मोडन होमस्टे: बिदा हुने बेला आमाले फेरी पनि आउनु है नानी भनेपछि मन कुटुक्क खायो

एलिना मगर
हेल्लो नमस्कार ।
नमस्कार ।
अनिताज् होमस्टे होइन ?
हजुर हो त ।
रुम बुकिङ्ग गर्नु थियो ।
हामी त नेपाली राख्दैनौं त ।
ओहो ! किन नि ? दुःखी हुँदै प्रश्न गरे ।
हामी विदेशीसँग मात्र काम गर्छौ नी त ।

मैले भने, हामी दुई जना लेडिज मात्र हो । तालिमको लागि आउने थुप्रै दिन बस्छौं । म पनि पर्यटन व्यवसाय नै गर्छु नि । होटल पनि चलाउछु । अनुनय गरेपछि बल्ल सल्लाह गर्छु घरमा भन्नु भयो । होमस्टेकी सञ्चालिकाले । थोरै भएपनि आशा पलायो । सामाखुसी रानीबारी नजिकै होटल खोज्दा इन्टरनेटमा ठ्याक्कै होमस्टे भेटाएकी थिए । धरान वरिपरिका गाउले होमस्टेको स्वाद लिइसकेकी मलाई सहरी होमस्टेको सेवा लिने अतृप्त चाहना पलायो ।

होमस्टे भन्नाले घरबास बुझिन्छ । पर्यटकीयस्थलमा स्थानीयले मिलेर पर्यटकहरुका लागि खाने, बस्ने सःशुल्क व्यवस्था गर्दछ । पाहुनाको रुपमा आयोजकको घरमा बस्छन् । एक रातभन्दा बढी र एक वर्षभन्दा कमको बसाइ हुन्छ । घरमा जे पाक्छ त्यहि चिज पाहुनालाई ख्वाइन्छ । भरसक स्थानीय उत्पादनको प्रयोग गरिन्छ । यस किमिसको बसाइले आत्मियता बढ्दछ । खानपान, रहनसहन, सांस्कृतिक भावना साटासाट हुन्छ । यसबाट पर्यटकहरुले गाउँको रहनसहन, गाउँको अर्गानिक खानाको स्वादका साथै घरेलु वातावरण पाउने हुँदा उनीहरु घरबासमा बस्न आकर्षित हुने गर्दछन् ।

यसले एकातर्फ स्थानीयको आर्थिक जीवनस्तर उकास्न मद्दत पुग्दछ भने अर्कातर्फ पर्यटकले सोही ठाउँमा पर्यटकीय गन्तव्यको मज्जाका साथै पारिवारिक वातावरणमा घुलमिल हुने अवसर पाउछन् । ग्रामीण भेगतिर सामुदायिक रुपमा घरवास राख्ने चलन छ । घुम्न निस्कने पर्यटकलाई बस्नका लागि होटल, रिजर्ट आवश्यक हुन्छ । यी सुबिधा नभएको स्थानमा प्रायःजसो सुरु गरिएको पाइन्छ । यो क्रियाकलापले स्थानीयको आर्थिक सुदृढिकरणमा मद्दत गर्दछ । नेपालमा अहिले सहरी क्षेत्रतिर पनि घरबास राख्ने चलन आएको छ ।

ग्रामीण होमस्टेको स्वाद पाइसकेकी म आफ्ना कामले राजधानी जानु थियो । एकातर्फ काम पनि हुने अर्कोतर्फ केही सिक्ने अवसर पनि । यसैले आधुनिक होमस्टे मेरो रोजाइ थियो । दोस्रो पटक फोन गरेर ‘कन्भिन्स’ गरे । उहाँ पनि राजी हुनुभयो । खुसीको सीमा रहेन । मेरी दिदी र म सामाखुसी घरबास पुग्यौं । घरका सबैसँग परिचय भयो । सबै मिजासिला । सायद पर्यटन व्यवसाय अंगालेकाले पनि होला । हत्त न पत्त नुहाइधुवाइ गरी खाना खाँदै सबै परिवारसँग भेटघाटपछि आराम गर्न तर्फ लाग्यौं । बेलुका साढे पाँच देखि तालिम थियो ।

भाउजुले हामीलाई तालिम केन्द्रसम्म पुर्‍याउनु भयो । केही समस्या भए फोन गर्नु है भन्दै उहाँ घरतर्फ लाग्नुभयो । हामी तालिम सकेर राति घर फर्कियौं । आमा पर्खिरहनु भएको रहेछ । खुसी लाग्यो । ‘ममी’को तिर्सना मेटियो । सोही रात कोरियन ग्रुप आए । महिला/पुरुष गरी करिब पाँच जना थिए । बिहान भेटघाट भयो । घुम्दै हिँडेकाले दोस्रो दिन फर्किए उनीहरु । ठमेल नजिकै भएकाले पनि होला सिजनमा पर्यटक आइरहन्छन् रे । प्रायः खाली हुदैन कोठा आमाले भन्नुभयो ।

