न भाडा तिर्नुपर्दैन । तिर्नुपर्ने भनेको बिजुली र टेलिफोनको बील हो । त्यसका लागि पनि मेरो विजनेस छँदैछ ।

०००

रामनारायण प्रजापतीको काँधमा काँध मिलाएर उहाँको सोचलाई अघि बढाउन सहयोग गर्ने अर्को नामहो अपर्णा डंगोल प्रजापती । अपर्णा रामनारायणकी श्रीमती हुन् । उनले आफ्ना श्रीमानको सम्पूर्ण काम आफ्ना लागि पनि सुहाउने लागेको र त्यसका लागि सहयोगी भएर काम गरेको बताईन । अपर्णासँग पनि यो संरक्षण अभियानका बारेमा हामीले छोटो कुरा गर्‍यौ ।

० तपाईंको श्रीमानले धेरै अनौठो र कसैले नगरेको कामको प्रस्ताव राख्दा तपाईंलाई कस्तो लाग्यो । त्यतिबेला के सोच्नुभयो ?

-पहिला त उहाँको प्रस्ताव मलाई केही असजिलो लाग्यो । सबै कुराहरु उहाँका त्यस्तै हुन्छन् सुरुमा सुन्दा के भनेको होला जस्तो लाग्ने तर, पछि गर्दै जाँदा ए ठीक रहेछ भन्ने हुँदोरहेछ ।

० सुरुमा सीमित श्रोत थियो । यी सामान संकलन गर्ने व्यवस्था कसरी मिलाउनुभयो । हिसाबकिताब त सबै तपाईं नै हेर्नुहुन्थ्यो रे ?

– हो । केही त गाह्रो भयो । तर, हामीले फ्याक्ट्री पनि चलाएका थियौं । उहाँको कलेजबाट पनि तलब आउँथ्यो । त्यसैलाई व्यवस्थित गर्दै काम गरेका हौं । मैले धेरै पटक मेरो गहना बैंकमा राखेर ऋण लिएर पनि चलाएका छौं ।

० महिलाको सम्पत्ती गहना । त्यही पनि बैंकमा धितो राख्दा दुःख लागेन ?

-त्यस्तो दुःख त लागेन । आफ्नो व्यापार व्यवसायका लागि हो भन्ने मैले बुझेको थिएँ । पहिले लगानी गर्नुपर्छ अनि पछि लाभ मिल्छ भन्ने मैले बुझेको थिएँ । मेरो गहना त्यस्तो ऐतिहासिक पनि थिएन । ठीकैछ मन लागे र व्यापारले साथ दिए पछि किनौला भन्ने नै सोच आयो ।

० उहाँको प्रस्तावलाई आनाकानी नगरी स्वीकार गर्नुको कारण के ?

– उहाँले नराम्रो कुरा कहिल्यै गर्नुहुन्न भन्ने विश्वास लागेर नै यस्तो लागेको हो ।

० यो संकलन केन्द्रलाई भावी दिनमा कसरी चलाउँनुहुन्छ ?

– हाम्रो त्यति ठूलो योजना छैन । धेरै झण्डै ४० वर्ष भयो । हामीले यसरी नै दिन बिताएको । पुराना सामान कहिँ भेटिए भने ल्याउने यहाँ राख्ने । यसलाई व्यवस्थित बनाउन काम भइरहेको छ । सबैले हेर्दा रहरलाग्दो बनाएर राख्ने हो । बस यती ।

० दुवै जनालाई साझा प्रश्न- तपाईंहरुले पाँचौ शताब्दीदेखि अहिलेसम्मका नेपाली सामाना एकै ठाउँमा राख्नुभएको छ । यहाँ नेपाली विदेशी सबै घुम्न आएका छन् । यस्तो अवस्थामा तपाईंहरुले चाँही नेपाललाई कसरी हेर्नुहुन्छ ? नेपाल कस्तो लाग्छ ?

रामनारायणः नेपाल एकदमै राम्रो छ । नेपालीहरु विदेश जानु हुन्न । उनीहरुले नेपालमै केही गर्नुपर्छ । जस्तै अमेरिकाले जर्मनमा आएर शिक्षा सिके त्यसलाई आफ्नो देशमा प्रयोग गरे । त्यस्तै चिनियाँहरुले अमेरिका गएर सिके र अहिले समृद्ध चीन बनाए । कोरियनहरुको इतिहास हेर्नुहोस त उनीहरुले पनि बाहिर गएर आएर कस्तो मुलुक बनाए । हो हामीले पनि त्यही गर्नुपर्छ । विदेशमा सिकेका कुराहरु नेपालमा प्रयोग गर्नुपर्छ । तर, विदेशलाई फेसन बनाएर नेपाल आएर फजुल खर्च गरेर बिगार्ने काम नगरे नेपाल त विश्वकै सुन्दर सृष्टि हो ।

अपर्णाः नेपाल राम्रो छ । विदेशमा गएका नेपालीहरुले त्यहाँ देखेर आएर केही गरिरहेका छन् । विदेशबाट सिक्ने धेरै छ ।

    Comment Here!