‘हरेक जिल्ला फरक प्रकृतिका छन्, त्यसैले नेपालमा पर्यटकीय सम्भावना बढी छ’

राजु पौडेल/युवा पर्यटन व्यवसायी 

राजु पौडेल एक पर्यटन व्यवसायी हुन् । होटेलको सामान्य वेटरबाट आफ्नो व्यवसाय सुरु गरेका पौडेल ट्रेकिङ गाइड हुँदै अहिले एक व्यवसायीका रुपमा आफूलाई सूचीकृत गराउन सफल भएका छन् ।

‘एडभेन्चर फोटिन पिक्स’मार्फत पर्यटनसँग सम्बन्धित सबै काम गरिरहेका पौडेलले काठमाडौंको ठमेलमा ‘होटेल सेक्रेट भ्याली’ पनि सञ्चालन गरिरहेका छन् ।

नेपालको ७५ वटै जिल्लाको राम्रो ज्ञान लिएर त्यहाँको पर्यटकीय सम्भाव्यतालाई अध्ययन गरेर काम गरिरहेका उनले नेपाल आउने पर्यटक प्राकृतिक स्रोतको अवलोकन, हिमाल तथा नदीनाल, मनोरञ्जन, धार्मिक आस्था पूरा गर्न र स्वस्थ रहनका लागि आउने गरेको अनुभव सुनाए । उनै पौडेलसँग टूर खबरका लागि गरिएको कुराकानी ।

० पर्यटन व्यवसायमा कसरी लाग्नुभयो ?

– उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएको हो । पढाईका क्रममा मैले धेरै साथीहरुसँग भेँटे र अरुले गरे भन्दा फरक र राम्रो भविष्य भएको क्षेत्र पर्यटन देखेर यता लागेको हो । मैले १९९३ बाट यो क्षेत्रमा हात हाले । मलाई नेपाल घुम्ने रहर सानैदेखि थियो । त्यो पूरा गर्न पनि पर्यटन व्यवसाय मेरो रोजाइको बन्यो ।

मैले सबैभन्दा पहिला भिल्ला एभरेष्ट भन्ने थियो त्यहाँबाट काम सुरु गरेको हो । त्यसले सबैभन्दा बढी कोरियनहरुसँग काम गर्दै थियो । पछि युरोपियनहरुसँग पनि काम गर्ने मौका पाइयो ।

पहिला वेटरका रुपमा काम गरेको छ महिनापछि म काउन्टरमा बढुवा भएँ । कोरियनसँग बढी काम गर्ने कम्पनी भएकाले अंग्रेजी भाषी ग्राहक आउँदा मलाई बढी फाइदा भयो । मैले त्यही बसेर पर्यटन व्यवसाय र ट्रेकिङको बारेमा बुझेँ । बन्द कोठामा बसेर काम गर्नुभन्दा फिल्डमा हिँड्दा मज्जा लाग्यो । ट्रेकिङमा हिँडेपछि टूर प्याकेज, र्‍याफ्टिङलगायतका पर्यटनसँग सम्बन्धित सबै क्षेत्रको बारेमा जानकारी पाइदो रहेछ । त्यही सिकाइपपिछ मैले यो व्यवसायलाई व्यवस्थित बनाउँदै अघि बढिरहेको छु ।

० ट्रेकिङ रोज्नुभएको किन ?

–पहिला चाँही कुहिरेसँग काम गर्न पाइन्छ भनेर सुरु गरियो । पछि चाँही लत नै लागेजस्तो भयो । अव मेरो व्यवसाय नै पर्यटनसँग सम्बन्धित बन्यो ।

० नेपालका मुख्य ट्रेकिङ मार्गहरु कुन कुन हुन् ?

