आर्थिक समृद्धिका लागि पर्यटन

-एलिना मगर

पृष्ठभूमीः

मुलुकको आर्थिक विकासका आधारहरु खोजिए । कृषि, जलस्रोत र विप्रेषणलाई आर्थिक समृद्धिको आधार मानियो । कृषिलाई आधुनिकीकरण गर्न कठिनाइ, जलस्रोतमा सम्भावना भएतापनि ठूलो लगानी र विप्रेषण दीर्घकालिन आधार मान्न नसकिने हुँदा समृद्धिको आधार खोजी गरिदा पर्यटन नै समृद्धिको आधार हो भनेर निष्कर्ष निस्कियो ।

त्यसैले सरकारले पनि पर्यटनलाई विकासको आधार मानेर पाइला चालिरहेको छ । प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधता र साहसिक पर्यटन नेपालको मुख्य गहना हो । यसलाई एकीकृत गरी अघि बढ्न आवश्यक छ ।

विषय प्रवेशः

धरान प्राकृतिक रुपले सून्दर छ । स्वच्छ हावापानी । विभिन्न जातजातिको सामूहिक बसोबास रहेको सहर । आधुनिक वस्ती । ऐतिहासिक र धार्मिक महत्व भएको सहर । सचेत नागरिकको सहर । पर्यटनमा महत्वका साथ हेरिने प्राकृतिक, सांस्कृतिक र साहसिक आकर्षण यहाँ विद्यमान् छन् । पर्यटनमा आवश्यक पर्ने तत्व ‘4As’  Attraction आकर्षण, Accessibility सहज पहुँच, Accommodation खाना/बास र Amenities (Facilities)  अन्य सुविधा को व्यवस्था छ ।

धरानको सून्दरता नै आकर्षण हो । यातायातको सुबिधा सहज छ । खाना र बसाइका लागि नगरपालिकाको आकंडाअनुसार करिब ७८ वटा होटल लज र ४५ वटा रेष्टुरेण्टको व्यवस्था छ । दुई रातसम्म बिताउने पर्यटकका लागि प्रायः सुविधाहरु पनि रहेको छ । धरानको आर्थिक विकासको आधार पर्यटनलाई बनाउन एकीकृत गरी प्रचार गर्नु पर्दछ ।

धरानको आर्थिक आधार
विगतमा…
-पहाडी बजार
धरानको आर्थिक स्रोत पहाडको बजार थियो । विभिन्न स्थानबाट किनमेलका लागि धरान झर्ने गर्दथे । तर, आजभोलि इटहरीलगायत अन्य स्थानमा धरानको बजार विस्तारै सर्दै गएको आभाष भएको छ ।

पेन्सन

लाहुरेको सहर भनेर चिनिन्छ धरानलाई । केही समयअघि भू.पू. लाहुरेहरुको बाहुल्यता थियो । ‘रिटायर्ड’ भएर आराम गरेर बसिरहेका उनीहरुलाई बेलायत सरकारले नागरिकताको व्यवस्था गरिदिएपछि विदेशिएका छन् । जसबाट धरानको आर्थिक क्षेत्रमा असर गरेको छ ।

-यातायात

अन्य स्थानमा यातायातको सहज सुबिधा नहुँदा धरानबाट गाडी चढ्न सजिलो थियो । अन्यत्र आवतजावतका लागि वास बसेर बिहान सबेरै गाडी चढेर जाने गरिन्थ्यो । जसले होटल, लज, र अन्य व्यवसायीको बिक्री हुने गर्दथ्यो । अहिले प्रायः सबै स्थानमा सडक निर्माणले यातायातको सुबिधा राम्रो भएको छ । जसले धरान गन्तव्य नभएर ‘ट्रान्जिट पोइण्ट’ बन्दैछ ।

हालमा

-वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

एशिया कै औंलामा गन्न सकिने ठूला अस्पतालमध्ये वीपी प्रतिष्ठान पनि एक हो । वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आंकडाअनुसार जहाँ करिब पाँच सय डाक्टर, हजार कर्मचारी कार्यरत छन् । भने, करिब हजार विद्यार्थी अध्ययनरत छन् ।

वर्षमा करिब पाँच लाख बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । यसका साथै, वर्षमा एक पटक इन्ट्रान्स परीक्षाका लागि देश वा देश बाहिरबाट हजारौंको संख्यामा विद्यार्थीलगायतका उनीहरुका परिवारको आगमन हुने गर्दछ । जसले स्थानीय व्यवसायलाई टेवा पुगिरहेको छ ।

