काठमाडौं घुम्न आउनेका लागि उदाहरण हुनसक्छन मिलन

काठमाडौंः मान्छेको सिकाई पढेर, देखेर र भोगेर हुन्छ । अभाव र दबाबकाबीच संघर्ष गर्दै प्रगतिको पथमा अघि बढिरहेका एक व्यक्ति जसको नाम हो मिलन राई ।

तपाईं पनि घुम्ने लक्ष्य राखेर काठमाडौं आउने योजनामा हुनुहुन्छ वा आइसक्नुभएको छ भने भेट हुनसक्छ तिनै संघर्षशिल मिलनसँग । नौ वर्षको उमेरमा बुबाको स्वगारोहण भएर बुबाको वियोगमा जीवन बिताउन सुरु गरेका मिलनलाई अर्को सह्य पीडा आइपर्‍यो । आमा पनि बुबाको वियोगमा मानसिक सन्तुलन गुमाउनुभयो र बेपत्ता हुनुभयो ।

एक दिदीका भाइ र एक भाइका दाजु मिलनले आमा हराएपछि भाइलाई बिवाहित दिदीको घरमा छाडेर उदयरपुरको निगाले गाउँबाट भविष्यको खोजी गर्दै काठमाडौं आइपुगे । काठमाडौंमा खलासी, ज्यामी, दक्ष ज्यामी हुँदै अहिले आफ्नै ट्याक्सी चलाएर दैनिकी गुजारी रहेका छन् ।

आफू स्वावलम्बी भएपछि आमाको खोजीमा हिँडेका उनको पाँच वर्षपछि आमासँग मिलन भयो र मानसिक अस्पतालमा उपचार गराई स्वस्थ बनाए । अहिले आमा र भाइका साथ बसिरहेका छन् ।

२३ लाखको गाडी किने

मिलनले २३ लाखमा ट्याक्सी किनेर चलाइरहेका छन् । १० लाख रुपैयाँ नगद र बाँकी किस्ताबाट किनेको ट्याक्सी नै अहिले उनको आयआर्जनको माध्यम बनेको छ । मेहनती र कम खर्च गर्ने स्वभावका मिलनले आमाको आशिवार्दले नै आफू स्वावलम्बी बन्न सकेको बताएका छन् ।

२० वर्ष उमेरका मिलन देशमा भविष्य छैन भन्ने युवा पुस्ताका लागि एक गत्तिलो उदाहरण हुनसक्छन् । उनले काठमाडौंमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो परिवारको सदस्यकै जस्तो व्यवहार गरी गन्तव्यसम्म पुर्‍याउने गरेका छन् ।

माछामासु तथा जाँड रक्सी छुँदै नछुने मिलन भन्छन्–‘आफ्नो ज्यानको माया लाग्छ भने जाँड रक्सी तथा माछामासुमा हात नलगाउनुहोस् ।’

    Comment Here!