चितवनको गैँडा शुक्लाफाँटामा

कञ्चनपुर  / चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ । चितवनबाट ट्रकमा ल्याइएको एक भाले गैँडालाई मंगलबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख वेदप्रकास ढकालले शुक्लाफाँटाको रानीतालनजिक क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकास भट्टराई र कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरको रोहबरमा गैँडा छाडिएको बताए । ढकालका अनुसार १५ वर्षीय गैँडा शुक्लाफाँटामा ल्याइएको हो ।

शुक्लाफाँटा निकुञ्जमा सन् २००३ मा चारवटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएको थियो । हाल शुक्लाफाँटामा ११ वटा गैँडा छन् । नेपालमा गैँडाको संंख्या बढाउने तथा फरक–फरक क्षेत्रका गैँडालाई मिसाएर वंश परिवर्तन गर्ने उद्देश्य रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

सरकारले ३० पुसमा गरेको निर्णयअनुसार चारवटा पोथी र एउटा भाले गैँडा शुक्लाफाँटा ल्याइनेछ । मंगलबार भाले गैँडा ल्याइएको प्रमुख संरक्षण अधिकृत ढकालले बताए । बाँकी चारवटा पोथी गैँडा आगामी साताभित्र ल्याइनेछन् ।

सरकारले ९ फागुनमा शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज घोषणा गरिसकेपछि पर्यटकलाई अवलोकन गराउन गैँडा थपिएको ढकालले बताए ।

    Comment Here!