-विप्रेषण (रेमिट्यान्स)

नेपालका अधिकांश युवापुस्ता विदेशिने गर्दछन् । करिब दुइ लाख जनसंख्या रहेको धरानका सरदर घरको एक जना विदेशिएको पाइन्छ । उनीहरुले आर्जन गरेर पठाएको विप्रेषणले धरानको बजारलाई मद्दत गरिरहेको छ ।

भविष्य…

-पर्यटन

धरानको इतिहासमा आर्थिक स्रोतको दिगो आधार देखिदैन । यदि दिगो आर्थिक समृद्धिको आधार हाम्रो चाहना हो भने पर्यटन आधार बनाएर लाग्नुपर्छ । धरानलाई पर्यटनको हब बनाउने गुरुयोजनाका साथ पाइला चाल्नुपर्छ । यहाँ पर्यटक आकर्षित गर्ने तत्वहरु प्रायः विद्यमान् छन् । यसका वरिपरि पर्यटकीय गन्तव्यहरु छन् । यो पूर्वको पर्यटनको हव बन्न सक्ने आधारसमेत देखिन्छ ।

विश्वव्यापी रुपमा हेर्दा पर्यटन गन्तव्यको ‘सर्किट’ ट्राङ्गल बनाएर अघि बढ्ने गरेको पाइन्छ । नेपालभन्ने बित्तिकै ‘गोल्डेन ट्राङ्गल’ बुझिन्छ । पर्यटन व्यवसायीहरुको पहलमा पूर्वमा पर्यटनको विकास गर्न अर्को पर्यटकीय ‘ट्राङ्गल’का रुपमा ‘ग्रीन इष्ट’को अवधारणा आएको छ ।

धरान, इलाम र ताप्लेजुङलाई समेटेर तयार गरिएको यो अवधारणाले एकातर्फ धरानलाई यो क्षेत्रकै पर्यटनको नेतृत्वको अवसर आउन सक्छ । भने, अर्कोतर्फ छोटो समयका लागि मात्र छनौट हुने यो क्षेत्र । भोलिका दिनमा पर्यटकको लामो बसाईका लागि आकर्षित गर्न सक्ने देखिन्छ ।

धरानमा पर्यटन (आधुनिक इतिहास)

बाघम्बर बाबाले पिण्डेश्वरलाई, वनखण्डी बाबाले रामधुनीलाई र औलियाबाबाले चतरालाई धार्मिकस्थलका रुपमा करिब डेढ सय वर्षअघि प्रचार गरेपछि यी क्षेत्रको पर्यटनबाट धरानले केन्द्रका रुपमा आफूलाई उभ्याएको हो ।

त्यसपछि वि.सं. २०३० को दशकमा स्वर्गिय पथिक कवि लक्ष्मीप्रसाद आचार्यले सुनसरी भरिका धार्मिकस्थलको अन्वेषण, अनुसन्धान र प्रचार गरेपश्चात धरानको पर्यटनले वर्तमान स्वरुप पाएको हो ।

धरानको पर्यटनका पूर्वाधारहरु

-धार्मिक पर्यटन

(विजयपुरका मन्दिरहरुः बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पाँचकन्या), इस्कोन मन्दिर, शनि मन्दिर, विश्वकर्मा मन्दिर, गीता मन्दिर, विष्णुपादुका मन्दिर । धरान वरपर रहेका अन्य धार्मिक पूर्वाधारहरुबाट पनि धरानको पर्यटनले फाइदा लिन सक्ने छ ।

-पर्या पर्यटन

धरानका सामुदायिक वनहरु, भेडेटार, कोसीटप्पु र कोसी पहाडका गन्तव्यहरु हामीसंग नभएपनि धरानले ती पूर्वाधारहरुमा आधारित व्यवसाय गर्न सक्ने देखिन्छ ।

-साहसिक पर्यटन

र्‍याफ्टिङ, प्याराग्लाइडिङ, साइकिलिङ, माउण्टेन बाइकिङ, क्यानोनिङ, गल्फ, जंगल सफारी ।

-अन्य आकर्षण

धरान घण्टाघर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गल्फ कोर्ष, भ्यु पोइण्ट ।

-सांस्कृतिक आकर्षण

राई जातिको साकेला सिली, लिम्बु जातिको धान नाच र च्याब्रुङ नाच, मगर जातिको हुर्रा नाच, नेवार जातिको लाखे नाच धरानमा गरिने सांस्कृतिक कृयाकलाप आदि हुन् ।

(यसलाई पर्यटन प्रोडक्ट बनाउन सकिन्छ ।)