– धेरै विदेशीहरु आएर ट्रेकिङमा जाने नेपालको पहिलो मार्ग भनेको अन्नपूर्ण हो । अन्नपूर्ण कन्जरभेजन एरिया । अन्नपूर्ण वेसक्याम्प सात दिनको हुन्छ । सट ट्रेकिङको रुट पनि अन्नपूर्ण क्षेत्रमा नै पर्छ । त्यो पुनहिल ट्रेकिङ । जुन दुई तीन दिनमै गर्न सकिन्छ । घुमाएर लामो पाँच छ दिनको पनि हुन्छ ।
त्यसपछि लाङटाङ ट्रेकिङ रुट हो । कम उचाईमा भएकाले धेरेको रोजाई लाङटाङमा पर्छ । अनि तेस्रो चाँही एभरेष्ट । अलि गाह्रो भएकाले होला एभरेष्ट अलि पछि पर्छ । समग्रमा नेपालका जुन ठाउँमा हिँडेपनि ट्रेकिङका लागि राम्रा छन् ।

भिडियो हेर्नुहोस

० नेपालको सुन्दरता देखाएर व्यवसाय गरिरहनुभएको छ ? नेपाल कस्तो छ ?

– विश्वका अरु कुनै देशभन्दा फरक । नेपालका ७५ जिल्लामा हरेकको फरक पृष्ठभूमि छ । भौगोलिक रुपमा पनि अनि जातिय विविधताका रुपमा पनि । जिल्लामा भएका हरेक समूदायको सामाजिक संस्कार, रहनसहन र रितिरिवाज फरक हुन्छ । त्यसैले नेपालमा पर्यटन व्यवसायको सारै ठूलो सम्भावना छ ।

० विदेशीहरु नेपाल हेर्न किन आउँछन् ?

– नेपालको सुन्दरता हेर्न ?

० सुन्दरता भनेको के ? कस्तो ?

– नेपाल प्राकृतिक रुपले सम्पन्न छ । यहाँका हिमाल, पहाड तथा तराईका फाँटहरु सुन्दर छन् । सबै प्राकृतिक हुन् । त्यस्तै यहाँका नदिनाला, तालतलाउ, वनजंगल सबैले विदेशीको मन लोभ्याउने गरेको छ । यहाँ कृतिम वस्तु केही छैन ।

धार्मिक पर्यटकका रुपमा पनि धेरै नेपाल घुम्न आउँछन् । मनोरञ्जनका लागि आउनेको संख्या पनि धेरै छ । अनि काठमाडौं बाहिरको हावापानीलाई हेरेर आफ्नो स्वास्थ्य अवस्थालाई सुधार गर्नका लागि पनि धेरै नेपाल आउने गरेका छन् । नेपालको हावापानी एकदमै राम्रो मानिन्छ ।

अनि पछिल्लो समय व्यवसाय गर्नका लागि पनि विदेशीहरु नेपाल आउने गरेका छन् । उनीहरुले नेपालमा आएर होटेल व्यवसाय सञ्चालन गरिरहेका छन् । नेपालको प्राकृतिक सम्पदालाई देखेर पर्यटकीय सम्भाव्यता बढि रहेको ठहर गर्दै उनीहरु पनि हामी जस्तै व्यवसायी भएर बसेका छन् । नेपाली नागरिकको तुलनामा विदेशीलाई नेपालमा पर्यटन व्यवसायी भएर काम गर्न अलि गाह्रो छ ।

० कुन कुन देशका पर्यटक नेपाल घुम्नका लागि आउँछन् ?

– प्राय सबै देशका मान्छेहरु आउँछन् । धेरै यूरोपियनहरु नै भेटेको छु । पछिल्लो समय एसियन राष्ट्रका मान्छे पनि आउने क्रम बढेको छ । समग्रका सबै देशका मानिसलाई नेपाल घुम्ने रहरछ र आउने पनि गरेका छन् । उनीहरु नेपालमा ट्रेकिङका लागि आउने गरेका छन् ।

० विदेशीलाई नेपाल घुम्न कतिको सहज छ ?

