पूर्वमा पर्यटन व्यवसाय मजबुद बनाउने व्यवसायीको पहल

काठमाडौंः अथाह पर्यटनको सम्भावना भएपनि नेपालको पूर्वी क्षेत्र ओझेलमा परेको भन्दै पर्यटन व्यवसायी अब जुरमुराउन थालेका छन् । हिमश्रृंखलाको सुन्दर दृश्य, सुन्दर प्राकृतिक छटाले भरिपूर्ण पूर्वी क्षेत्रलाई राज्यको तहबाट पर्यटन प्रबद्र्धन कम भएको महशुस गरी पर्यटन व्यवसायीहरु भवेश श्रेष्ठ, बासुदेव बराल, देवी गौतम (रविन) र पर्यटन क्षेत्रका जानकार कृष्ण शाहको टोलीले तीन दिन काठमाडौंमा आएर उच्चस्तीयर भेटवार्ता गरी फर्किएको छ ।

इष्ट टुरिजम मार्ट हाम्रो चार पाँच जनाको सपना थियो । अब साकार हुने भयो व्यवसायी भवेश श्रेष्ठले भने अब हामी जुटेर यो कार्यलाई सफल बनाउन लाग्छौं । अर्का व्यवसायी बासु बरालले भने –‘पूर्वको पर्यटन प्रबद्र्धनका लागि हामीले ग्रीन इष्टको परिकल्पना गरी काम सुरु गरेका छौं । यसका लागि पर्यटन मार्टले ठूलो सहयोग गर्नेछ ।’ पर्यटन क्षेत्रमा धेरै लगानी नभएको सरोकारवाला निकायको जिज्ञासामा बरालले भने–‘हामीले सकेको प्रयास गरेका छौं । हामी हार्दैनौं । मझौला व्यवसायी हामीले धेरै लगानी गर्न नसकेपनि पर्यटन क्षेत्रमा पूर्वमा लगानी गर्दा लगानी डुब्दैन भन्ने सत्यता प्रमाणित गछौं । अनि त लगानी कर्ता आइहाल्छन् ।’

त्यस्तै अर्का व्यवसायी देवी गौतम (रविन)ले प्राकृतिक सुन्दरता र भौतिक सुविधाको तालमेल मिलाउन अब व्यवसायी लाग्ने बताए । उनले भने–‘घुम्ने मान्छे मजा लिन नै आउँछ । उनीहरुको चाहानालाई ध्यानमा राखि हामी लगानी बढाउँछौं । अब चाँडै तपाईंहरुले आन्तरिक तथा बाह्य पर्यटकको संख्या पूर्वमा बढेको देख्नुहुन्छ ।’

टोलीमा सहभागी कृष्ण शाहले मन्त्री तथा सचिवहरुसँगको भेटवार्तापछि अब प्रत्येक स्थानीय तहमा पर्यटन शाखा स्थापना हुनेमा आशावादी रहेको बताए । उनले भने–‘हामीले पर्यटन प्रवर्धनका लागि राखेका मागबारे सबै सकारात्मक भएका छन् । चाँडै प्रत्येक स्थानीय निकायमा पर्यटन शाखा स्थापना गर्ने नभएपनि पर्यटनको लागि बेग्लै ‘फोकल पर्सन’ बनाउने गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले आश्वासन दिनु भएको छ । अब काम गर्न सजिलो हुन्छ ।’

पर्यटन व्यवसायीहरुको चार सदस्यीय टोलीले उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्र देव, वाणिज्य मन्त्री मीन विश्वकर्मा, स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपक जोशीलगायतलाई भेटेको थियो ।

    Comment Here!