सम्भावना

-धरान र धरान वरिपरि ऐतिहासिक र रमणीयस्थल छ । जसलाई धरानले पर्यटन प्रोडक्ट बनाउन सक्नेछ ।

-धरान नजिकै भारतका तीन वटा नाका जोगवनी, पशुपतिनगर र कांकडभिट्टाबाट यातायातको सहज सुबिधा छ ।

-बिहारमा करिब १० करोड जनसंख्या र बंगालमा पनि करिब १० करोड जनसंख्या रहेको छ । जसलाई हामी यहाँ आकर्षित गर्न सक्छौं । यो धरानको पर्यटनका लागि ठूलो बजार पनि हो ।

-खेल पर्यटनका सुबिधाहरु थप्न सकिन्छ ।

-चितवनको स्वाद कोशीटप्पुबाट दिन सकिन्छ ।

-किमाथांकाको बाटो बनेपछि चिनियाँ पर्यटक भित्रिने सम्भावना ।

-कंचनजंगा र मकालुको ट्रेकिङ प्याकेज धरानले बेच्न सक्ने सम्भावना ।

-अरुण प्रोजेक्ट र कोसी उच्च बाँधको प्रोजेक्ट आए ठूला लगानीकर्ताको नजर धरानमा पर्न सक्छ । जसबाट धरानले फाइदा लिन सक्छ ।

-प्रदेशको मुख्यालय धरान वा वरिपरि भए धरानमा ठूला होटल खुल्न सकिने र त्यहाँ अभाव रहेको पर्यटन पूर्वाधारको पाइदा धरानले लिन सक्ने छ । (धरान व्यस्त सिटी बन्नेछ)

-चार वटा बाटोको जक्सन (रानी-किमाथांका, दमक-हेटौडा, धरान-रबि राँके, धरान-ताप्लेजुङ अर्थात् तमोर करिडोरको गुरुयोजना सफल भए धरान पर्यटन हवका रुपमा विकास हुन झनै सहज हुनेछ ।

-नेपालीमा घुम्ने संस्कारको विकासले आन्तरिक पर्यटनको बढावा हुनेछ ।

समस्या

-पर्यटनमैत्री वातावरण नुहुन ।

-पर्यटन प्रोडक्ट यहि हो भनेर यकिन नहुनु ।

-पर्यटकीय गन्तव्यमा बसाइ लम्ब्याउन अन्य क्रियाकलापको कमी ।

-ठूला लगानी भित्र्याउन नसक्नु ।

-लगानीकर्तालाई सुरक्षाको अनुभूति नहुनु । (अस्थिर राजनैतिक परिवेश)

-पर्यटकीयस्थल बाहेक अन्य पूर्वाधार नहुनु ।

-टार्गेट ग्रुप छुट्याउन नसक्नु ।

-गन्तव्यबीचमा अन्तरसम्बन्धको अभाव ।

-पर्यटकीय पूर्वाधारमा लगानी हुन नसक्नु ।

-आकर्षणहरुको वैभवतामा लगानी अभाव ।

-गतिविधीको अभाव ।

-सम्साझैं सुत्ने सहरको स्वरुप ।

रणनीतिक कार्यहरु

-पर्यटन प्रोडक्ट पहिचान, प्याकेजिङ ।

-टार्गेट ग्रुप पहिचान गरेर एकिकृत मार्केटिङ ।

-गन्तव्यबीच अन्तरसम्बन्धको पहल ।

-पर्यटकीय गुरुयोजना निर्माण ।

-मन्दिरहरुको कोष निर्माण गरी सामाजीकिकरण ।

-धरानलाई सौन्दर्यीकरण ।

-पर्यटनकर्मीलाई अन्तरसम्बन्धका लागि प्रेरित ।

-रणनीतिक योजना निर्माणमा सर्वपक्षिय सहभागिता ।

-लगानीकर्तालाई आकर्षित गर्ने ।

-सन्ध्याकालीन बजार र गतिविधीको व्यवस्था ।

-पर्यटकलाई सुरक्षाको अनुभूतिमा पहल ।

-महिलालाई व्यवसायिक सहभागितामा सहजीकरण ।

-क्रस कटिङ थिमअनुसार पर्यटन लक्षित योजना । (विकास निर्माणका कार्य गर्दा पर्यटनको दृष्टिकोणबाट हेर्ने)

-वेबसाइटमा पर्यटनकलाई फोकस । (डाइरेक्टरी निर्माण)

-पर्यटन बोर्डको सहकार्यमा अन्तराष्ट्रिय सहभागितासहितको पूर्वांचल पर्यटन मेला (Eastern Tourism Mart/ETM)को आयोजना ।