– पहिलेको तुलनामा अहिले धेरै सहज छ । पहिला गाह्रो थियो । अहिले त धेरै ट्रेकिङ एजेन्सी पनि खुलेका छन् । सञ्चार सम्पर्क राम्रो बनेको छ । अर्को कुरा पर्यटन पनि एक राम्रो व्यवसाय हो भनेर धेरैले बुझ्न थालेकाले पनि विदेशीलाई अहिले नेपाल घुम्न धेरै सहज छ ।

० कस्ता कस्ता विदेशी नेपाल घुम्न आउँछन् ?

– दुई प्रकृतिका छन् । पहिलो अध्ययन सकेर काम थाल्नुअघि पढाईको थकान मेटाउन र रमाइलो गर्न आउने गरेका छन् । २० देखि ३० वर्षको उमेर समूहका उनीहरु शान्त ठाउँमा प्राकृतिक सुन्दरता हेर्न भनेर आउने गरेका छन् । अर्कोचाँही रिटायर भएपछि आउने गर्छन । उनीहरुको उमेर समूह ४५ वर्ष नाघेको हुन्छ । उनीहरुले नेपालको सारै माया गर्छन । सबै सुखसुविधा भोगिसकेकाहरु शान्त, मनोरम र प्राकृतिक हराभरा भएको ठाउँमा बस्न मन पराउने भएकाले लामो समय नेपालमा बस्ने गरेका छन् । उनीहरु हिमाल हेर्दै, नेपाली खाना खाँदै बस्ने गरेका छन् ।

० पर्यटन प्रबद्र्धन गर्न ट्रेकिङ एजेन्सीहरुले के के गरिरहेका छन् ?

– पर्यटन प्रबद्र्धन गर्न हाम्रो एउटा संस्था छ । ट्रेकिङ एजेन्सिज एसोसिएन नेपाल भनेर । सबै ट्रेकिङ एजेन्सीहरुको त्यो छाता संस्था हो । यसले एजेन्सीहरुलाई मजबुत बनाउने, नयाँ ट्याक खोज्ने, नयाँ गन्तव्यहरु पहिचान गर्ने, माउन्टेन तथा ट्रेकिङ सम्बन्धी तालिम दिने, सीप सिकाउनेलगायतका काम गर्छ ।

व्यवसायीलाई व्यवसाय विकास गर्ने र नयाँलाई सीप सिकाएर अघि बढाउन टानले सहयोग गरिरहेको छ । पछिल्लो समय होमस्टेको विकासमा टानको ठूलो योगदान छ ।

० टानले हिमाल बेच्ने भन्दा बाहेकका काम गरेको छैन भन्ने आरोप छ नि ?

– काम गर्नेको खुट्टा तान्ने र खेदो गर्ने संस्कार त नेपालमा छ नै । यो सबै क्षेत्रमा छ । त्यही होला जस्तो लाग्छ यो आरोप । मैले टानको कार्यसमितिमा पनि बसेर काम गरेको अनुभव छ । त्यसैले यो आरोप आरोपमै सीमित होला जस्तो लाग्छ ।

तपाईंले हेर्न सक्नुहुन्छ नेपाल सरकारको भन्दा धेरै गुणा बढी काम टानले गरेको छ । सरकारले अलिकति पनि व्यवसायीलाई सहयोग गरेको छैन । यो दुःखको कुरा हो ।

० पर्यटन व्यवसायबाट नेपालमा आर्थिक समृद्धि सम्भव छ ?