होमस्टे मेरा लागि नयाँ थिएन । तर, दिदी चिन्तित हुनुहुन्थ्यो कस्तो होला बसाइँ । त्यहाँका परिवार कस्ता होलान् ? होटल जस्तो स्वतन्त्र होला नहोला भन्ने चिन्ता लिइरहनुभएको थियो । हामी जनजाति परिवार स्वतन्त्रतापूर्वक हुर्किएका । पाहुना भएर बस्दा बन्धनमा बाँधिनुपर्ने । सायद यसैले पनि होला उहाँलाई अफ्ठ्यारो महसुस भएको । होमस्टे भएको घर ब्राह्मण परिवारका । परिवारमा आमा मैया पाण्डे, दुइ छोरा बुहारी गरी चार जना र दुई नातिनीहरु हुनुहुन्थ्यो । जेठा छोरा अर्जुन कार्गोको काम गर्ने । कान्छो छोरा बासु ट्राभल व्यवसायी । बच्चाहरु आकृति र आरती स्कूल चाँडै जानुपर्ने हुनाले खाना चाँडै तयार हुन्थ्यो । बच्चाहरु स्कूल गएपछि भाउजुहरुको फुर्सद हुन्थ्यो । गफ गर्दै बिहानीको खाना सबैसँगै बसेर खान्थ्यौं । दादाहरु अफिसतर्फ लाग्नुहुन्थ्यो । हाम्रो तालिम बेलुकाको हुनाले दिनभर फुर्सद नै हुन्थ्यो । कहिले घुम्न, कहिले अफिसियल मिटिङ त कहिले आफन्तकहाँ भेटघाट गर्न हिँड्थ्यौं ।

घरबासको मूल मर्म सामाजिक अनुभव आदानप्रदान हो । आयोजकले पाहुनाको चाहनाअनुरुप स्थानीय संस्कार संस्कृति बुझ्ने मौका प्रदान गर्नुपर्छ । यसका लागि पाहुनाले स्थानीय सामाजप्रति उत्तरदायी हुनुपर्छ । एकअर्काका संस्कारलाई मान दिनुपर्छ । पाहुनाका लागि ‘होमस्टे’ सामाजिक सम्बन्ध बढाउने माध्यम पनि हो । फरक स्थान, रहनसहन, खानपिन र वस्तुस्थितिको अनुभव गर्न सकिन्छ । सामाजिक वातावरणमा घुलमिल हुन सिकाउछ । व्यवहारिक शिक्षा हासिल गर्न टेवा पुर्‍याउछ ।

‘अफ सिजन’ भएकाले पर्यटकहरु कम थिए । यसैले हामीले बढी नै माया पायौं । करिब १० दिनको बसाइँमा कुनै पनि किसिमको अफ्ठ्यारो नपरोस् भनेर पटक–पटक सोधिरहनुहुन्थ्यो कान्छि भाउजु सम्झनाले । भाउजुहरु पनि खाना पकाउन सिपालु । घरमै खाएको जस्तै । हुन त जसले बनाएको खाएपनि आमाले पकाएर ख्वाएको स्वाद त कहाँ भुल्न सकिन्छ र ? र, पनि उहाँहरु निकै मेहेनत गरेर सधैं नयाँ–नयाँ परिकार बनाउनुहुन्थ्यो । दुई/चार दिनपछि दिदीलाई पनि त्यहाँको वातावरण मन पर्न थालेछ । बाहिर सपिङ गर्न जाँदा घरमा पनि केही लगिदिउँ है भन्दै किन्न थाल्नुहुन्थ्यो । सायद आत्मिक सम्बन्ध भनेकै यहि होला ।

आधुनिक घरबास भएकाले पनि होला हामीलाई त्यहाँ सुबिधाको कमी थिएन । ठूला कोठा प्रशस्तै प्रकास पस्ने । सफा बाथरुम । पानीको समस्या थिएन । २४ घण्टा इण्टरनेटको सुबिधा । ‘केयर’ गर्ने परिवार । फर्कँने दिन नजिक हुँदा झन् नजिक हुँदै गएका थियौं । आज जाने आमाभन्दा आजै जाने र नानी भनेर वहाँले भन्दा मन अमिलो भयो । उक्त दिन टिकट रद्द गरे । बस्न अझैं मन हुँदा हुँदै पनि पूर्वमा बन्द हड्तालको हल्ला भएपछि हतार हतार ३:१० को प्लेन टिकट लिए । बिदा हुने दिन आमाले फेरी पनि आउनु है नानी भनेपछि मन कुटुक्क खायो ।

हाम्रा होमस्टेको चाहना पनि विदेशी पर्यटकलाई सेवा दिने हो । तर, हाम्रा गाउँका होमस्टेमा बाथरुमको कमजोरी छ । सामान्यतया खाना स्वस्थ्यकर र सफा हुनुपर्छ । कोठा आधुनिक नभएपनि सफा हुनुपर्छ । बाथरुम उनीहरुका लागि आधुनिक र सफाचट चाहिन्छ । तर, कतिपय होमस्टेमा बाथरुमको समस्या म आफैंले पनि भोगेकी छु । होमस्टेमा बस्न जाने पर्यटक समूहमा हुन्छन् । तर, होमस्टेमा बाथरुम भने तीन/चारवटा कोठाको एउटै हुन्छ । बिहान ‘फ्रेस’ हुन लाइन बस्नुपर्छ । यसमै आधा बिहान बित्छ । सामान्य सुबिधा नभएमा लामो समय बस्ने पर्यटकको बसाइ छोटिन्छ । होमस्टे स्वीकृत दिने निकायले यस्ता आधारभूत कुराको अनुगमन गरेमा हाम्रा होमस्टे स्तरीय हुनेछन् ।

    Comment Here!