पूर्वाधारमा लगानी

-शिवजट्टामा सानो बाँध र तलाउ निर्माण ।

-दानाबारीमा टावर/भगवतीको ठूलो मूर्ति निर्माण ।

-विष्णुपादुकाको उत्तरी भेगमा होमस्टे प्रोत्साहन र ट्रेकिङ रुटको व्यवस्था ।

-दानाबारीमा होमस्टेका लागि प्रोत्साहन ।

-बसन्तटारमा मर्निङ वाक रुटको व्यवस्था । (अग्र्यानिक सागसब्जी उत्पादनमा उत्प्रेरणाका लागि)

-बसन्तटारमा होमस्टेका लागि प्रोत्साहन ।

-सन्ध्याकालीन बजार । (साना व्यवसायीलाीइ वित्तिय संस्थाहरुसँग सहजीकरणको भूमिका)

-ढाका उत्पादनको एकिकृत बजार ।

-फुस्रे-साँगुरीगढी (पुरानो र ऐतिहासिक बाटो) मर्मत गरी ट्रेकिङ रुटको विकास ।

-मन्दिर वा घण्टाघर परिसरमा स्थानीय पोशाक लाउने व्यवस्था ।

-स्थानीय कोसेली वा चिनोको ब्राण्डिङ र उत्पादनमा निम्न वर्गको सहभागिता ।

-हात्तीसार र इन्जिनियरिङ क्याम्पसमा संग्राहलय निर्माण । (शैक्षिक भ्रमणमा टेवा पुर्‍याउन)

-धरानको सुनचाँदी पर्यटकका लागि आकर्षण गराउने ।

-सांस्कृतिक पोशाकको व्यवस्था । (कार्यालय, विद्यालय)

-वर्षभरी प्रत्येक महिना उत्सवको समायोजन गरी क्यालेण्डर निर्माण ।

-सप्तरंगी पार्क तयार ।

-संग्राहलयको निर्माणमा पहलकदमी ।

-धरान बाहिर धरान उत्सवको आयोजना ।

-मुख्य सडकमा नो-पार्किङ ।

-धरान उत्तरको जंगललाई फूल फूल्ने जंगलमा रुपान्तरण ।

-तारहरुको भूमिगतकरण ।

पूर्वाधारका यस्ता थुप्रै कामहरु छन् जुन कार्यहरु तत्काल र दिर्घककालको आवश्यकता अनुसार हुनु पर्दछ ।

निष्कर्ष

धरान यो प्रदेशकै सबैभन्दा धेरै पर्यटकीय आधार भएको क्षेत्र हो । धार्मिक, पर्या पर्यटन, साहसिक र सास्कृतिक गतिविधी, आधुनिक सहरी परिवेश, पहुचका दृष्टिकोणले पनि धरान पर्यटनको आधारक्षेत्र बन्न सक्ने देखिन्छ । तर कस्तुरीले आफ्नो विनाको सुगन्धको पहिचान गर्न नसकेझै हामी पनि रुमलिरहेका छौ ।

हामीले आफ्नो आधारहरु (Strenth) लाई चिन्न सकेनौ । अर्कोतर्फ धरानले कहिले आफ्नो प्रचार धरान बाहिर गर्न सकेन वा चाहेन । चारकोसेको घेरा बाहिर धरानले आफ्नो प्रचार गर्ने प्रयास नगर्नु नै धरानको पर्यटन र आफ्नो नकारात्मक छविलाई उजिल्याउन नसक्नु हो । विगतको धराने सिर्जनशिलता, बौद्धिकता र राष्ट्रिय उपस्थितिको छवि क्रमिक रुपमा घट्दो देखिन्छ ।

विकासका मुद्दामा सधै विरोध र फरक धारणा आईरहने कारण पनि धरानको छवि ह्रासोन्मुख हुदै गएको छ । यी सबै कुराहरु चिरेर धरानले एकिकृत विकासको सामुहिक अवधारण ल्याउन जरुरी भएको छ । सामुहिक र एकिकृत धारणालाई कार्यान्वयन गर्ने सन्दर्भमा सबै धरानवासी एक भएको खण्डमा धरान यो प्रदेशको सबैभन्दा समुन्नत र समृद्ध धरान बन्नेमा शंका छैन । अस्तु ।

(उद्योग वाणिज्य संघको ५४ औं वार्षिकोत्सवको अवसरमा प्रस्तुत गरिएको अवधारणा-पत्र)

    Comment Here!