– छ । ट्रेकिङ एजेन्सिज एसोसिएन नेपाल (टान)मा मात्र दर्ता भएका ट्रेकिङ एजेन्सीको संख्या १२ सय भन्दा माथि छन् । नेपाल आउने सबै पर्यटक कुनै न कुनै एजेन्सीमार्फत छिर्ने गरेका छन् । एक एजेन्सीमा कम्तीमा पाँच जना कर्मचारी हुन्छन् । क्षेत्रगत रुपमा धेरै हुन्छन् । ट्राभलमा काम गर्ने त्यस्तै छन् । एयरलाइन्समा पनि उस्तै छ । यसरी पर्यटन क्षेत्र जोडिएका धेरै निकायहरुमा आश्रित नेपालीको संख्या बढिरहेको छ । होटेल खुल्ने क्रम बढेको छ । गाउँगाउँमा होमस्टे बनेका छन् ।

एउटा विदेशी नेपालमा पाँच सात दिन मात्र बस्ने गरी आयो भने पनि उसले हजार डलर खर्च गर्छ । त्यो नेपालका लागि राम्रो हो । पर्यटन व्यवसायमा नेपालका झण्डै २० प्रतिशत भन्दा बढी आबद्ध छन् । यसरी हेर्दा नेपालमा आर्थिक समृद्धिका लागि पर्यटन व्यवसाय नै एक ठूलो आधार हुनसक्छ भन्ने मलाई लाग्छ ।

० नेपालको विकासमा पर्यटक व्यवसायको योगदान केही छ ?

– सारै धेरै छ । अघि नै पनि भने नेपालका २० प्रतिशत नागरिक यस व्यवसायमा आश्रित छन् । होमस्टे बन्नु, होटेल बन्नु, ट्रेकिङका लागि नयाँ गन्तव्य र रुटहरु बन्नु विकास हो । पछिल्लो समय धेरै विदेशी नेपाल घुम्न आउने गरेका छन् जसले गर्दा नेपालमा विकास निर्माणको क्रम पनि बढेको छ ।
औद्योगिक लगायतका क्षेत्रको भन्दा पनि मैले देख्दा पर्यटक व्यवसायले नेपालको विकासमा बढि योगदान दिएको छ जस्तो लाग्छ ।

० ट्रेकिङ एजेन्सीका अहिलेका समस्या के हुन् ?

– समस्या पनि धेरै छन् । पहिलो त पर्यटनले नयाँ कुरा खोज्छन् । सरकारले ट्रेकिङका लागि नयाँ रुट खोल्न अनुमति दिएको छैन । सरकारले अलिअलि सहयोग गरे मात्र पनि हामी धेरै काम गर्न सक्थ्यौ । नेपालमा नामाकरण नै नभएका हिमाल पनि धेरै छन् । तिनीहरुको नामाकरण गरेर नयाँ गन्तव्य निकाल्न सके हामी सबैलाई धेरै फाइदा हुन्थ्यो । त्यसमा सरकारले सकारात्मक भएर काम गरिदिए धेरै समस्या हल हुन्थ्यो । नेपालमा सरकार नै अस्थिर भएर पनि यस्तो भएको होला ।

० सरकारका पर्यटनसँग सम्बन्धित मन्त्रालय, विभाग, बोर्डले पर्यटन प्रबद्र्धन गर्ने खालका काम गरिरहेका छन् कि छैनन् ?

– त्यस्तो सरकारी तवरबाट हामीले सोचेजस्तो धेरै भएको छैन । अनि हामीले लिएर गएका काम र प्रोजेक्टलाई पनि तदारुकताका साथ सरकारी निकायबाट पास गराउने त्यसको अध्ययन गर्ने परम्परा भएजस्तो मलाई लाग्दैन् ।

हामीले मन्त्रालय, विभाग र बोर्डले पर्यटकीय सम्भाव्यता भएका क्षेत्रमा पर्यटकीय क्षेत्र, ट्रेकिङ रुट निर्माणमा काम गरिदिए हुन्थ्यो भन्ने लाग्छ । किनकी हामी व्यवसायीले धेरै कर तिर्छौ यही कामको लागि तर, कर तिर्नकै लागि मात्र तिरिएको छ । काम भएकै छैन भन्दा हुन्छ । यि कुरामा सरकारी निकायले ध्यान दिएर काम गर्नसके व्यवसायी, पर्यटक तथा नेपाली सर्वसाधारण सबैलाई फाइदा हुन्थ्यो ।

    Comment Here!