सिद्धपोखरी घुम्नेको संख्या बढ्दै

भक्तपुरः सिद्धपोखरी भक्तपुरको सबैभन्दा ठूलो र पूरानो मानव निर्मित पोखरी हो । विभिन्न ऐतिहासिक दस्तावेज अनुसार यो पोखरी १५ औ शताब्दीमा राजा यक्ष मल्लले निर्माण गरेका हुन् ।

यक्ष मल्लले बनाएको सिद्ध पोखरीलाई वि.सं १८२१ मा भीनसेन थापाले जिणोद्धार गरेको १९३६ को शिलापत्रमा उल्लेख गरिएको छ । त्यस्तै १९३५ मा रणोद्दीप सिंहले मन्दिर परिसरको पर्खाल र वरपरको घाँस व्यवस्थापन गरेको शिलालेखमा उल्लेख गरिएको छ ।

अहिले भक्तपुर नगरपालिकाको पत्यक्ष निगरानीमा रहेको यो पोखरीलाई २०१५ सालमा राजा महेन्द्रले पनि जिर्णोद्धार गराएका थिए । सबैभन्दा पछिल्लो पटक २०५२ सालमा जिर्णोद्धार गरिएको पोखरीलाई अहिले भक्तपुर नगरपालिकाले सरसफाई तथा संरक्षण गर्दै आएको छ ।

एक सय ५८ मिटर लम्बाई, ७२ मिटर चौडाई र चार मिटर गहिराईको यो पोखरी आयतकार आकारको आकर्षक छ । इन्द्रजात्राको भोलिपल्ट मेला लाग्ने परम्परा रहेकाले यो पोखरीलाई इन्द्र दह पनि भन्ने गरिएको छ ।

शान्त ठाउँमा रहेको सुन्दर सिद्धपोखरी अहिले काठमाडौंबासीका लागि आकर्षक पर्यटकीयस्थलका रुपमा पनि विकास हुँदै गएको छ । विशेषगरी बिदाका दिन बढी भिड हुने यस पोखरी परिसरमा आउने अधिकांश मायालु जोडी रहने गरेको स्थानीयहरुले बताएका छन् ।

ठूला माछा भएको यो पोखरीमा माछा हेर्र्नैका लागि पनि धेरै मानिस आउने गरेका छन् । पोखरीमा नुहाउन, लुगा धुन, माछा मार्न तथा पशुचौपायालाई पानी खुवाउन पसाउन निषेध गरिएको छ । जसका कारण पोखरी परिसर घुम्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

    Comment Here!